फुच्चे भाइरसको कत्रो तागत !

लकडाउन ! कस्तो शब्द बारम्बार सुन्नुपर्ने दिन आए ! आँखाले देख्न पनि नसकिने जीवाणुले गर्दा आज विश्वका प्राय: सबै मुलुकमा लकडाउन गरिएको छ । यसबाहेक अरू केही उपाय बाँकी राखिदिएन कोरोना भाइरसले ।

म काठमाडौंमा बीबीए पहिलो सेमेस्टरमा पढ्दै छु । २०७६ चैत २९ गतेदेखि बोर्ड परीक्षा हुन्छ भन्ने खबर पाउँदा नपाउँदै हल्ला चल्योः अब लकडाउन हुन्छ रे, सबै शैक्षिक संस्था अनिश्चित कालसम्म बन्द हुने रे ।

म बोर्ड परीक्षा सकेर मात्र घर जाने भनेर पढाइमा ध्यान लगाएर बसेकी थिएँ । लकडाउन हुने खबरले मलाई जाँच नदिईकन हतारहतार घर जान बाध्य बनायो । मेरा कलेजका सबै साथीहरू पनि आ-आफ्ना घर गए । परीक्षा सरेपछि काठमाडौंमा बसेर के गर्नु ? न यहाँ आफ्नो घर न आफ्नो परिवार !

सुरुसुरुमा त मलाई लकडाउन त्यति ठूलो जस्तो लागेको थिएन । परीक्षाको तयारी गर्ने बिदा जस्तै लागेको थियो । घर आएपछि पनि खुब पढेँ । लकडाउन एकदुई हप्ता मात्र हुने होला, त्यसपछि पहिलाको जस्तै सामान्य भइहाल्छ र हाम्रो परीक्षा पनि तोकिएकै मितिमा हुन्छ भन्ने सोचेकी थिएँ । तर लकडाउन खुल्ने बेलामा लम्बियो रे भन्ने खबर आयो । यसले गर्दा एकचित्त भएर पढ्न थालेको मेरो ध्यान पढाइबाट हट्न थाल्यो । त्यसपछि म पढाइमा मात्र ध्यान नदिई घरका अरू कामकुरा सिक्न थालें ।

सधैं यताउता गरिरहने सबै मान्छेको आवतजावत घटेको देख्दा मलाई अचम्म लाग्यो । कस्तो अजबको भाइरस हो यो जसले सबैलाई घरभित्र थुनिदियो जस्तो लाग्थ्यो । मनमनै कताकता परीक्षाको डर पनि थियो । विदेशमा ठाउँठाउँमा यति जना यसरी मरे, लकडाउनले गर्दा यति जना आपत्‌मा परेका छन् भन्ने थाहा पाउँदा डरभन्दा पनि विरक्त लागेर आउँथ्यो ।

नेपालमा पनि संक्रमण दिनदिनै बढेको सुन्दा अत्तालिन्छु । मेरी फुपू दिदीकी छोरीले एसईई दिनुपर्ने थियो । ऊ परीक्षा दिन पूरै तयार भएर बसेकी थिई । उसको पढाइ अझ राम्रो बनाउन भनेर फुपू दिदीले स्कूलको होस्टेलमा हालिदिनुभएको थियो तर लक डाउनले गर्दा उसको परीक्षा स्थगित भयो । एसईई दिन भनी तीन-चार महिनाअघिबाट होस्टलको फि तिर्दै बसेका विद्यार्थीहरूको पनि पढाइ मात्र होइन मानसिक अवस्था पनि बिथोलियो भन्थी रे बहिनी ।

लकडाउन भएको धेरै दिन भइसक्दा पनि कलेजले हामी विद्यार्थीको हालखबर कस्तो छ भनेर सोधेन । पछि एक्कासि अनलाइन क्लास लिनुपर्छ भन्ने सूचना आयो तर सबै साथीहरूका घरमा इन्टरनेट सुविधा नभएकोले अनलाइन क्लास अहिलेलाई नगर्ने भन्ने कुरो भयो । हुन पनि हो इन्टरनेट सुविधा काठमाडौंमा जस्तो सबैतिर कहाँ छ र ! कनेक्ट भइहाले पनि सुस्त भएर घुमेको घुम्यै गरिरहन्छ । भिडियो कल गर्ने त कुरै छाडौँ ।

सुरुसुरुमा मेरो गाउँमा लकडाउनले गर्दा मान्छेहरू गम्भीर भएर घरभित्रै बसेका थिए। आफ्नो सुरक्षामा ध्यान दिने गर्थे । दूरी नै यसको दबाई हो भन्ने हिसाबले एकअर्काबाट अलिक टाढा बस्ने गर्थे । बाहिर हिंड्नुपर्दा जो कोहीले पनि मास्क लगाएर हिंड्ने गर्थे । यो सब देख्दा घरीघरी हाँसो पनि लाग्थ्यो कि मान्छेलाई मरिन्छ कि भन्ने कति डर हुँदो रहेछ, आखिर एकदिन त मर्नै पर्छ । तर लकडाउनको मिति जतिजति लम्बिदै छ, मान्छेहरू घरमा बस्दाबस्दा उति बढी आत्तिन थालेका छन् । त्यसैले आजभोलि गाउँमा मानिस बाक्लै ओहोरदोहोर गरेको देख्छु । म पनि आजकल घरभित्र बस्दाबस्दा वाक्क लागेर आफ्नै गाउँघरमा वरिपरि घुम्न निस्किरहन्छु।

गाउँ पस्ने गौँडामा जाँच कडा गरेकोले नयाँ मान्छे त गाउँमा आउन पाएका छैनन् ।

लकडाउनले ल्याएको अप्ठ्यारो आफ्नो ठाउँमा छ । तर यसले धेरै कुराहरूको महसुस गराएको छ । जस्तैः थुनिएका जनावरहरू कति नराम्रोसँग बन्धक बनेर जिउने गर्दा रहेछन् । मानिसहरू आफ्नो देखावटीपन बिना पनि आफ्नो समय बिताउन सक्ने रहेछन् । मैले थाहा पाए अनुसार यो रोग सडकमा बस्ने या दिन रात नभनी काम गर्ने मानिसहरूलाई भन्दा काम नगरे पनि खान पुग्नेहरूमा बढी लाग्दो रहेछ । रोगले हामीले जस्तो धनी-गरिब भनेर विभेद गर्दो रहेनछ । अप्ठ्यारो परिस्थितिसँग लड्ने आत्मबल धनीहरूसँग भन्दा गरिबहरूमा बढी हुने रहेछ भन्ने कुराको महसुस गराएको छ । कतिपय काम घरपरिवारसँगै बसेर पनि गर्न सकिंदो रहेछ । प्रकृतिलाई जस्तो व्यवहार गर्छौं उस्तै व्यवहार हामीले भोग्नु पर्ने रहेछ । अहिलेको संकट हामी मानिसकै लापरबाहीले गर्दा त आएको हो । त्यसकारण यसरी लापरबाही गरेर पछि पछुताउनुभन्दा पहिल्यै विचार पुर्‍याउनुपर्छ भन्ने कुराको स्मरण लकडाउनले गराएको छ ।

अर्को सकारात्मक पक्ष के देखेकी छु भने लकडाउनले गर्दा धूवाँ-धूलो र प्रदूषण कम भएर वातावरण स्वच्छ भएको छ । पृथ्वीको ओजोन तह पनि तंग्रदै गएको होला जुन हामी सबै प्राणीहरूका लागि खुसीको कुरा हो ।

लकडाउन कहिलेसम्म लम्बिने हो अझै थाहा छैन । त्यसैले यस्तो गाह्रो समयमा घरभित्र थुनिनुपर्‍यो भन्ने नसोची घरमै बसी नयाँ कुराहरू सिकेर समयको उपयोग गरौँ । अहिले हामी आफ्नै घरभित्र मात्र सुरक्षित छौँ भन्ने कुरा बुझौं र हाम्रो सुरक्षाका लागि दिन रात नभनी खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरूले भनेको मानेर उनीहरूलाई सहयोग गरौं । आशा गरौँ यो लकडाउन छिट्टै खुल्नेछ र हामीले नयाँ जीवन पाउछौं ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।