आँखाकान बन्द गरेर बसेको सरकार !

लकडाउन देख्दा आजभोलि समय र परिस्थिति बद्लियो जस्तो लाग्छ । आजभोलि जहाँ हेर्छु, जसलाई हेर्छु अनौठो देख्छु । अनि सोच्ने गर्छु के रहेछ र मानिसको जिन्दगी ! आज राम्रो छ, भोलि के होला थाहा छैन ।

सधैंभरि एकनास नहुने रहेछ । कहिले हाँसो त कहिले रोदन । साह्रै अचम्मको समय । कतै टक्क अडिए जस्तो, केही नराम्रो संकेत दिइरहे जस्तो ।

कुनै कालमा युग फेरिन्छ भन्थे । यो कलियुगको अन्त्यको संकेत पो हो कि जस्तो पनि लाग्छ । हामी मानव जाति पनि डायनोसर जस्तै एकादेशको कथा बन्ने संकेत त होइन जस्तो पनि लाग्छ ।

‘खाली दिमाग सैतानको घर’ भन्छ नि त्यस्तै भएको छ आजकल । गर्ने काम केही छैन । काठमाडौंमा एउटा कोठामा बन्दी भएकी छु । त्यो कोठाको घेराबाट बाहिर निस्केर कतै जान पाएकी छैन । हुन त सरकारले घरबाट बाहिर ननिस्कनु भनेको हो तर हामी जस्तो कोठामा बस्नेका लागि त कोठाबाटै बाहिर ननिस्कनु भन्ने आदेश जस्तै हो । यस्तो संकटमा आफ्नै घरमा बस्ने भाग्य सबैको कहाँ हुँदोरहेछ र ।

मन रोएको छ, जलेको छ, आत्तिएको छ सबैको अनि आफ्नो अवस्था हेर्दा । म विद्यार्थी हुँ । पढाइका सिलसिलामा दोलखाको एउटा गाउँबाट काठमाडौं आएकी थिएँ । धेरै सपना बोकेर यो सपनाको शहरमा आएकी थिएँ केही वर्ष पहिला । मेरो जीवन राम्रो चल्दै थियो । तर अहिले आँधी-तुफान जस्तै भएर अकस्मात् यो कोरोनाको कहर आइदियो । यसले म जस्ता काठमाडौंमा डेरामा बस्ने धेरैलाई न यहीं बस्नु न घर जानु बनाएको छ ।

अरूले झैँ मैले पनि सोचेकी थिएँ — सरकारले लकडाउन गर्नुअघि नै यो विपत्‌को घडीमा म आफ्नो गाउँ, आफ्नो घर अनि आफ्नै आमाबाबाको न्यानो अँगालोमा बेरिन पुग्छु भनेर । तर मैले सोचेको जस्तो कहाँ भयो र ! घर जाने तर्खर गर्दागर्दै सरकारले लकडाउन गराउने निर्णय सुनायो । अनि घर जाने आशा, आमाबाबाको सुरक्षित छहारीमा बस्ने सपना सपनै मात्र रह्यो ।

अहिले यो बिरानो शहरमा रित्तो भएकी छु जस्तो लागिरहेछ । हो साँच्चिकै रित्तो भएकी छु । म मात्र होइन सधैंभरि चहलपहल हुने शहर पनि म जस्तै रित्तो भएको छ अहिले । सुनसान यो शहर, अनौठो यो शहर अनि लकडाउनले गर्दा अनौठो भएका ती व्यक्ति, अनि गाउँको आफ्नो घर जाने आशामा बसेकी रित्तो म । साँच्चिकै यो रित्तो शहरमा रित्तो आशा बोकेर बस्दा निकै कहालीलाग्दो हुने रहेछ।

सधैंभरि घरबाहिर निक्लने अनि साथीभाइहरूसँग घुलमिल हुन रमाउने म आज धेरै दिनसम्म एउटै कोठामा पिँजडामा थुनिएको चराझैं भएर बसेकी छु । न घरी कौसी घरी भान्सा, घरी बैठक कोठा, घरी घरको बगैंचा चहार्ने बहाना छ मसँग न परिकार बनाउँदै, फूल रोप्दै, घरको कुनाकाप्चामा गएर सेल्फी खिचेर यो बन्दाबन्दीलाई रोमाञ्चक बनाउने ध्याउन्न छ । आफूलाई त एउटै रोइलो छ घर र परिवार भएको ठाउँमा जान पाइएन ।

यस्तो अवस्था नभोग्नेहरूका लागि यी सबै कुरा सामान्य लाग्लान् । तर म भित्रभित्रै जलेको छु अनि निसास्सिएकी छु भनेर कसरी भनुँ । हो म साँच्चिकै निसास्सिएकी छु । घरीघरी म पागल हुन्छु जस्तो लाग्छ । यो बिरानो शहरको एउटा कोठामा केही भइहाल्यो भने मलाई कसले सम्हाल्छ ।

‘मलाई बाहिर निकाल, मेरो घर-परिवार भएको ठाउँमा पुर्‍याइदे’ भनेर चिच्च्याएर कराउन मन लाग्छ यो कोठाबाट । तर मलाई थाहा छ मैले जति चिच्च्याए पनि, रोइकराइ गरे पनि यो शहरले मेरो कुरा सुन्दैन या सुन्न खोज्दैन, किनभने उसलाई लाग्छ म उसको आफ्नो मान्छे होइन, यस शहरमा मेरो आफ्नो घर छैन, मेरो आफ्नो मान्छे छैन, म यहाँको मतदाता होइन । उसलाई लाग्छ म मेरो आफ्नो बाध्यताले गर्दा उसकहाँ शरण लिन आएकी छु ।

मलाई मात्र होइन उसले यो विपत्‌मा धेरैलाई यस्तै पराई व्यवहार गरेको छ । उसले आफन्तको व्यवहार गरेको भए त ती हजारौं पाइलाहरू पैदल हिंडेरै आफ्नो ठाउँ, आफ्नो घर जान किन लम्किन्थे र ? यसबाट हामी डेरावालहरूले के महसुस गर्‍यौं भने यो शहर हाम्रो आफ्नो हुँदै होइन रहेछ । अझ कतिलाई त सुरक्षाको कारण देखाएर कोठाबाटै निकालेर अलपत्र पारिदिएको, छिछि र दूरदूर जस्तो व्यवहार गरेको, बाहिर घर गएका अहिले फर्किए भने कारबाही समेत गर्ने भनेर उर्दी जारी गरेको सुन्दा कसलाई यो शहर आफ्नो लाग्ला र ?

यति लामो समयसम्म कोही कोठाभित्रै निसास्सिइरहेको छ । तैपनि घरबेटी यसो छततिर निस्कन अनुमतिसम्म पनि दिन अघि सर्दैन भने यो शहर र यसका मान्छेहरू कसरी मेरा आफ्ना भए ? यस्तो व्यवहार गर्नेबाट कोठा भाडा मिनाहा हुने आशा गर्ने परको कुरा भयो । त्यस्तो व्यवहार मैले यो शहरबाट आश गरेकी छैन । डेरामा बस्नेहरूलाई कहिलेकाहीँ मायालु नजरले हेरिदिए हुन्थ्यो भन्ने मात्र लाग्छ । कहिले पानी धेरै खर्च गर्‍यो भन्ने, कहिले पाहुना धेरै ल्यायो भन्ने, कहिले घरको सामान हरायो कि भन्ने । अब त हुँदाहुँदा रोगै पो ल्यायो कि भन्ने !

आफ्नो घर नहुँदा अरूले कति हेप्छन् भन्ने कुरा हामीलाई भन्दा बढी अरू कसलाई थाहा होला र ! धेरै मान्छेहरू भोक लागेर मात्र होइन आडभरोसा पाइन्छ भनेर यो बेला कष्ट बेहोरेर पनि आफ्नो घरतिर हान्निएका हुन् ।

तर के गर्नु यही शहरमा विराजमान देशको सरकारले हाम्रो पीडा फिटिक्कै बुझेन या बुझ्न चाहेन । हाम्रा कुरा सुन्नुपर्ला, हेर्नुपर्ला भनेर उसले आफ्ना कान बन्द गरिरह्यो, आँखा थुनिरह्यो । जनताको अवस्था देखेर आफूलाई दया लाग्ला तर केही गर्न सक्दिनँ भनेर हो या हामीलाई देख्दै उसको टाउको दुख्ने भएर हो उसले यतिका दिनसम्म पनि ‘घरभित्रै बस्नुस् है’ भन्दै लकडाउनको म्याद थपेको थप्यै गर्दा हाम्राबारे केही सोचेन । मिडियाले हाम्रा दु:खबारे बोलिदिंदा उसले उल्टो झम्टियो ‘मैले नदेख्ने मिडियाले मात्र कसरी देख्ने ?’ भनेर । एक पटक मात्र होइन उसले बारम्बार झम्टिरह्यो । शायद उसलाई हाम्रो पीडाभन्दा पनि आफ्नो साखको चिन्ता छ ।

दिन कटाउन मोबाइलमा फेसबुक खोल्छु । मेरा आँखा ज्यालादारीमा काम गर्ने मानिसका तस्बिरमा गइहाल्छन् । उनीहरू छाक टार्न गाह्रो भएर आँसु खसालिरहेका छन् । यस्तो तस्बिर देख्दा यो कहरमा मानिस कोरोनाले भन्दा पनि भोकमरीले मर्लान् जस्तो लाग्छ ।

मानिस बन्द कोठाभित्र मात्र कहाँ निसास्सिदा रहेछन् त ! भोको पेटले पनि निसास्सिदा रहेछन् नि ! धन्न मैले भने अहिलेसम्म घरबाट पठाएको पैसाले भए पनि यो संकटमा पेटभरि खान पाएकी छु । तैपनि मलाई हामी जस्तो आम मान्छेहरूको भाग्य फुट्दै छ जस्तो लाग्छ । अब धेरैको जागिर जान सक्छ भन्ने खालका समाचार सुन्दै छु । मलाई अर्को के कुराको डर लागेको छ भने कोरोनाको डरले घर गएका सबै काठमाडौं फर्किए भने काठमाडौंले उनीहरूलाई बस्न देला कि रोग ल्यायो भन्दै निकालिदेला ?

उसै पनि यो शहरमा पैसै तिरेर बस्न पनि साह्रै गाह्रो छ । कसैले एक्ली केटी मान्छे भनेर कोठा दिँदैनन् कसैले एक्लो केटा मान्छे भनेर । कसैलाई परिवार समेत रहेछ भनेर दिँदैनन् त कसैलाई पानी धेरै खर्च गर्लान्, पाहुना धेरै ल्याउलान, बच्चाले धेरै चकचक गर्लान् भनेर ।

यो पनि नहुने, त्यो पनि नहुने ! कति सकस दिन्छ यो शहरले ? शहरमा घर हुनेहरूलाई यो कुरा के थाहा हुन्थ्यो ! अब त झन् कोरोनाको बहाना थपियो । वडा, नगरपालिकाहरू कोठावालप्रति क्रूर भएका छन् ।

मलाई यो अवस्था छिट्टै सामान्य होला भन्ने लाग्दैन । काठमाडौंमा पढ्ने, जागिर खाने काठमाडौंबाहिरका मान्छे धेरै होलान् । उनीहरूलाई सुरक्षित तरिकाले काठमाडौं कसरी भित्राउने भनेर सोच्ने फुर्सद सरकारलाई छैन ।

साँच्चिकै कति अनौठा भएका छन् आजकल यी दिन र रात ? कोठामा अझै कति दिन बन्दी भएर बस्नुपर्ने हो थाहा छैन । रातदिन सुतेर हो कि अब त आफ्नो अनुहार पनि सुन्निएको जस्तो लाग्न थालेको छ । यो बन्दाबन्दी कहिले सकिएला र म बाहिर खुला ठाउँमा सास फेर्न पाउँछु जस्तो छटपटी भइसक्यो । म आत्तिइसकेँ । अरू धेरैलाई यस्तै भएको होला ।

हिजोआज यो मन अलिकति पनि खुसी छैन । किचनमा पहिलेको जस्तो मीठा अनि धेरै परिकार पाक्न छाडिसके । थोरै खाउँ तर धेरै दिनसम्म पुर्‍याएर खाउँ भने जस्तो भएको छ । किचनमा खाने कुराको कमी भएर होइन, परिस्थिति अनुसार आफूलाई बदल्न हो ।

यो संकटमा मैले मेरो कोठालाई नै साथी बनाइसकेकी छु । म अत्तालिएको, रोएको, हाँसेको, तनावमा भएको सबै महसुश गर्ने यही एउटा त छ । आजकल कोठाभित्र आफैँले आफैँलाई हिम्मत दिने गर्छु । सोच्छु, लकडाउन केही समयका लागि न हो ! केही दिनपछि फेरि हामी आफ्नै रङ्गीन जिन्दगीमा फर्कन पाउँछौँ । यो लकडाउन मात्र हो, मृत्युको काउन्टडाउन होइन ।

कोरोनामा कर्णाली प्रदेश

मेरो लकडाउन कथा

मेरो लकडाउन कथा

लकडाउन-कथा

नव किसानको तनाव

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।