आफ्नो सुरक्षा आफैँ

आज लकडाउनको ८५औं दिन ! लकडाउनमा बिताएका दिनबारे कसरी व्यक्त गरूँ भनेर मैले मेसो पाएकी छैन । यी दिनहरूलाई म राम्रो भनौं कि दिक्दारलाग्दो भनौं भनेर म अलमिलएकी छु । यस्तो कुरा भुल्न म घरी नयाँनयाँ परिकार बनाउँछु घरी टिकटकमा फरकफरक आइडिया लगाएर भिडियो बनाउँछु ।

तैपनि अहँ मन खुसी हुन्न । खाना खानेहरू र टिकटक हेर्नेहरू गज्जब भनेर कमेन्ट गर्छन् तर आफूलाई भने यी काम समय बिताउन मात्र गरेको हो, खास होइन जस्तो लाग्छ । धन्न मेरा चार जना दिदीबहिनी भएकाले मलाई केही राहत भएको छ । नत्र त एक्लोपनले पागल बनाउँथ्यो होला । यस्तो बेलामा ठूलो परिवारको महत्व हुने रहेछ । कसैले अनुसन्धान गरेको छ कि छैन थाहा छैन तर ठूलो परिवारमा हुनेहरू सानो परिवारमा हुनेहरूभन्दा बढी खुसी र कम निराश हुन्छन् होला ।

चैत ११ गतेबाट सुरु भएको लक्ड दिन आज असार ६ गतेसम्म आइसक्दा पनि यथावत् छ । निजी गाडी चलाउन र हिँड्न पाउने नियम आउँदा मलाई खास केही फरक परेको छैन । आफ्नो गाडी नभएका हामीहरूलाई सार्वजनिक गाडी नखुलेसम्म के खुकुलो के राहत ।

लकडाउनका तीन महिना चैत, वैशाख, जेठको लक्ड लाइफमा मेरो पढाइदेखि लिएर काम अनि सामाजिक जीवन पूरै लक्ड भयो । मेरो मात्र होइन शायद सबैको ।

कलेज सकिन सकिन आटेको थियो । अब के हुने हो थाहा छैन । काम भर्खर भर्खर सिक्दै थिएँ । त्यो पनि के हुने हो थाहा छैन । पूरै अन्योल छ । कोरोना महामारी जस्तै मेरो भविष्य पनि पूरै अन्योल भए जस्तो लाग्छ घरीघरी । अन्योल कुन हिसाबले भने अब धेरैले रोजगारी नपाउने सम्भावना छ, धेरैले रोजगारी गुमाउने सम्भावना छ भन्ने हल्ला छ । कामको भविष्य खतरामा हुँदा आफ्नो भविष्य पनि खतरामा पर्छ । यस्तो डरले गर्दा साह्रै दिक्क लागेको छ किनभने कामको दुनियाँमा भिड्नलाई हामी भर्खर तयार हुँदै थियौं ।

तैपनि दाइ दिदीहरूसँग कुरा गरेर सकारात्मक हुन खोज्छु । अरू उपाय पनि त छैन । सधैं नकारात्मक भएर निरास हुनुभन्दा जे जस्तो अवस्था छ त्यसलाई स्वीकारेर समाधानका उपाय खोज्नु उचित हो भनेर नयाँनयाँ कुरा सिक्न खोजिरहेकी छु ।

म सामाजिक मान्छे । काम नभए पनि घरी कहाँ घरी कहाँ डुलिरहनुपर्ने बानी हुन्छ । घरी कामले घरी साथीहरूसँग त घरी केही सामाजिक काममा भ्याएसम्म पुगिहाल्ने बानी छ मेरो । लकडाउनमा सामाजिक जीवनको के कुरा गर्नु ? यसरी म घर बस्दा मलाई मात्र होइन मेरो परिवारलाई पनि अचम्म लागेको छ । उस्तै परे शनिबार पनि घरमा बास हुन्नथ्यो मेरो । केही काम नहुँदा पनि मोमो चाख्ने बहानाले बसन्तपुर जान्थेँ, चिया खाने बहानाले भृकुटीमण्डप र समोसा खाने बहानाले टिपटप जान्थेँ । चोकमा चटपट खाने बहानाले साथीहरूसँग गफ्फिन कुदिहाल्थेँ । आजकल बसन्तपुर र अरू गल्लीको त कुरै छाडौं घर अगाडि निस्कन पनि कति पटक सोच्नुपर्छ । पढाइ र कामको हिसाबले मात्र होइन डुल्ने हिसाबले पनि लक्डडाउनको समय बडो उराठलाग्दो हुने रहेछ । शान्त र स्वतन्त्र भएर बस्यो भने कुनै कुरामा ध्यान केन्द्रित हुन्छ भन्थे मान्छेहरू । तर मेरो सातोपुत्लो उडिसक्यो । धन्न मेरा ममीहरू घरमा बस्न सक्नुहुँदो रहेछ । मलाई अहिले उहाँहरू देखेर बडो अचम्म लाग्छ ।

जाबो मान्छेको के कुरा गर्नु ! लकडाउनले त भगवानको चहलपहललाई समेत रोकिदिएको छ । यसअघि हाम्रो जात्रा रोकिएको मलाई थाहा थिएन । उहिलेदेखि चलिआएको भगवानको रथयात्रा समेत रोकिदियो यो कोरोनाले । कत्रो तागत रहेछ यस भाइरससँग !

मलाई जात्रा एकदम मनपर्छ । म समाजमा घुलमिल गर्न रुचाउने मान्छे भएर पनि होला । जात्रा एक वर्षमा बल्लबल्ल एक पटक आउँछ । आफन्तहरूसँग भेटघाट गर्न, भीडभाडमा रमाउन, रथ तानेको दृश्य हेर्न, भोज खान, धिम्या बाजा बजेको सुन्न, धिम्याको तालमा सडकमा नाच्न कम्ता रमाइलो हुन्न । तर के गर्नु यो वर्ष जात्रा बिनै, सुनसानमै सकियो । भाइरसको तागत ठूलो हो कि भगवानको तागत सानो ? आफ्नो उत्सव मनाउन नपाएर भगवान पनि लाचार भएको देखेर मलाई दिक्क लाग्यो ।

भगवान भरोसाले गर्दा कोरोनाले हाम्रोमा उस्तो आतंक मच्चिएको छैन भनेर मानिसहरू भन्थे । खै त्यस्तो त कहाँ होला र ! भगवानको कुरो भगवानलाई नै थाहा होला । तर पशुपतिनाथले जोगाउँछन् भनेर बस्यो भने अबको केही दिनमा हाम्रो हालत इटाली, फ्रान्स, बेलायत, अमेरिकाको जस्तो हुन बेर लाग्दैन ।

रुघाखोकी पचाए जस्तै गरी पचाइदिनुपर्छ यो भाइरसलाई भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो । समाचारमा उहाँको यस्तो कुरा सुन्दा त्यसो भए यत्रो दिनदेखि हामीलाई किन घरभित्र थुनेको त भन्ने लाग्यो ?

संक्रमित दिनदिनै बढ्दै छन् तर सुरक्षातिर हाम्रो ध्यान भने घट्दो छ । टोल तिरको चटपटे पसल, चिया पसल, तरकारी पसलतिर मान्छे सल्बलाइरहेका छन् । यस्तो देख्दा लाग्छ मान्छेहरूलाई आफ्नो बानी आफ्नो जीवनभन्दा पनि प्यारो लाग्दो रहेछ । त्यही भएर त मानिस आफ्नो जीवनलाई जोखिखममा पारेरै भए पनि आफ्नो बानी, आफ्नो मनको इच्छा पूरा गर्नतिर लाग्छ ।

तर म चाहिँ अहिले यस्तो गर्दिनँ । हामी सतर्क हुनैपर्छ नत्र हामीलाई कोरोना लाग्न बेर लाग्दैन । जीवनमा रोगसँग कहिल्यै खेलाँची गर्नु हुन्न । यसले न धनी भन्छ न गरिब भन्छ न पशुपतिनाथको देशको भन्छ न त ओली या ट्रम्पको देश भन्छ, न काठमाडौंको भन्छ न सीमामा रहेको जिल्लाको न भारतबाट आएका मजदुर भन्छ न सुटबुट लाएर अफिसमा काम गर्ने मान्छे भन्छ । त्यसैले आफू जति बढी सतर्क भयो त्यति राम्रो । मेरो स्वास्थ्यका लागि सबैभन्दा जिम्मेवार व्यक्ति म आफै हुँ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।