आफ्नै घरमा बिरानो भएर बस्नुपरेको छ

म सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बस्छु । मेडिकल टेक्निसिएन र सुपरभाइजर हुँ । धनगढीको सेती प्रादेशिक अस्पतालमा १० वर्षदेखि कार्यरत छु । अस्पतालमा सीसीटिभी जडान गर्ने, अक्सिजन, भेन्टिलेटरका सामान बिग्रँदा बनाउने, परीक्षणशालालाई संक्रमणमुक्त बनाउने काम गर्छु ।

अस्पतालबाट मेरो घर लगभग ६०० मिटर टाढा छ । मेरा दुईजना बहिनी पढाइ र कामका सिलसिलामा काठमाडौँमा बस्थे । लकडाउन हुनुअघि नै उनीहरूलाई घर बोलाएका थियौँ । अहिले हाम्रो घरमा बुबा–आमा, श्रीमती, म, दुई जना बहिनी र मेरी छोरी गरी सात जना बस्छौं । मेरा भाइ-बुहारी जर्मनीमा बस्छन् । मेरी दिदी पढाइका सिलसिलामा अष्ट्रेलिया हुनुहुन्छ ।

लकडाउन भएसँगै हामी घरमा सतर्क भएर बस्न थाल्यौं । काममा भने म निरन्तर जाने गर्थें । सामान्य नै चलिरहको थियो जीवन । दिदी र भाइसँग हामी सधैंजसो फेसबुकमा कुरा गछौँ । घरमा सबै भएकाले मेरी सानी छोरी झनै खुसी भएकी थिइन् । तर धनगढीमा कोरोनाका बिरामी फेला परेपछि सबै जना अत्तालिए । मेरो घरमा पनि मैले जागिर छोडे हुने भन्न थाले । ‘आफू बाँच्नुपर्‍यो जागिर त पछि पनि पाइन्छ नि’, बुबाले भन्नुभयो । विदेशमा भएका भाइ र दिदी र यहीँ भएका घरका अरूले पनि गाह्रो भए जागिर छोड भन्न लागे । तर मैले आफ्नो पेशा छोडन भने सकिनँ । यस्तो विपत्‌का बेला जागिर कसरी छोड्नु ? यस्ता बेलामा पनि काम गर्नु मेरो धर्म हो नि भनेर मनले मानेन ! मैले घरमा ‘केही हुन्न, म सावधानी अपनाउँछु’ भनेर सम्झाएँ । उनीहरूले बुझे कि बुझेनन् थाहा छैन ।

पहिलो पल्ट पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) हातमा पर्दा मलाई डर लागेको थियो । साथै जिम्मेवारी बढे जस्तो पनि महसुस भयो । पीपीई लोकल भएकाले के कति सुरक्षित छ भन्ने लागेको थियो । तर यस्तो परिस्थितिमा पछि हट्नु हुन्न भन्ने लागेर म र मेरा साथीहरू काममा लाग्यौं । कोरोनाको केस आएपछि ल्याब, कोठा, बिरामीले ओछ्याएका तन्ना संक्रमणमुक्त बनाउने काम गर्न थाल्यौं । यसो गर्दा आफूलाई पनि संक्रमण हुन्छ कि भन्ने डर लागेको थियो । अस्पतालमा भयाभह स्थिति हुन्छ जस्तो लागेको थियो । तर अहिलेसम्म त्यस्तो भएको छैन । नहोस् पनि !

लकडाउनले गर्दा सबैको जीवनमा असर पक्कै गरेको छ । मेरो दिनचर्या पनि फेरिएको छ । धनगढीमा कोरोना संक्रमित फेला परेदेखि म आफ्नो घरको तलको तलामा एक्लै बस्न थालेँ । आमा-बुबाको उमेर पनि ढल्कँदै गएको छ, छोरी पनि सानी छे । उनीहरूलाई केही होला कि भन्ने डरले म उनीहरूको सम्पर्कबाट टाढा भएर बस्न थालेँ ।

पहिले म दुई वर्ष जति आध्यात्मिक अभ्यासतिर लगेकाले घरमा आफैले पकाएको मात्रै खाने गर्थेँ । कतै बाहिर जानुपरे फलफूल मात्रै खाने गर्थें तर कोरोनाले गर्दा अहिले घरमा सबैले पकाएको खान्छु । खाना पानी आदि दिनुपर्दा सबै छाउ बारेका महिलालाई जसरी टाढैबाट दिन्छन् मलाई । म भान्सामा गएको छैन । माथिल्लो तला गएको छैन । मैले खाएका थालबटुका पखालेर घाममा सुकाएपछि मात्रै माथि कोठामा लग्छन् । साँझ अस्पतालबाट फर्किएपछि सधैं नुहाएर लुगा पखालेर अर्को लुगाएर मात्रै सुत्छु ।

बाहुनको छोरा भएर पनि होला धर्मकर्म गर्न मन लाग्छ । अहिले पनि म पहिलेको जस्तै गरी नुहाइधुवाइ पूजापाठ नियमित गर्छु साँझ बिहान ।

अस्पतालमा काम गर्ने भएकाले मैले चार वर्षकी छोरीलाई समात्न पनि पाएको छैन । ऊसँग खेल्न पनि पाएको छैन । ऊ ‘बाबा’ भन्दै नजिक आउन खोज्छे तर म हुन्न भन्दै टाढा जान्छु । उसलाई खेलेको जस्तो हुँदो रहेछ झन् मेरो पछि दौडिन्छे । उसको मम्मीले हुन्न भन्दा पनि ऊ जिद्दी गर्छे मसँग आउनलाई । भोलि खेलौँला भन्छु तर त्यो भोलि कहिले आउँछ होला खै ? अचेल बिहान म अफिस जाँदा छोरीले माथिबाटै ‘बाबा बाई’ भन्दै ‘फ्लाइङ किस’ गर्छे ।

हामीले तलका अरू कोठा भाडामा दिएका छौं । त्यहाँ बस्नेहरू सुरुमा डराएका थिए । तर अहिले उनीहरू पनि डराउन छाडे । मेरो परिवारले पनि अहिले साथ दिएको छ राम्रो काम गरेको भनेर । साथीभाइ भने मैले कोरोना सारौँला भन्ने डरले टाढै हुन्छन् ।

अहिले कामको चाप बढी छ अस्पतालमा । नयाँ फाँटहरू सेटअप गर्नुपर्ने हुनाले पनि अहिले धेरै गाह्रो छ । नयाँ फाँटहरू भनेको कोरोना संक्रमितका लागि प्रयोगशाला, एकस्रे, आईसीयुमा चाहिने सामानहरू भएको कोठाहरू हुन्, जसको व्यवस्थापन हामीले नै गर्नुपर्छ, केही बिग्रँदा आफै गएर हेर्नुपर्छ । पुरानो अस्पतालका कोठाहरूमा सीसी क्यामेरा, अक्सिजन, बेडको सेटअप सबै हामीले नै गर्नुपर्छ । अग्रपंक्तिमा काम गर्नेमा डाक्टर, नर्स र सफाइ कर्मचारीको नाम आउँछ । हाम्रो नाम आउँदैन । त्यति बेला अलि खल्लो पनि लाग्छ । हामीले दिनैपिच्छे ८ देखि १० फाँटमा जानुपर्छ । अस्पतालमा कुन कोठामा कतिखेर के बिग्रिन्छ त्यो हामीले हेर्नुपर्छ । तर हाम्रो काम अलि छायाँमा परे जस्तो लाग्छ मलाई । तर पनि विपत्‌मा सक्दो काम गर्छु भन्ने अठोट लिएको छु । अनि आफ्नो परिवारसँगै बस्ने दिन कहिले आउला भनेर दिनगन्ती गर्छु ।

अब हाम्रो पनि पीसीआर जाँच गर्नुपर्ने बेला भएको छ । त्यसको रिपोर्ट कस्तो आउँछ त्यसका आधारमा कामबाट छुट्टी लिएर घरमा एक्लै बस्ने कि काममा जाने भन्ने निधो हुन्छ । अस्पतालमा थप संक्रमित आए भने के गर्नु भन्ने पनि लाग्छ ।

यो कथा  अरुण पनेरुसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

संकटलाई अवसरमा बदल्ने विचार

संकटलाई अवसरमा बदल्ने विचार

रितेश झा बिरानो शहरमा एक्लै थुनिँदा !

बिरानो शहरमा एक्लै थुनिँदा !

lockdown stories

An irony of life and death

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।