विरानो देश, विराना मान्छे, विरानो रोग

हाल म युएईको राजधानी दुबईमा छु । अहिले यहाँ कोरोना सङ्क्रमण दर र सङ्ख्या दुवै बढ्दै छन् । हामी त्रसित छौँ । काम प्राय: बन्द भइसकेका छन् । कतिपय काम बन्द हुने क्रममा छन् । थोरै कम्पनीमा मात्र आंशिक रूपले काम चलिरहेको छ । सामान्य अवस्थामा पाउने मासिक पारिश्रमिकको १० देखि २५ प्रतिशतसम्म कटौती गरिएको छ । ड्युटी नगरी कोठामा बसेका श्रमिकहरूलाई केही कम्पनीले खाना खर्चस्वरूप निश्चित रकम उपलब्ध गराएका छन् भने केही कम्पनीले बस्ने ठाउँ मात्र दिएका छन् । त्यस्तो अवस्थामा खाना खर्च आफैले जुटाउनुपरेको छ ।

लकडाउनले गर्दा हाम्रो दिनचर्यामा धेरै प्रभाव परेको छ । दैनिक ज्याला नपाउँदा सामान्य खर्च समेत चलाउन अप्ठ्यारो भइरहेको छ । बजारको मूल्य घटेको छैन । पारिश्रमिकले मेरो आफ्नो र परिवारको खर्च पुर्‍याउन सकिँदैन ।

वैदेशिक रोजगारी भने पनि सामान्य खर्च समेत गर्न नसक्ने अवस्थामा पुगेका छौँ । रिनको सावाँ र ब्याज तिर्न बेलामा नसक्दा परिवारजनले समेत आर्थिक तथा मानसिक पीडा भोग्नुपरेको छ ।

बढ्दो सङ्क्रमण र आर्थिक कठिनाइले गर्दा हामी सबै स्वदेश फर्कन चाहिरहेका छौँ । परिवार पनि आत्तिएका छन् । चिन्ताले हरेक दिन घर फर्कन कर गरिरहेका छन् ।

विदेश गएर पैसा कमाउने सपना देख्नुका सबैका आ–आफ्ना कारण हुन्छन् । मुख्यतया स्वदेशमा रहेको आर्थिक अस्थिरता, अभाव, बेरोजगारी र संवृद्ध जीवनको सपना नै वैदेशिक रोजगारीका कारक हुन । तर ती सबै सपना अहिले चकनाचुर भएका छन । एउटा सुनौलो भविष्यको सपना अहिले बालुवाको घर जस्तै भएको छ ।

काम नहुँदा मानसिक समस्या पनि विकराल हुँदै गएको छ । समय बिताउन कठिन भइरहेको छ । स्वच्छ खानपिन हुन सकेको छैन । कतिखेर के हुन्छ भन्ने त्रास मनमा सधैं हुन्छ ।

यहाँ बस्दाको अर्को डर के पनि हो भने कोरोना सङ्क्रमण भएमा उपचार र हेरचाह पाइँदैन । यहाँ सङ्क्रमित केही नेपालीले राम्रो हेरचाह पाएका छैनन् । स्वदेश फर्किन पाइयो भने परिवारको माया र हेरचाह पाइन्थ्यो । आफ्नो देश, आफ्नो घर र आफ्नो परिवार भएको ठाउँमा भइदिएको भए मन यतिबिघ्न अशान्त हुँदैनथ्यो भन्ने लाग्छ कताकता । त्यसैले पनि घर, परिवार, इष्टमित्र र छरछिमेकीहरूको यादले बढी नै सताएको छ । यस्तो सङ्क्रमणको समयमा आफ्नै घरभित्र सपरिवारका साथ सुरक्षित बस्न पाउँ भन्ने इच्छा धेरै छ । तर के गर्नु उडेर जानुभएन । घरीघरी अति अत्यास लाग्छ विरानो देश, विरानो मान्छे अनि यो विरानो रोगको कहाली ।

एउटा कुरा के साँचो हो भने अब उप्रान्त विदेशमा सरल तरिकाले रोजगारी र भने जस्तो पारिश्रमिक पाउन कठिन हुन्छ । कोरोना भाइरसले परिस्थिति बदल्ने पक्का छ । सामान्य गुजारा चलाउने पारिश्रमिक पाइने रोजगारी पनि पाउन मुश्किल हुन्छ ।

अरूले सोचेभन्दा निकै गाह्रो छ यहाँ । तर जस्तो जे भए पनि मैले हिम्मत हारेको छैन । घरपरिवार र साथीभाइ सम्झेर आफूले आफैलाई सम्हालेको छु । सुनौलो भविष्यको परिकल्पना र आशाले र परिवारको मायाले आफूलाई सम्हाल्दै आएको छु । कोरोनाले मेरो सपना नखलबलाई दिओस् !

हाल: युएई दुबई

लकडाउनमा कुशको पुरोहित

लकडाउनमा कुशको पुरोहित

लकडाउन लम्बिदै ब्याज बढ्दैछ लकडाउन कथा

लकडाउन लम्बिदै, ब्याज बढ्दैछ !

कोरोनामा कर्णाली प्रदेश

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।