मिडियाले नबुझिदिंदा नरमाइलो लाग्छ

सेती प्रादेशिक अस्पतालमा मेडिकल टेक्नोलोजिस्ट भएर तीन वर्षदेखि काम गरिराखेकी छु । सुरुमा एचआईभी बिरामीमा भाइरल लोड कति छ भनेर पीसीआर चलाउँथेँ ।

कोरोनाको त्रास बढेपछि हाम्रोमा पनि पीसीआर सेटअप भयो । त्यतिखेर सेती प्रादेशिक अस्पतालमा टेक्नोलोजिस्ट धेरै नभएकाले म एचआईभी भाइरल लोड युनिटबाट कोरोना परीक्षणका लागि आएँ । त्यतिबेला हामी चार जनाले गर्ने गरेका थियौँ पीसीआर चलाउने काम । कोरोना एचआईभी जस्तो नभएर भयावह रहेछ ।

सुरुमा हामीलाई चाहिने खालको पीसीआर मसिन भएन । धनगढीको भेटेनरीमा हामीलाई चाहिने, मज्जाको सेटअप रहेछ । २०७७ वैशाख २ गते हामी भेटेनरीको ल्याबमा ट्रान्सफर भएर आयौँ । अहिलेसम्म हामीले यहीँबाटै कोरोनाको पीसीआर टेष्ट गरिराखेका छौं । अहिले ल्याबमा हामी नौ जना छौं ।

नेपालमा कोरोना पोजेटिभ केस नभएका बेला हामीलाई केही डर लागेको थिएन तर पोजेटिभ केस भेटिएपछि एकदमै डर लाग्यो । हामीलाई डर लाग्नु स्वाभाविक पनि थियो । अस्पताल जानै पर्यो । यस्तो बेला आफ्नो कर्तव्यबाट हट्नु पनि कसरी ? सासूआमा ७५ वर्ष नाघ्नुभएको छ । मेरो सानो बाबु साढे २ वर्षको छ । मलाई घरमा बस्न खतरा हुन्छ जस्तो लाग्यो । बाबुलाई दूध खुवाउनुपर्ने भएकाले बाहिर बस्न पनि नमिल्ने । क्वारेन्टाइनमा बस्न पनि नमिल्ने । पहिले घरमा कहिलेकाहीं कोही नहुँदा बाबुलाई आफैसँग लिएर आउने गर्थें ।

मेरो श्रीमान् सेती अस्पतालमा डाक्टर हुनुहुन्छ । मेरो श्रीमान्लाई पनि डर त छ । तर पनि हामी दुवै एकअर्कालाई सपोर्ट गर्छौं । साथै हाम्रो घरपरिवारले पनि साथ दिइराख्नु भएको छ । पहिलादेखि नै हामी दुवै मेडिकल क्षेत्रमा काम गर्ने भएर पनि होला घरकाले त्यस्तो त केही भन्नु हुन्न । सबैबाट सहयोग पाएकाले म कामबाट पछि हटेकी छैन ।

डर आफ्नो ठाउँमा छ । नयाँ अनुभव अनि नयाँ अवसर पनि प्राप्त भएको छ । हामीले न गरे कसले गर्ने ? आफूले पढेकै काम गर्नुपर्‍यो । पढ्दाखेरि पीसीआरको बारेमा पढेको मात्रै थिएँ । अहिले पूरै व्यावहारिक ज्ञान हासिल गर्न पाएकी छु ।

पहिलोपल्ट हातमा पीपीई पर्दा जिम्मेवारी बढेको महसुस भएको थियो । त्यो लगाएर ल्याबमा छिर्दा चाहिं यो काम गर्न सक्छु भन्ने आत्मबल बढ्यो । एक प्रकारको गर्व महसुस गरेँ । ल्याबमा बिहान र बेलुकाको सिफ्ट हुन्छ । कहिले बिहान त कहिले बेलुकाको सिफ्ट पर्छ मेरो । कहिले घर फर्कंदा रातिको १० पनि बज्छ । बाबुलाई उठाएर एकपटक दूध भने खुवाइहाल्छु ।

ल्याबमा एक पटकमा हामी तीन जना काम गर्ने गर्छौं । धेरै ध्यान दिएर काम गर्छौं । हामी सावधान पनि छौँ । यसअघि यति धेरै सावधान भएका थिएनौं । त्यसले गर्दा पनि अहिलेसम्म गल्ती भएको छैन, भविष्यमा पनि नहोला ।

अहिले गर्मी छ । पीपीई लगाउँदा निस्सासिइन्छ । त्यति बानी नपरेर पनि होला कहिलेकाहीं त आफ्नै सासले गर्दा बाफ भरिन्छ । आँखाभरि बादलै बादल लागे जस्तो हुन्छ । कहिलेकाहीं त आफैलाई हाँस उठ्छ ।

मेडिकल ल्याब भन्ने बित्तिकै मान्छेहरु प्रायः दिसापिसाब रगत परीक्षण हुने ठाउँ भन्ने ठान्छन् । अहिले कोरोनाले गर्दा ल्याबको महत्व अलिकति भए पनि बढेको छ । ल्याबको मान्छेलाई हेर्न दृष्टिकोण पनि फेरिएको छ । अलि राम्रो नजरले हेर्ने गर्छन् हामीलाई । पहिला त अस्पताल व्यवस्थापनले पनि हामीलाई सानो ठाउँ दिन्थ्यो । कतै त ल्याबलाई भर्‍याङमुनि राखिन्थ्यो, जुन ठाउँ अरू काममा आएको छैन त्यहाँ राख्ने गरिन्थ्यो ।

अरूले आफूलाई दिसापिसाब र रगत चेक गर्ने मान्छे भन्दा मलाई कहिलेकाहीं त यो विषय किन पढेछु जस्तो हुन्थ्यो । कसैले के पढेको भनेर सोध्दा ल्याबसँग सम्बन्धित विषय पढेको भन्दा मानिसले बुभ्दैनथे । उहनीहरुलाई बुझाउने गर्थें । पढेलेखेका मान्छेहरुले नै नबुझिदिंदा पनि यो विषय बेकार पढेछु जस्तो लाग्थ्यो ।

अहिले ल्याबको महत्व बढेको छ । ल्याब राम्रो भए रिपोर्ट पनि राम्रो आउँछ भन्ने कुरा मानिसले बुझेका छन् । भन्न त नहुने हो तर कोरोनाले गर्दा ल्याब क्षेत्रलाई फाइदै पुगेको छ । अहिले हाम्रो ल्याबमा रगत, दिसापिसाब जाँच मात्रै होइन त्यसबाहेक पीसीआर मेसिन पनि सञ्चालन छ । आफूले ल्याब पढेर राम्रो गरेकी रहेछु भनेर पहिलो पटक खुसी लागेको छ ।

जनरल ल्याब र कोरोना परीक्षण ल्याबमा काम गर्दा फरक हुने रहेछ । हुन त मैले एचआईभी संक्रमण परीक्षणका लागि पीसीआर मेसिन चलाउँथेँ । त्यो अटोमेटिक थियो । अहिले सबै हातले चलाउनुपर्छ । कहिलेकाहीं संक्रमण हुने हो कि भनेर डर लाग्छ । मलाई केही भएका खण्डमा बाबुको भविष्य के होला भनेर पीर लाग्छ  । सावधान भएर काम गर्छु भन्दाभन्दै कहिलेकाहीं गल्ती हुने हो कि भनेर बच्चाको याद आउँछ । यो काम बेकार गरे जस्तो पनि लाग्छ । तर पनि जिम्मेवारी लिइसकेपछि काम गर्नै पर्‍यो । त्यसैले मनमा उत्साह र दृढ विश्वासका साथ काम गरिरहेकी छु ।

पहिलो पटक धनगढीमा कोरोना पोजेटिभ केस देखिंदा मेरो मम्मी र बाबा (माइतीघरमा) आत्तिनु भएको थियो । मलाई फोन गरेर भोलि बिहानै एक पटक जसरी हुन्छ घर आइज भन्नुभयो । मैले फोनमै कुरा गरौँ भन्दा मान्नु भएन । भोलिपल्ट के रहेछ त भनेर माइतीघर पुगेँ । पुग्नै बित्तिकै मम्मीले रुँदै ‘जागिर छोड्दे, केही गर्नु पर्दैन, हामी रातभरि सुत्न सकेका छैनौं’ भन्नुभयो । बाबा पनि रुनुभयो । आमा बुबाको मन न हो ।

पछि सम्झाएँ —  त्यस्तो केही हुँदैन, हामीले बिरामीलाई छुनु पर्दैन, सुरक्षा साम्रगी लगाएको हुन्छ भनेर । बल्लबल्ल मान्नुभयो ।

त्यपछि पनि समयसमयमा फोन गरेर मम्मी बाबाले के कस्तो छ भनेर मेरो चिन्ता गरिराख्नुहुन्थ्यो । मलाई केही भइहाल्यो भने बाबुको भविष्य के होला भन्ने चिन्ता पर्थ्यो उहाँहरुलाई । त्यति बेला भेट हुँदा देखिने पहिलो प्रतिक्रिया नै आँखाभरि आँसु हुन्थ्यो । अहिले भने सबैलाई बानी परिसक्यो । अहिले फोनमा कुरा हुँदा पनि पहिलेको जस्तो आत्तिनु हुँदैन । कहिलेकाहीं माइत पनि जान्छु । बाबुलाई दिनभरि त्यहाँ छोडिदिन्छु ।

हुन त  पीपीई लगाए पनि विदेशमा कति स्वास्थ्य कर्मचारी कोरोना लागेर मरेका पनि छन् । यस्तो कुराले मनमा डर त लाग्छ नै । आफूसँग अलि नजिक भएकाहरु चाहिँ यस्तो काम गर्दा कस्तो डर लाग्ने है भन्छन् । तर चित्त बुझाउनका लागि आफू सुरक्षित छु भन्ने ठान्छु । निराश हुन्नँ ।

काम गर्दा आफ्नो टिमबाट राम्रै सहयोग पाएकी छु । अस्पतालमा पनि अरु कर्मचारीहरुले राम्रो गरिराखेकी छौ भन्नुहुन्छ । धेरै साथीहरुले ‘यु ह्याभ डन अ गे्रट जब’ भनेर म्यासेज पठाउँछन् । त्यो देख्दा धेरै खुसी लाग्छ । काम गर्ने हौसला बढछ ।

एकदिन भने मलाई एकदमै विरक्त लागेको थियो । सुरुमा हाम्रोमा नेगेटिभ केस आइरहेका थिए । तर केही स्थानीय मिडियामा धनगढीको पीसीआर परीक्षणमा सबै नेगेटिभ आयो, परीक्षण प्रभावकारी भएन, काम गर्ने मान्छे कुशल छैनन् कि क्या हो ? राम्ररी परीक्षण गरेनन् भन्ने जस्ता समाचार आए ।

त्यस्तो समाचार आउँदा नराम्रो लाग्यो । काम गर्न मनै नलाग्ने । मिडिया भन्दैमा जे पनि प्रसार त गर्न पाइन्न नि । तथ्य बुझाउनुपर्छ नि । यहाँ हामी मरीमरी काम गरिराखेका छौं आफ्नो घरपरिवार छोडेर । कति जना साथीहरु होटेलमा बसिराख्नुभएको छ । डडेलधुरा र काठमाडौंबाट आएर याहाँ काम गरिराख्नुभएको छ । यस्तोमा झूटा खबर आउँदा नरमाइलो लाग्ने । नेगेटिभ आउनु त राम्रो हो नि झन् । हामी ल्याबमा परीक्षण गर्दा हे भगवान् नेगेटिभ आओस् भनेर प्रार्थना गर्ने गर्छौं । यहाँ मिडिया भने पोजेटिभ किन आएन भन्छन् । अच्चम लाग्छ !

अहिले पनि मान्छेहरु विदेशबाट आफ्नो घर फर्किरहेका छन् । लकडाउनमा सिमानाबाट मान्छेहरु भित्रिएका बेला र्‍यापिड टेष्ट गरेको भए त्यसले कभर गर्थ्यो होला । अनि लकडाउन पनि चाँडै खुकुलो हुन्थ्यो होला । अहिले कोरोना संक्रमित दिनदिनै बढिरहेका छन् तर लकडाउन भने खुकुलो पारिएको छ ।

हुन त लकडाउन थपेर मात्रै पनि भएन । मानिसले खानु परिहाल्यो । हुनेखानेले त खानेहकुरा राखेका होलान् । केही नहुनेको त बिजोगै छ । सबैलाई अप्ठेरो छ । मिडिया र सामाजिक सञ्जालमा सानो कुरा पनि ठूलो भइरहेकाले मान्छेहरु त्रसित छन् । अब आफै सावधान भएर काम गर्नुपर्छ, त्रसित नभई बस्नुपर्छ । कोरोनालाई जित्न आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ, आत्मबल कहिल्यै कम गर्नु हुन्न ।

यो कथा कञ्चन विष्टसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।