समाजप्रतिको दायित्व बढी छ

विश्वका धेरै ठाउँमा कोरोना फैलिरहेका बेला नेपाल पनि यसबाट बच्न सक्दैन जस्तो लागेको थियो । त्यसैले लकडाउन सुरु हुनुअघि नै तानसेन नगरपालिकामा हामीले कोरोनाबारे जनचेतना फैलाउन थाल्यौँ । विभिन्न छापा माध्यम, अनलाइन र एफएमबाट सन्देश प्रकाशन र प्रसारण गर्‍यौं । भयाभह नफैलियोस् भनेर हामीले यसो गरेका हौँ ।

सरकारले लकडाउन लागू गरेको केही दिनपछि हातमुख जोर्न समस्या भएका व्यक्ति, परिवार, सदुमायलाई लक्षित गरेर राहत विरतरण कार्यविधि बनायौँ । त्यही कार्यविधि अनुसार पहिले १७ सय परिवारलाई नि:शुल्क राहत सामाग्री वितरण गर्‍यौं । कतिपयले निःशुल्क हो भने राहत लिदैनौँ भन्नुभयो । त्यसपछि हामीले ३२ सय परिवारलाई सुपथ मूल्यमा राहत दियौँ ।

हामी राहतमा मात्रै केन्द्रित भएनौँ । कृषिउपज तयार थिए तर बजार पुर्‍याउन समस्या भयो । कृषकको उत्पादन उपभोक्तासम्म पुर्‍याउन तानसेन नगरपालिकाले कृषि एम्बुलेन्स चलायो । कृषिसँग सम्बन्धित संघसस्थालाई बोलाएर कृषि एम्बुलेन्स चलाउन प्रोत्साहन गर्‍यौं । उहाँहरू मान्नुभयो । यसो गर्दा बाटोमा मान्छेको आवतजावत कम हुने भयो । सबै घरघरमा बस्न थाल्नुभयो । अहिले कृषकबाट किनेको मूल्यमा भाडा मात्रै जोडेर बजारमा तरकारी बिक्री भएको छ ।

हामीले मल, घाँसका बीउ, मकै र तरकारीका बीउ पनि टोलटोलमा वितरण गरेका छौँ । उहाँहरूले उत्पादन गरेका तरकारी बजारमा बिक्री नभए हामीले किन्छौँ भनेका छौँ ।

हामीले हटलाइन नम्बर दिएका छौँ । राहत चाहिएकाले यसमा फोन गर्न सक्नुहु्न्छ । सुत्केरी र  काम गर्ने नसक्नेलाई घरैमा नि:शुल्क राहत पुर्‍याउने गरेका छौँ । सक्षम मानिसलाई हामीले वडावडामा काम गर्ने अवसर दिएका छौँ । अहिले तानसेनका १४ मध्ये ७ वटा वडामा काम भइरहेको छ । युवाहरूले काम गरिराख्नुभएको छ । कतिपय ठाउँमा जेष्ठ नागरिकले पनि हामी नि:शुल्क राहत लिदैनौँ भनेर काम गरिराख्नुभएको छ ।

हामीले दुई ठाउँमा क्वारन्टिनको व्यवस्था गरेका छौँ । वडा नम्बर ६ स्थित जनप्रिय माध्यमिक विद्यालयमा ६० बेड र वडा नम्बर ५ मा रहेको त्रिभुवन बहुमुखी क्याम्पस विज्ञान ब्लकमा ९० बेडको क्वारन्टिन चलाएका छौँ । १८ वटा आइसोलेसन बेड बनाएका छौँ । अहिले कोरोना पोजिटिभ पाइएकालाई हामीले त्यहाँ राखेका छौँ ।

क्वारन्टिन बसेका मानिसबाट आफूलाई पनि कोरोना सर्ने हो कि भनेर मान्छे डारउन थाले । एक किसिमको त्रास फैलियो । एकातिर मानिसहरू भारतबाट लामो यात्रा गरेर आफ्नै ठाउँ फर्किएका छन् । यहाँ भने मान्छेको बोलीचाली, व्यवहार अनि उनीहरूलाई हेर्ने दृष्टिकोण फरक भयो । त्यसपछि हामीले मिलेर सबैलाई सम्झाउन थाल्यौँ । हामीले उहाँहरूलाई बतायौँ — उहाँहरू पनि मानिस नै हो । कसैलाई रोग लाग्दा यस्तो व्यवहार गर्नु राम्रो होइन । तपाईंमध्ये कसैलाई यो रोग भयो भने के गर्नुहुन्छ ?

त्यसपछि क्वारेन्टाइनमा बस्नेप्रति नगरवासीको दृष्टिकोण फेरियो ।

अहिले पनि बाहिरबाट आएका मान्छेहरूलाई घरसम्म पुर्‍याउन गाडीहरूले मान्दैनन् । कतिपय चालकका घरपरिवारले मान्दैनन् । छरछिमेकले पनि मान्छे बोकेपछि घर नआउनु भने । त्यसपछि हामीले अहिले नगरपालिकाकै गाडीमार्फत मान्छेहरूलाई उनीहरूको ठाउँ पुर्‍याइरहेका छौँ ।

लकडाउन सुरु हुनुअघि नै हामीले तानसेन नगरपालिकाकाले बसर्पाकमा र प्रवेशद्वारमा हेल्थडेस्क स्थापना गरेका थियौँ । मानिसहरू लुकीछिपी आउन थालेपछि हामीले विभिन्न जनशक्ति प्रयोग गरेर प्रत्येक वडामा गएर कोभिड सम्बन्धी काउन्सिलिङ गर्न थाल्यौँ । हामीले सामान्य ज्वरो आउँदा पनि चेकअप गर्ने सुविधा उपलब्ध गराएका थियौँ । तर मानिसहरू डराएर स्वास्थ्य चौकीमा आउन छाडेपछि हामी नै वडावडामा गएर चेकजाँच गर्नुका साथै रोग सम्बन्धी सूचना दिन थाल्यौँ ।

क्वारन्टिनमा हामीले म्याटको व्यवस्था गरेका थियौँ । उहाँहरूको घरपरिवारको रेखदेखमा हामीले क्वारन्टिन व्यवस्थापन गर्‍यौं ।

हामीले स्वास्थ्यकर्मीका लागि पनि छुट्टै घरको व्यवस्था गरेका छौँ । पोजेटिभ नभए पनि हामीले उहाँका लागि छुट्टै घरको व्यवस्था गरेका हौँ । यसले गर्दा घर आउने-जाने समय पनि बच्ने साथै घरपरिवारलाई कतै संक्रमण होला कि भनेर डराउनु नपर्ने । उहाँहरूलाई चाहिने सबै स्वास्थ्य सामग्री उपलब्ध गराएका छौँ ।

पहिले दुई दिन पीपीई नहुँदा उहाँहरूले कालो पोलथिन लगाएर क्वरन्टिनमा बसेका मान्छेको जाँच गर्नुभयो । त्यसो गर्न स्वास्थ्यकर्मी साथीहरू पछि हट्नुभएन । त्यो देख्दा मलाई गर्व लाग्यो । अनि आफूलाई पनि काम गर्ने हौसला जाग्यो ।

म बाहिर हिँडेकोमा मेरो घरपरिवारले गुनासो गर्ने गर्छ । हिंड्नै पाइँदैन त भन्दैनन् तर यस्तो बेला घरमै बसे पनि हुने त भन्ने लागेको छ उनीहरूलाई । तर म जनप्रतिनिधि भएकाले घरभन्दा बढी दायित्व समाजप्रति छ । हामी अघि बढेनौँ भने नागरिकलाई कसले सहयोग गर्ने ? कसले व्यवस्थापन गर्ने ? हरेक ठाउँ बस्तीबाट सबैले सक्दो सहयोग गर्नुपर्छ यो विपत्को बेलामा ।

अहिले पनि तानसेन नगरपालिकामा सहयोगीहरू आइरहेका छन् । व्यक्तिगत रूपमा पनि सहयोग आइरहेको छ । क्वारन्टिनमा बसेका मान्छेलाई पैसा अथवा खानेकुरा के कसरी सहयोग सकिन्छ भनेर सोध्नुहुन्छ ।

विदेशमा काम गरिरहेका कति नागरिक स्वदेश फर्कन चाहन्छन् भनेर हामीले अनलाइन सर्भे गर्‍यौं । हामीले जिल्लामा फर्कन चाहने मान्छे कति हुनुहुन्छ ? यहाँ आइसकेपछि फेरि फर्कने को हुनुहुन्छ ? यहीँ बस्ने भए के काम गर्न चाहनुहुन्छ भनेर सर्भे गर्‍यौं । धेरैजसोले आफनै देश फर्किएर केही गर्छु भन्नुभएको छ । हामीले यस काममा आगामी बजेटमा प्राथमिकता दिनेभएका छौँ ।

हामीले सुरुमा रेडियोमार्फत विभिन्न विद्यार्थीका क्लास सञ्चालन गर्‍यौं । शिक्षासँग जोड्नको निम्ति, हामीले शिक्षकलाई पनि अनलाइन अध्यापन सम्बन्धी प्रशिक्षण दियौँ । अझै व्यवस्थित गर्न अभिभावक शिक्षक भन्ने अवधारणा ल्याएका छौँ । परिवारले नै आफ्नो तर्फबाट बालबालिकालाई शिक्षा प्रदान गरुन भनेर । स्कूल छाड्ने विद्यार्थी नबढुन् भनेर हामीले शिक्षहरूलाई पनि फोनमार्फत हुन्छ या नजिकै घर भए विद्यार्थीबारे जानकारी लिनुहोस् भनेका छौँ । यसले गर्दा विद्यार्थीले अनावशयक कुरामा ध्यान दिनुका सट्टा पाठ्यक्रममा ध्यान दिन्छन् ।

अहिले प्रविधिको विकासले गर्दा अझै भनौँ सामाजिक सञ्जालले गर्दा मानिसले छिनमै सूचना पाउँछौँ । तर त्यही सोसल मिडियामा कहिले प्रमाण बिनाका हल्ला शेयर गर्ने प्रवृतिले धेरै समस्या निम्ताएको छ । कोही व्यक्ति मर्‍यो भने पनि कोभिड-19 ले हो भनेर फेसबुकका वाल भर्न हतार हुन्छ मान्छेलाई । यसले गर्दा मानिसमा एक प्रकारको मानसिक तनाव उत्पन्न हुन्छ जुन कोरोनाभन्दा पनि खतरा हुन्छ । त्यसैले यो सोसल मिडिया प्रयोग गर्नेले पनि सकारात्मक सन्देश दिने हो भने यस्तो विपत्मा धेरै राहत हुन्थ्यो । समाचार लुकाउनु भन्न खोजेको होइन, सही जानकारी मात्र राखौँ भन्ने हो ।

विपत्‌सँग जुध्न तयारी नगर्ने चलननले गर्दा अहिले समस्या भएको छ । तर पनि आफ्नो ठाउँबाट हामी सबैले सहयोग गर्ने हो भने हामी यो रोगबाट बच्न सक्छौँ । मेरो कार्यकाल हुँदासम्म र त्यसपछि पनि म यही समाजको सेवामा खटिरहनेछु ।

यो कथा तानसेन नगरपालिकाको , नगरप्रमुख अशोक कुमार शाहीसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

 

बन्द कोठाको अत्यासलाग्दो बसाइ

कोरोनाले रोकेको कारोबार

लकडाउनमा एक्लै हुँदा !

लकडाउनमा एक्लै हुँदा !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।