एसईई दिन नपाए पनि अरू परीक्षा दिन पाइयोस्

मेरो नाम महिमा रेग्मी हो । म अहिले १६ वर्षकी भएँ । पोखरा बिरौटामा बसेर मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीमा पढ्दै आएकी थिएँ । म २०७६ सालमा एसईई दिनुपर्ने विद्यार्थी हुँ । तर दुर्भाग्यवश कोरोना भाइरसको महामारीले हाम्रो परीक्षा स्थगित भयो ।

एसईई आउनभन्दा दुई महिना अगाडिदेखि होस्टेलमा बसेकी थिएँ । क्लासमा जहिले पनि राम्रो पोजिसनमा आइरहने भए पनि अझै धेरै नम्बर ल्याउन भनेर म होस्टेल गएँ । सबै साथीहरू त्यहीँ भएकाले पढाइसँगै रमाइलो पनि उत्तिकै हुन्थ्यो । सबैले भन्थे — एसईई भनेको फलामे ढोका हो, यसलाई पार गर्न गाह्रो हुन्छ तर पार चाहिँ जसरी पनि गर्नुपर्छ । यस्तो कुरा सुन्दा अलिकति जान्ने विद्यार्थी नै भए पनि मेरो मनमा कताकता डर लागिरहन्थयो । त्यसैले अरू सबै कुरा छाडेर पढाइमा मस्त हुने गर्थें म ।

परीक्षा दिइसकेपछि यो गर्छु, त्यो गर्छु भनेर प्लान बनाएकी थिएँ । ती प्लान सम्झँदा परीक्षा छिटो सकिए हुन्थ्यो जस्तो लाग्थ्यो । म होस्टेलमा बसेर एसईईको तयारी गरेका बेला कोरोना भाइरसले विश्वभर महामारीको रूप लिइसकेको रैछ । भाइरसले यस्तो भयानक अवस्था ल्याउँछ भन्ने कुरा थाहा थिएन । होस्टेल बसेको दुई महिना बितेको थियो । जाँचका लागि लगभग पूरै तयारी पनि सकिसकेको थियो । २०७६ चैत ६ गतेदेखि परीक्षा हुने थियो । त्यसैले ५ गते बिहान खाना खाएर प्रवेशपत्र लिन सरसँग स्कूलको बसमा आफ्नो परीक्षा केन्द्र गयौं । तयारी सबै भए पनि घरीघरी डर लागिरहेको थियो प्रश्न कस्ता आउने हुन् भनेर ।

यताउता गरेर दिन बित्यो । साँझ परेपछि एसईई परीक्षा स्थगित भयो रे भन्ने तीतो समाचार सुन्नुपर्‍यो । यो खबर सुन्नासाथ म एक्कासि छाँगाबाट खसेजस्तै भएँ । मेरा सबै साथीहरू पनि त्यस्तै भए । त्यो दिन खाना पनि खान मन लागेन । मनमा के के कुरा मात्र खेलिरहे । हाम्रै पालामा किन यस्तो हुनुपरेको होला भनेर ।

भोलिपल्ट ६ गते बिहानै बिउँझिएँ । बिस्तारामै थिएँ । साथीहरू ड्रेस लगाएर बसेका थिए । उनीहरूले भने — महिमा, हामी आज यस्तै भएर परीक्षा दिन जान्थ्यौं होला है । अब यसरी ड्रेस लगाएर चित्त बुझाउनुपर्‍यो । त्यति बेला मेरा आँखा रसाएका थिए । मलाई सपना देखेजस्तो लाग्यो ।

परीक्षा दिइन्छ भनेर ढुक्क भएका थियौँ । परीक्षा दिन नपाएर फेरि घरमै फर्किएर परीक्षाको मिति कुरेर बस्नुपर्छ भनेर कसलाई थाहा थियो र !

एक वर्षसम्म मेहनत गरेर परीक्षा सकेपछि ढुक्क भएर काठमाडौं र मधेसमा भएका आफन्तकहाँ जान्छु, बिदा भएको बेला टन्न घुमेर रमाइलो गर्छु भन्ने सोचेकी थिएँ । तर भाइरसले मेरा सबै सपनाको हत्या गरिदियो ।

परीक्षा त दिन पाइएन पाइएन । त्यसमाथि लकडाउनले गर्दा घरबाटै बाहिर निस्कन पनि बन्देज भयो । सुरुको दुई-चार दिन त मलाई सपना जस्तो मात्र लागेको थियो । भर्खर के भयो भन्ने कुरा पनि याद नहुने । अलिकति झट्का लागेको थियो मेरो दिमागमा । तर अलि दिनपछि फेरि सामान्य अवस्थामा आएर घर बसेँ । पढ्न पनि थालेकी थिएँ । लकडाउन खुले लगत्तै परीक्षा हुनसक्ने भन्ने समाचार आएकाले मन नलागे पनि पढ्न बाध्य थिएँ । तर लकडाउनको मिति थपिदै जाँदा अब त यस्तै होला भनेर कत्ति पनि पढिनँ ।

परीक्षाबारेमा केही भनी पो हाल्छ कि भनेर कान ठाडो बनाएर समाचार पनि हेरिराखेकै हुन्थें । राम्रोसँग निन्द्रा नपुर्‍याई मेहनत गरेर अन्त्यमा फल लिन नपाउँदा नराम्रो लागेको छ तर पूरै देश संकटमा परेका बेला सरकारले परीक्षाबारे सोचेन, शिक्षामन्त्री केही बोलेन भनेर गनगन गर्न पनि मन लागेन । स्कूलबाट मिस सरहरूले फोन गरिरहनुहुन्थ्यो । परीक्षाको केही अत्तोपत्तो छैन भनेर सम्झाइरहनुहुन्थ्यो । पढ्न चाहिँ नछोड भनेर भन्नुहुन्थ्यो ।

अलि अगाडि त अनलाइन कक्षा लिने कुरा पनि गर्नुभएको थियो तर गाउँमा इन्टरनेट सुविधा नभएकोले मैले क्लास लिन सकिनँ । म मात्र हैन मेरा अरू साथीहरूको पनि असुविधाले गर्दा अनलाइन क्लास सम्भव भएन । त्यो कुरा यतिकै हरायो ।

दुई महिना बितिसक्दा पनि कुनै खबर नआएपछि कताकता अब परीक्षा हुँदैन होला जस्तो लाग्न थालिसकेको थियो । कक्षाको क्रियाकलापका आधारमा सबैको रिजल्ट निकाल्ने रे भन्ने पहिला पनि समाचारमा सुनेकी थिएँ । त्यस्तो भइहाल्यो भने पनि अब के गर्ने त ठिकै छ जस्तो लाग्थ्यो । मेरो कक्षाका क्रियाकलाप राम्रै थिए तर अझै पढेर परीक्षा दिन पाएको भए झन् सोचेजस्तो नम्बर ल्याउन सक्थें भनेर मनमा नराम्रो पनि लाग्थ्यो ।

घरपरिवारमा पनि सबैले मलाई सम्झाइरहनुहुन्थ्यो — परीक्षा दिन पाइएन भनेर पिर नगर, तिमी एक जना मात्र होइन तिमीजस्ता कैयौं विद्यार्थी अहिले अलपत्र परिरहेका छन् । त्यसैले नराम्रो नठान । बरु समय मिलाएर पढाइका साथै अरू कुरा पनि गर्दै गर ।

खुसी पनि लाग्छ समय र परिस्थिति अनुसार सबैले आफूलाई सम्झाएको देख्दा ।

गुनासो पनि कोसँग गर्ने र ! सरकारले आफ्नो मनमर्जीले बन्द गरेको होइन । भाइरसले गर्दा परेको बाध्यता हो । अब एसईई परीक्षा नहुने नै भयो । बरु यो समयमा सरकारले तय गरेको लकडाउनको पालना गरेर देशको एउटा असल नागरिक हुने परीक्षा चाहिँ पास गर्नुपर्छ । एसईई परीक्षा त दिन पाइनँ तर स्कूलको परीक्षा रोकिएर लकडाउनमा घर बस्दा जिन्दगीका अरू परीक्षाका लागि चाहिँ तयार हुँदै गरेकी छु जस्तो लागिरहेको छ । आजसम्म सधैंभरि पढाइ पढाइ भनेर अरू केही काममा ध्यान नदिने म अहिले घरका सबै काम गर्न सिक्दैछु ।

विद्यार्थी भएका नाताले परीक्षा दिन नपाउँदा भित्रभित्र सरकारको निर्णयप्रति रिस पनि उठेको थियो । परीक्षा स्थगित गर्ने कुरा हाम्रो परीक्षा सुरु हुने मितिभन्दा एकदिन अगाडि मात्रै तय भएको थियो । पहिल्यै थाहा भएको भए त आफ्नो दिमागलाई त्यही अनुसार तयार गर्नुहुन्थ्यो । एकैचोटि झट्का लाग्दैनथ्यो होला तर अन्तिम समयमा आएर परीक्षा स्थगित भयो रे भन्दा हामीलाई रिस उठ्नु पनि स्वाभाविकै हो । होइन र ?

भाइरसको त्रास छिटो सकियोस् । लकडाउन खुलेर परीक्षा दिन पाइयोस् भन्नु त भएन किनकि परीक्षा नहुने भन्ने निर्णय आइसक्या छ । तर आन्तरिक मूल्यांकन चित्तबुझ्दो होस्, त्यसमा झेल भयो भने फेरि परीक्षा नै लिइदिएको हुन्थ्यो जस्तो चुकचुक नहोस् । अनि थप अध्ययनका कक्षा विना कठिनाइ पढेर राम्रोसँग परीक्षा दिएर पार गर्न पाइयोस् । परीक्षा नहुने भएपछि मैले अब जाँगर नलागे पनि पढ्नुपरेको छैन । मेरो ध्यान नयाँ कुरा सिक्नेतिर लगाउन पाएकी छु । आशा गरौँ दु:खका दिन छिट्टै सकिनेछन् ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।