लकडाउन यात्रा

लकडाउन यात्रा

सरकारले लकडाउन गर्न थाल्दा म सल्यानमा थिएँ । एक दिनको छुट्टी हुँदा त घर जान मन लाग्छ भने लकडाउन भएर एक हप्ता छुट्टी भएको थियो । नजिक घर हुने साथीहरूको खुसीको सीमा रहेन । घरबाट टाढा, एक्लै बसेका हामीलाई चाहिँ तनाव भयो ।

हाम्रो कार्यालयका अरू सबै कर्मचारी आ-आफ्नो घर पुगिसक्नु भएको थियो । बाँकी थियौं हामी सुर्खेती — म, मेरो भाइ र अरू तीन जना सरहरू । हामीले चैत १२ गते बिहान सल्यान लुहाम–काभ्रा–कालिमाटी हुँदै हिँडेर सुर्खेत जाने योजना बनायौँ । बिहान खाना खाइवरी बाटो लाग्यौँ ।

लुहाम–काभ्रासम्म अफिसको गाडीले पुप्याइदियो । यसका लागि हाकिम सर र उपाध्यक्षज्यूलाई धेरैधेरै धन्यवाद दियौँ । सर र मेडमले हामीलाई त्यति सहयोग नगर्नु भएको भए हामी बाटामा अलपत्र पर्ने थियौं होला । अरूको कुरा सुन्दा र बुझ्दा बाटो सजिलो छ जस्तो लागेको थियो तर यो बाटो साह्रै कठिन थियो ।

कालिमाटी घुरचौर भन्ने ठाउँमा मेरी आमाजू दिदीको घर भएकाले हिंड्न सकिएन भने दिदीको घरमा बस्नुपर्ला भन्ने विचार गरेकी थिएँ । म दिदीको घरसम्म पनि पुग्न नसक्ने भइसकेकी थिएँ । लोग्नेमानिसको शरीर जति थकाइ लागे पनि नलागेझैं गरेर हिंड्न सक्ने । मलाई चाहिँ हिंड्न कति गाह्रो भयो भन्ने कुरा म बताउन सक्दिनँ । तर जसरी पनि हिँड्नै पर्थ्यो। त्यसैले उनीहरूभन्दा कमजोर नदेखिइकन अघिअघि हिडिरहेँ । रात पर्न लागिसकेकाले हिंड्न सक्दिन कि जस्तो लागेको थियो । सरहरूलाई भनें सबै जना यतै बसौँ । तर उहाँहरूले हिँड्ने कुरा गर्नुभयो । म चाहिँ दिनभरिको थकाइले गलिसकेकी थिएँ ।

“म हजुरहरूसँग हिंड्न सक्दिनँ । बाटामै रात पप्यो भने हजुरहरूलाई पनि गाह्रो हुन्छ । हामी यही बस्छौँ,” मैले भनेँ । त्यसपछि हामी दिदी भाइ उहाँहरूसँग छुट्टिएर दिदीको घर जान उकालो लाग्यौँ, सरहरू ओरालो लाग्नुभयो । दिदीको घर नजिकै होला भनेर सोचेकी थिएँ, धेरै टाढा रहेछ । हिंड्दा हिंड्दा रात पर्न लागिसक्यो । थकाइले शरीर गलिसक्यो तर दिदीको घर आउँदैन । अब हिँड्न सकिँदैन भनेर एकछिन आराम गरेर दिदीलाई फोन गरेँ ।

दिदीले बाटो अब अलिकति मात्र हो भन्नुभयो । दिदी भाइ बिस्तारै गफ गर्दै बस्दै हिंडिरह्यौँ । बाटामा खानेकुरा पाइएन । बिहान बाटोमा खान भनेर खानेकुरा हालेको झोला कोठामै छाडिएछ । भोकले सताइरहेको थियो । हिंड्दै जाँदा ठूलो झरना भेटियो । त्यसको पानी खाएर हातमुख धुँदा आनन्द आयो । खोला सुसाएको आवाजले मन रमायो । प्रकृतिमा एकछिन रमाएर अनि दुई चारवटा फोटो खिचेर फेरि हिँड्यौं । हामी बिस्तारै हिंडेकाले दिदीको घर पुग्दा रात परिसकेको थियो ।

दिदीको घरसम्म पुग्दा हामीले करिब करिब २७-२८ किलोमिटर हिंडिसकेका रहेछौँ । दिदीको घर जाने बाटो घुमाउरो भएकाले पनि धेरै हिंड्नुपरेको थियो । दिदीको घर पुग्दा हिँड्न त कुरै छोडौ उठ्नसम्म नसक्ने भएकी थिएँ ।

बेलुका खानपिन गरेर सुत्यौँ तर निन्द्रा परेन । सुतेँ के भन्नु पल्टिएँ मात्र । दिनभरिको थकाइले शरीर धेरै थाकेको थियो । भोलि बिहान कसरी हिँड्नु भन्ने चिन्ताले गर्दा आखाँमा निन्द्रा, मनमा शान्ति थिएन । निन्द्रा लाग्ने त कुरै भएन । मानिसले बितेका कुरामा भन्दा भविष्यका कुरामा बढी ध्यान दिन्छ भनिन्छ नि । त्यस्तै गरी, भोलि कसरी हिंड्ने भन्ने चिन्ताले मन पोलिरहेको थियो ।

म कहिले बिहान होला र शरीर फुर्तिलो होला भनी पर्खेर बसिरहेकी थिएँ । भोलि हिँड्न सकिनँ भने के गरुँला भनेर निन्द्रा लागेको थिएन । दिदीको घर भएकाले भोलि हिँड्न नसकेर यहीँ बस्नुपर्‍यो भने पनि खानबस्नको चिन्ता थिएन । दुई-तीन दिन थकाइ मारेपछि पनि हिँड्न सकिएन भने के गर्ने भन्ने लाग्यो ।

निन्द्रा लागेन भने रात कटाउन जति गाह्रो काम केही हुँदैन जस्तो लाग्यो । मनमा कुरा खेलाउँदै ननिदाइ बस्दा बिहान ३ बजेछ । मोबाइलमा घण्टी बज्यो । मेरा श्रीमानले गर्नुभएको रहेछ । “हामी दुईवटा बाइक लिएर आउदैछौँ, तिमीहरू काल्चे डाडाँसम्म हिंडेर आओ,” उहाँले भन्नुभयो । मनमा कताकता आनन्द लाग्यो ।

बिहान ४ बजे भाइलाई उठाएँ । हात मुख धोएर १-१ गिलास पानी र दूध खाएर बाटो लाग्यौँ । उहाँहरूले हामीलाई काल्चे डाँडाभन्दा वरै भेट्नुभयो । त्यहाँबाट हामी बाइकमा गयौँ । कान्छा ससुरा बुबाको घरमा खाना खाएर एकछिन आराम गरेपछि म आफ्नो घर मेहेलकुनातिर लागेँ । भाइ सुर्खेततिर लाग्यो ।

घर पुगेपछि आनन्द लाग्यो । शरीरको थकाइ अनि मनका चिन्ता र बेचैनी हराएर गए ।

घासँदाउँरा काट्ने, खेतीपाती स्याहार्ने, तरकारी गोडमेल गर्ने, बिहान बेलुका खाना बनाउने काम गर्दा एक महिना बितेको पत्तै भएन । जागिर खाएको हो कि नखाएको हो भुल्न लागिसकेकी थिएँ । एक्कासि अफिसले फोन गरेर बोलायो । दुई दिन लगाएर अनलाइन पास लियौँ ।

मेरो भाइ सन्तोष ४ दिन अगाडि नै सुर्खेतबाट सल्यान गइसकेको थियो ।

म र मेरा श्रीमान बिहानै सल्यान हिँड्यौँ । लकडाउनले गर्दा बाटो सुनसान थियो । प्रकृतिले विश्राम लिइरहेको, जङ्गलमा जीवजनावर आनन्दले बसिरहे जस्तो लाग्यो । आधुनिक प्रविधिको प्रयोग र विकासले प्रकृतिलाई अस्वस्थ र अस्वच्छ बनाएका बेला लकडाउनले गर्दा प्रकृति स्वस्थ र स्वच्छ भएको महसुस हुन्थ्यो । प्रकृति संरक्षणका लागि भए पनि लकडाउन आवश्यक रहेछ जस्तो लाग्यो । आधुनिक साधनस्रोतले हामीलाई अल्छी, निर्दयी र स्वार्थी बनाइरहेको जस्तो पनि लाग्यो । यस्तै कुरा खेलाउँदै गर्दा सल्यानको लुहाम पुग्यौँ ।

सल्यान पुगेर मैले कोठा सफा गरें । भोलिपल्ट मेरा श्रीमानलाई नेपालगञ्ज जानुथियो । उहाँ हिँडेको २-३ घण्टापछि नेपालगञ्जमा कोरोना संकमित भएको भन्ने समाचार आयो । मेरो मन त्रसित भयो । मैले उहाँलाई फोन गरेर फर्केनुहोस् भनेँ, तर उहाँले मान्नुभएन । उहाँ नेपालगञ्ज पुग्नुभयो । मलाई उहाँको चिन्ताले सतायो । त्यसको केही दिनपछि नेपालगञ्जमा थप मानिसलाई कोरोना लागेको पुष्टि भयो । मलाई झन् तनाव भयो । उहाँलाई नेपालगञ्जबाट सुर्खेत फर्काउन धेरै प्रयास गरेँ । तर राजनीतिक पहुँच नभएका हामी जस्ता सर्वसाधारणले सवारी पास कसरी पाउनु र !

अन्ततः उहाँलाई जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित रहनुहोला भनेँ ।

यो लकडाउनले नौ डाँडापारिकालाई घर बोलायो । कसैलाई नौ डाँडापारि धकेल्यो । कोही परिवारसँग रम्न पाएका छौं । कोही एक्लै जीवन बिताइरहेका छौं । यसबीचमा हामीले परिवारमा एकअर्कालाई माया गरेका छौँ । मायाले जीवन जीउन सघाएको छ ।

आजभोलि डाक्टर, नर्स र सुरक्षाकर्मी र राष्ट्रसेवकले पाएको दुःख हेर्छु र आफू सुरक्षित महसुस गर्छु । उनीहरूलाई सलाम गर्न चाहन्छु ।

गाह्रो भो !

भैंसी थप्ने योजना अधुरै रह्यो लकडाउन कथा

भैंसी थप्ने योजना अधुरै रह्यो

लकडाउनमा सुत्केरी हुँदाको व्यथा लकडाउन कथा

लकडाउनमा सुत्केरी हुँदाको व्यथा

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।