पत्रिका लक हुदाँ मन खिन्न

म कविता खड्का । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित मध्य नेपाल मिडिया प्रा.लि द्वारा संचालित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिका तथा मध्य नेपाल डट कम अनलाइनको सम्पादक हुँ । २०७३ सालदेखि वीरगन्जका महिला पत्रकारहरूको सक्रियातामा पत्रिका प्रकाशन हुँदै आएको छ । एक वर्षअघिदेखि हामीले आफ्नै कलर छापाखाना संचालन गरी रंगीन पत्रिका प्रकाशित गरिरहेका छौं ।

हाम्रो पुस्ताले भोग्न परेका जटिल समस्यामध्ये ‘कोभिड-१९’ को महामारी सबैभन्दा ठूलो होला । यस महामारीले सिंगो विश्वलाई तहसनहस पारेको छ । यो पक्कै पनि डरलाग्दो र अकल्पनीय घटना हो । हामीले जुन सूचना पाइरहेका छौँ त्यसले भूलभुलैया सृजना गरिरहेको भान हुन्छ ।

कोरोनाले बिहान बेलुकीको छाक टार्न गाह्रो भएका गरिब, मजदुर, कामदारलाई सबैभन्दा बढी मारमा पारेको छ । यी वर्गका लागि ल्याइएका सामाजिक सुरक्षा र राहतका कार्यक्रम प्रभावकारी रूपले लागू नभएकाले र अनियमितता गर्नेलाई कडा कारबाही नभएकाले असफल भएका छन् । यो कुरा मेरो मनमा उकुसमुकुस भएर गाँठो परेको छ । कुन उपाय र कस्तो संयन्त्र अपनाउँदा मानिस उत्तरदायी बन्छन् भन्ने प्रश्नको जवाफ पाइँदैन ।

नोवेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको धेरै दिन भइसकेको छ । लकडाउनको पालना गर्दै र सावधानी अपनाउँदै हाम्रो टिमले आफ्नो काम निरन्तर गरिरहेको छ । कहिले घर त कहिले कार्यालयमा बसेर लकडाउनको समयमा मानिसले भोग्नुपरेका समस्याबारेमा निरन्तर सत्य तथ्य समाचार सम्प्रेरण गरिरहेका छौँ ।

लकडाउनका बेला पाठकसम्म पत्रिका पुर्‍याउन नपाउँदा हामीलाई बढी पिरोलो भएको छ । पत्रिकाको छापिएको कपी सबै पाठकसम्म सजिलो गरी पुर्‍याउन नसके तापनि पीडीएफ संस्करण र अनलाइनमार्फत समाचार पुर्‍याउने काम हामीले निरन्तर गरेका छौं  । तर पत्रिका पढ्दा पाइने सन्तुष्टि पाठकले पाएका छैनन् ।

पाठकले पनि हाम्रो समस्या बुझेका छन् । पत्रिका पढ्न नपाउँदा खल्लो भयो, कतै पत्रिका बन्द त हुँदैन ? लौ न कसरी पढन पाइन्छ ?  हामीले पत्रिका पाउने व्यवस्था मिलाउनुपर्‍यो भन्ने प्रश्न र अनुरोध पाठकले गरिराख्नुभएको छ । हामीले अहिले ईमेल, फेसबुक र अनलाइनका माध्यमबाट मात्र उहाँहरूलाई समाचार र लेख दिन सकेका छौँ । हाम्रा नियमित पाठकका कतिपय प्रश्नको चित्तबुझ्दो उत्तर दिन मैले सकेको छैन । प्रयास नगरेको भने होइन । तर के गर्ने सीप नभएपछि आफूले चाहेर पनि केही गर्न नसकिंदो रहेछ । अहिले मलाई त्यस्तै भएको छ । पत्रिका निकाल्दा हामी टिममा काम गर्दथ्यौं । सम्पादन तथा स्टोरी तयार गर्ने काम मेरो थियो । प्राविधिक कामतिर मैले ध्यान दिइनँ । त्यो सीप सिक्नेतर्फ मेरो ध्यान नै गएन । अहिले त्यही सीप नसिकेकोमा पछुतो भइरहेको छ । आफूले काम गर्ने क्षेत्रका लागि चाहिने सबै सीप हासिल गर्न जरुरी रहेछ भन्ने आज मलाई महसुस भएको छ ।

प्राविधिक सीप नसिकेकाले अहिले पत्रिका लेआउट गर्ने र छाप्ने काम म आफैंले गर्न सकेको छैन । अरूलाई बोलाएर यो काम गराउन पनि सकेको छैन । पर्याप्त सामग्री भएर पनि प्राविधिक सीप नहुनाले पत्रिका निकाल्न नपाएकोमा मलाई साह्रै दुःख लागेको छ । मैले दिने सूचना नै लक भए जस्तो लागेको छ । साधन भएर मात्रै नहुँदो रहेछ । साधनको उपयोग गर्ने तरिका पनि जान्नुपर्ने रहेछ ।

आमसंचारको भूमिका सामान्य अवस्थामा भन्दा अहिले बढी छ तर यस्तै बेलामा हाम्रो पत्रिका निकाल्न नपाउँदा मन खिन्न भएको छ । यसबाट मैले आफूलाई चाहिने सबै सीप समयमै सिक्नुपर्ने रहेछ भन्ने पाठ सिक्ने अवसर पाएँ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।