दिलीप प्रताप खाँड

नगरको अभिभावक

भारतमा लकडाउन भइसकेपछि अब नेपालमा पनि कोरोनाले गर्दा लकडाउन हुन्छ भन्ने हामीलाई लाग्यो । त्यसैले हामीले कोरोनाबारे मानिसलाई सूचना दिनुपर्छ भन्ने ठान्यौँ । हामी सबै मिलेर नगरपालिकाभित्र टोलटोलमा माइकिङ गर्न थाल्यौं । कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश तयार गरेर चारवटा गाडीमा ती सन्देश बजाएर गाडी डुलायौँ । साथै स्थानीय टेलिभिजन, पम्पलेटमार्फत पनि हामीले घरघरमा प्रचार-प्रसार गर्‍यौं । मान्छे भयभीत नहोऊन्, सर्तक भने होऊन् भनेर लकडाउन हुनुअघि यसो गरेका थियौँ ।

 हाम्रो जिल्लाभन्दा बाहिरबाट आउने मान्छेको स्वास्थ्य जाँच गर्न वालिङ नगरपालिकाको मुख्य प्रवेश नाकामा हेल्थडेस्क राख्यौं । बाहिरबाट आउने मान्छेको ज्वरो थर्मल गनले जाँचेर ज्वरो आएको भए १४ दिन क्वारन्टिनमा राखेर मात्र घर जान दिने नियम बनायौं ।

बाँके, बर्दियाका धेरै मानिस लकडाउन भएपछि कास्कीमुस्ताङ जस्ता जिल्लाबाट वालिङ हुँदै पदैल घर फर्कंदै हुनुहुन्थ्यो । उहाँहरूको पाइतला फुटेर रगत बगेको थियो । यस्तो विपत्‌मा हामीले आफ्ना नगरवासीलाई मात्रै होइन अरूलाई पनि सहयोग गर्नुपर्छ भन्ने ठान्यौँ । उहाँहरूलाई वालिङमा खानाको व्यवस्था गर्‍यौं । अरू संघसंस्थालाई पनि सहयोग गर्न आह्वान गर्‍यौं । उहाँहरुले पनि बाटोबाटोमा पानीको व्यवस्था गरी सहयोग गर्नुभयो । एक रात वालिङमै बसाएर उहाँहरूलाई अर्को दिन घर जाने प्रबन्ध मिलायौं ।

लकडाउन लागू गरेको केही दिनपछि सरकारले लकडाउनले गर्दा हातमुख जोर्न समस्या भएका व्यक्ति, परिवार, समुदायलाई राहत वितरण कार्यविधि बनायो । हामीले त्यही कार्यविधिका अनुसार नगर कार्यपालिकाबाट निर्णय गरेर पहिलो चरणमा ३१ सय परिवारलाई राहत दियौं । अर्को पटक भने हामीले श्रममा जोड दियौं । एकल महिला, भिन्न क्षमताका साथै काम गर्न नसक्नेलाई राहत दिने व्यवस्था गर्‍यौं । त्यो पनि जाँचेर मात्रै राहत दिने गर्थ्यौं । जो काम गर्न सक्छन् उनीहरूलाई काममा बोलायौं । काम गरेबापत पैसा वा चामल दिने गरेका छौं । हामीले उनीहरूलाई कुपनमार्फत भुक्तानी दिने गरेका छौं । राहतले मान्छेलाई अल्छी बनाउँछ । लकडाउनले धेरैलाई दुःख भएको छ । त्यो कुरालाई ध्यान दिएर हामीले विकासका काम गर्न दिएका छौं, प्रशासनले रोक्न खोजे पनि ।

सुरुसुरुमा राहत वितरण गर्दा राहत दिनेले फोटो खिच्न थाले । हामीले कसैले फोटो खिचे राहत जफत गर्छौं भन्यौँ । मान्छेको आत्मसम्मानमा ठेस नपुगोस् भनेर राहत वितरण गर्दा फोटो खिच्ने प्रवृति रोकेका हौं । त्यसपछि फोटो खिचेर कसैले पनि सामाजिक सञ्जालमा राखेनन् । अहिले समस्या परेर राहत लिन बाध्य मानिसलाई विचरा बनाएर फोटो सार्वजनिक गर्नु त भएन नि । आज धनी भएको मानिस भोलि गरिब हुन सक्छ, आजको गरिब भोलिको धनी हुन सक्छ ।

अहिले आफ्नो घर फर्कने लहर चलेको छ । हामीलाई देश तथा विदेशका विभिन्न ठाउँबाट विशेष गरी भारतबाट फोन आउन थाले हामी आफ्नो घर फर्कन चाहन्छौं भनेर । उनीहरुले भनेका थिए — हामी आफ्नै ठाउँमा काम गर्न चाहन्छौं । हामीलाई आफ्नो ठाउँ आउने प्रबन्ध मिलाइदिनु पर्‍यो । हामीले घर आउन चाहनेहरूको तथ्यांक संकलन गर्न थाल्यौं । यस्तो विपत्‍मा आफ्ना नगरवासीलाई हामीले सहयोग नगरे कसले गर्छ भनेर हामी सबैले उहाँहरूलाई सुनौलीबाट घरसम्म ल्याउने निर्णय गर्‍यौं । अहिले हामीले एक दिनमा ४० जना जतिलाई सुनौलीदेखि यहाँसम्म बसमा ल्याउने गरेका छौं । यहाँ ल्याइसकेपछि चेकजाँच गरेर मात्रै घर पठाउने गरेका छौं । अहिलेसम्म हामीले दुई सयको आसपासमा बेड बनाएका छौं ।

पहिले पटक क्वारन्टिन बनाउँदा केही मान्छेले विरोध गरे । हामीलाई गालीगलौज गरे, धम्काए । पहिलो पटक क्वारन्टिनमा बसाउँदा अत्यन्त गाह्रो भएको थियो । कतिले ठूला कुरा गरे, तर्साए, पख्लास् तँलाई भोलि भोट चाहिएला पनि भने । तर हामीले उहाँहरूलाई सम्झायौँ । भोलि तपाईंलाई केही भयो भने कहाँ राख्ने ? अहिले विपत्‍मा एकअर्कालाई सहयोग नगरेर छिछि र दुर्दुरको व्यवहार गर्दा भोलि तपाईंलाई पनि अरूले त्यस्तै गर्‍यो भने तपाईंको मनमा कस्तो हुन्छ ? भनेर हामीले भन्यौं । वडा सदस्यदेखि लिएर राजनीति दलका सबै मिलेर सम्झायौँ । रोगसँग आत्तिने होइन, डराउने होइन सबैले योसँग लड्न साथ दिए हाम्रो गाउँमा यो रोग फैलदैन भनेर सम्झायौ । बिरामी हुनु अपराधी हुनु त होइन नि भनेपछि उहाँहरु निःशब्द हुनुभयो । उहाँहरूलाई आत्मग्लानि भयो होला । त्यसपछि उहाँहरूले हामीलाई साथ दिनुभयो ।

त्यसपछि हामीले आमा समूह जस्ता समूहको सहयोग लियौँ । उहाँहरूलाई टपरी गाँस्ने काम दियौँ । स्थानीय कल्बका मानिसहरूलाई एकअर्काबाट टाढै बसेर बिरामीहरूको सेवा र रोगबारे थप प्रचार-प्रसार गर्न लगायौं । यस्तो गर्दा एउटा त अपनत्व भयो । अर्को उनीहरूलाई पनि अहिलेको विपत्‍मा आफूले पनि योगदान गरेको अनुभूति भयो । त्यसैले पनि होला उहाँहरू अहिले आफूले सकेका तरकारी, खानेकुरा लिएर आउने गर्नुहुन्छ । ‘केही सहयोग चाहियो भने हामीलाई भन्नुहोला’ भन्नुहुन्छ । यो देख्दा मनमा आनन्द लागेको छ । आफ्ना नगरवासीले यसरी सहयोग गरिदिंदा मनै फुरुङ्ग भयो । मलाई काम गर्ने थप जोसजागँर आएको छ । अहिले क्वारन्टिनमा बस्नेहरूलाई ‘तपाईँहरु यहाँ बसेको १४ दिन भयो, घर जानुहुन्छ ?’ भन्दा ‘जति दिन बस्नुपर्छ बस्छौं’ भन्नहुन्छ । अहिले सबै जना सहयोगी हुनुभएको छ । नागरिकको सहयोगले गर्दा अहिले हामीलाई क्वारन्टिन चलाउन सजिलो भएको छ । पहिले त स्वास्थ्य सामग्री किन्न पनि गाह्रो भयो । मास्क कतै थिएन । त्यसपछि हामीले ब्लाकमा भए पनि स्वास्थ्य सामग्री किन्यौँ । अहिले भने सजिलो भएको छ । हामीले दीर्घरोगीका लागि लकडाउन हुनुअघि नै आठ महिनासम्म पुग्ने औषधी जम्मा गरेका थियौं । यहाँ नपाएका औषधी अरू जिल्लाबाट ल्याउने गर्छौं ।

चुनावका बेला हामी गाउँ जाँदा भोटको आश गरेर जान्थ्यौं । अहिले भने हरेक नागरिकप्रति दायित्वबोध भएको छ । यस्तो विपत्‍का बेला जनप्रतिनिधिले जनताको समस्या नसुने कसले सुन्छ कसले गर्छ भन्ने लाग्छ । म बिहान ८ बजे नगरपालिका पुग्छु । जनप्रतिनिधि र कर्मचारी त्यहाँ जम्मा हुन्छौं । भोलिपल्ट कसले के गर्ने भनेर अघिल्लै दिन हाम्रो छलफल भइसकेको हुन्छ । त्यही अनुसार हामी को कता जानुपर्ने हो जान्छौँ । साँझ फेरि कार्यालयमा जम्मा भई काम गर्दा कसलाई के अप्ठेरो भयो ? अवस्था कस्तो छ ? दिनभरिको विवरण हेर्छौं ।

 म अहिले आफ्नो घरको भन्दा पनि समाजको बढी अभिभावक हुँ । यसमा मेरो घरपरिवारले पनि साथ दिएका छन् । कार्यालयबाट म कहिलेकाहीं राति अबेर घर पुग्छु । आफ्नो घरमा अलगै कोठमा सुत्छु । खानपिन घरपरिवारले व्यवस्था गरिदिएका हुन्छन् । क्वारन्टिनको सुरुदेखि म आफ्नो घरमै आइसोलेसनमा बसेको छु । गाउँगाउँ जाने हुनाले मलाई कोराना सरिहालेमा पनि परिवारलाई नसरोस् भनेर म परिवारका सदस्यबाट टाढै बसेको छु ।

हामी अहिले विभिन्न सीपको प्रयोग गरी वालिङ नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लागेका छौं । सबै जना सकारात्मक देखिनुभएको छ । अहिले विभिन्न ठाउँबाट आउनुभएका नागरिहरूलाई हामीले जुन ठाउँबाट आउनुभएको हो त्यहाँ के काम गर्नुहुन्थ्यो भनेर कामको विवरण संकलन गरिरहेका छौं । त्यसका लागि छुट्टै टिम बनाएका छौँ । उहाँहरूको अनुभवका आधारमा रोजगारीका कार्यक्रम ल्याउने योजना बनाउँदै छौँ । यस पटकको बजेट हामीले त्यसैमा केन्द्रित गरेका छौं ।

यहाँका नागरिकमा पहिलेका तुलनामा अहिले डरत्रास केही कम भएको छ । सीमानाकामा कडाइ गर्दा झनै अप्ठेरो स्थिति आउन सक्छ, लुकीछिपी पनि मान्छे आफ्नो घर आउन खोज्छन् । त्यसका सट्टामा उनीहरूलाई ल्याएर स्वास्थ्य परीक्षण गरायो भने संक्रमण फैलन पाउँदैनथ्यो । तर खोइ सरकारले के गर्छ ? जे भए पनि हामीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ ।

राष्ट्रियता जमिन मात्रै होइन नागरिक र माटो दुवै हुन् । राहतको नाममा केन्द्र सरकारले सहयोग नगर्दा अलि मन दुखेको छ । हामीले हाम्रा नागरिकलाई बचाउन अरू विकास योजनाको बजेट प्रयोग गरिरहेका छौं ।

यो कथा स्याङ्जा वालिङ नगरपालिकाको नगरप्रमुख दिलीप प्रताप खाँड संग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

कोरोनामा कर्णाली प्रदेश

lockdown stories लकडाउनले सिकाएको पाठ

लकडाउनले सिकाएको पाठ

लकडाउनमा एक्लै हुँदा !

लकडाउनमा एक्लै हुँदा !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।