काम थाल्ने बेला कोरोना !

म विदेशको काम छोडेर ११ महिना पहिले नेपाल फर्किएको थिएँ । कामका लागि दुई पटक विदेश गएको थिएँ । कमाइ ठिकै थियो तर चित्तबुझ्दो थिएन । अलिकति पैसा जम्मा गरेको थिएँ । यतै स्वदेशमा केही गर्ने विचार पहिलैदेखि थियो ।

नेपाल फर्केपछि हामी तीन दाजुभाइ मिलेर आधुनिक तरिकाले बाख्रा र कुखुरा फर्म खोल्ने योजना बनायौँ । सबैले सात-सात लाख रकम लगानी गर्ने भयौँ । भर्खर विदेशबाट आएकाले मलाई पैसाको तनाव थिएन । माइलादाइको पनि भर्खरै सेनाको पेन्सन पाकेको, साहिंलादाइको आफ्नै सीम र रिचाज कार्डको व्यवसाय थियो। सेयरबजार तल गएदेखि नै सेयर बेच्ने विचार छोडेको थिएँ । घटेको बेलामा घाटा खाएर किन बेच्नु भनेर बेचिन।

बरु दुई-तीन महिनाका लागि ऋण लिएर काम सुरु गर्ने निर्णय भयो । लकडाउनभन्दा केही हप्ता अगाडि नै तीन भाइ मिलेर पैसा जम्मा गर्‍यौं। कतैबाट ब्याजी पैसा ५ लाख मिलायौँ । वार्षिक २४ प्रतिशत ब्याजमा ऋण लियौँ । ‘सिद्धबाबा धादिङ कृषि फर्म प्राइभेट लिमिटेड’ नाममा हाम्रो फर्म पनि दर्ता भइसकेको छ । दुई सय ओटा बाख्रालाई हुने आधुनिक खोर बनिसकेको छ। निर्माणको काम पाँच प्रतिशत बाँकी छ। मैले नुवाकोट गएर बाख्रापालनबारे तालिम पनि लिइसकेको थिएँ । तर लकडाउन भएको यतिका समय भइसक्यो । ब्याज मात्रै बीस हजार भइसकेको छ । काम सुरु हुन सकेको छैन।

मैले स्वदेशमै काम गर्ने निधो भएपछि श्रीमतीको चलिरहेको ब्युटीपार्लर पनि बिक्री गरेका थियौँ । चार महिना अगाडि मात्र काठमाडौंबाट हामी धादिङ फर्केका थियौँ।

यो दशैंमा खसी र दुई लट जति कुखुरा बेच्ने सपना थियो। बाख्रालाई घाँस खुवाउन भनेर फर्म सुरु गर्ने भन्ने बित्तिकै घाँस र बिरुवा रोपिसकेका थियौँ । पाखा र बारीभरि घाँस छ । जग्गा खारेर ठूलो चौर बनिसकेको छ। हामी सबैमा जोस र जाँगर धेरै थियो । छिटै राम्रो प्रगति गर्ने सपना थियो। अहिले २०० ओटा बाख्रा अटाउने खाली खोर देखेर मनोबल कमजोर भएको छ । आज खुल्ला, भोलि खुल्ला भन्दाभन्दै यति महिना बितिसक्यो। खुल्ने छाँटकाँट छैन।

हामी काम गरेर खाने मान्छेलाई लकडाउनले मानसिक तनाव दिएको छ । पाखाभरिको घाँस र रित्तो खोर देख्दा मन कुँडिन्छ। हाम्रो १५ लाखभन्दा बढी लगानी भएको छ। त्यो देखेर दिक्दार लाग्नु स्वाभाविक नै हो । जसले जे भने पनि कोरोनाभन्दा आफ्नै घर व्यवहारको बढी तनाव छ ।

धन्न हामीले काम सुरु गरेनौँ भन्ने चाहिँ कहिले लागेन । मुख्य काम सुरु नगरे तापनि लगानी हुने ठाउँमा भइसकेको छ। हामीले गरिरहेका अरू काम पनि छोडिसकेका छौँ। समय पनि खर्च भइसकेको छ । हामी काम गर्न मात्र चाहन्छौँ ।

वास्तवमा कोरोनाको महामारी यति लम्बिएला भन्ने मैले सोचेकै थिएन । एकदुई हप्ताको मात्र कुरा होला भन्ने लागेको थियो । अब यो कोरोना कहिले सकिएला र काम फेरि सञ्चालन गरौँला भन्ने लागेको छ।

बोयर बाख्रा पालुँला, १ पटक बोका लगाएको १००० बोयर जातको पाठी जन्मिए पेटमै बिक्छ । कुखुरा ४५/ ४५ दिनमा तयार हुन्छ भन्ने विश्वस्त थियौं। तर सुरु नै हुन सकेन ।

यो कथा रूपक भण्डारी संग गरीएको कुराकानीमा रहेर कैलाश  न्यौपानेले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।