आइसक्दा गइसक्ने बिजुली

कोरोना भाइरसको संक्रमणले गर्दा कलेज अनिश्चितकालका लागि बिदा भयो । त्यसैले म २०७६ चैत ८ गते काठमाडौंबाट आफ्नो घर पर्साको रामनगरी फर्केँ । लकडाउन लम्बिदै गएपछि कलेजले वैशाख २ गतेदेखि अनलाइन कक्षा चलायो । अनलाइन कक्षा लिन छिमेकीको इन्टरनेट आफ्नोमा जडान गरेँ । एकदुई दिनपछि बिजुली गयो र तीन दिनसम्म आएन । तेस्रो दिन राति बत्ती आयो, २–३ घण्टापछि फेरि गयो । यस पटक ४ दिनपछि मात्र आयो । फेरि पनि २–३ घण्टापछि रातभर बिजुली काटियो । हिजो रातिदेखि हाम्रो गाउँमा बत्ती आएको छैन । हाम्रो छिमेकी गाउँ गर्दौल, बैरियामा यसरी बत्ती गएको छैन । रामनगरी, महुवन, विश्रामपुरतिर मात्रै यो समस्या छ ।

हालै जनता कार्यक्रममा प्रमुखज्यूले पोल ढलेकाले बिजुली नआएको बताउनुभयो । उहाँको यो कुराले हाम्रो चित्त बुझेन । किनकि गर्दौल र रामनगरीबीचमा विद्युतको पोल कहिले ढलेको छैन । हामी आफैले चेक गरेका छौं । पोल ढलेको भए पनि बनाउन चार दिन कसरी लाग्छ ? पोल सधैं रामनगरीमै मात्र ढल्ने हुन्छ ? गर्दौल, बैरियातिर कहिल्यै पोल ढल्दैन । यो विद्युत कार्यालय, पोखरियाको लापरबाही हो । त्यसबाहेक अरू केही हैन । बिजुली गयो भनेर कुरा गर्न १०–१२ चोटि फोन गर्दा फोन कहिल्यै उठ्दैन ।

वीरगन्ज र काठमाडौं जस्ता ठाउँमा नेपाल विद्युत प्राधिकरणको र्‍यापिड रेस्पोन्स टिम हुन्छ । यस टिमले २–३ घण्टामै बिजुली नआउने समस्या समाधान गर्छन् । तर हाम्रोतिर ४ दिन लाग्छ ।

बिजुली नभएर लगभग १० दिनदेखि मैले अनलाइन कक्षा लिन पाएको छैन । नेट चलाउन सकेको छैन, ल्यापटप चार्ज गर्न सकेको छैन । समाचार हेर्न, सुन्न पाएको छैन । पढाइ धेरै छुट्यो । यस्तै भइरहयो भने आगामी दिनमा पनि कक्षा छुट्छ । यसरी बत्ती नकाट्न र समस्या छिटो समाधान गरी निरन्तर बत्ती दिन हामी सम्पूर्ण विद्यार्थी, गाउँवासीहरु हार्दिक अनुरोध गर्दछौं ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।