कोरोनाका बिरामी भेटिँदा

लगभग १० वर्ष हुन लाग्यो मैले मेडिकल क्षेत्रमा काम गरेको । म आइसियुमा काम गर्छु । टाउको, नसा, स्ट्रोकका बिरामीहरुको केस हेर्न गर्छु । अहिले भने कोभिड-१९ का लागि भनेर छुटै कोरोना वार्ड राखेको छ । त्यो वार्डको सिनिएर छु म ।

कोभिड-१९ सबैका लागि नयाँ कुरा हो । पहिले, खबर हेरेर विभिन्न देशमा कोरोनाको महामारी भएको थाहा पाउँथेँ । नेपालमा पनि कोरोना आयो भने कसरी काम गर्नु होला भनेर डर लाग्थ्यो । नेपालमा कोरोनाका केस देखिन थाल्दा म अलि अत्तालिएको थिएँ । कसरी सुरक्षित हुने भन्ने थाहा थिएन । कोरोना एकदमै छिटो फैलिरहेको थियो ।

त्यतिखेर एमर्जेन्सी वार्डमा पिपिइ २-३ वटा मात्रै थिए । वार्डमा पनि भरपर्दा पीपीई थिएनन् । कामचलाउ मात्र थिए ।

अस्पतालमा बिरामी आउँदा एक प्रकारको डर लाग्थ्यो । बिरामी कहाँबाट आएको होला ? कस्तो बिरामी होला ? भनेर । सुरुसुरुमा हाम्रोमा पनि कोरोना लक्षण भएका केस आउन सक्छन् भन्दा एकदम डर लागेको थियो । नजाउँ कि क्या हो काममा, विदा लिउँ कि जस्तो पनि लागेको थियो । फेरि अर्को मनले सोचेँ, हैन, यस्तै बेला त हो नि काम गर्नुपर्ने । झन् यत्रो वर्ष भयो काम गरेको । यस्तो अवस्थामा छोड्दा के हुन्छ ? मैले यस्तो गरेँ भने जुनिएरले के सिक्छन् ? उनीहरुलाई हौसाला दिनुपर्ने बेलामा मै पछि हट्नु हुन्न भन्ने लाग्यो ।

मैले आफूभन्दा सानालाई भेदभाव गरिनँ । उहाँहरुका कामको निगरानी गर्छु । साथै उहाँहरुका कुराकानी सुन्ने पनि गरेकी छु । उहाँहरुलाई गाइड पनि गर्छु ।

कहिलेकाहीं केही जुनियरहरुले ‘दिदी काम गर्न डर लाग्छ’ भन्ने गर्नुहुन्थ्यो । आफूलाई केही भइहाल्यो भने के गर्नेहोला ? अरुभन्दा पनि परिवारको चिन्ता लाग्ने गर्छ भन्नुहुन्थ्यो । स्वाभाविक पनि हो डरलाग्नु । आफ्नो परिवारको चिन्ता गर्नु । तैपनि म उहाँहरुलाई सम्झाउने गर्थें — आफ्नो मनोबल नगिराउनुहोस् । हार नमान्नुहोस्, तपाईंहरु नै पछि हटे कसले सेवा गर्ने बिरामीको ? हाम्रो पेसा अरुको सेवामा समर्पित छ । यस्तो विपत्‌मा हामीले हार मान्नु हुन्न ।

उहाँहरुले काम नै गर्दिनँ भनेर चाहिँ भन्नुभएन । सबै जना सहयोगी हुनुहुन्छ । अस्पतलामा अरु सिनियरहरुले नआत्तनुहोला, सावधान हुनुहोला, केही हुन्न भन्नुहुन्छ । अब त हामी बानी परिसक्यौँ ।

हाम्रो परिवार ठूलो छ । घरपरिवारका सबै जनाले मलाई हौसला दिनुहुन्छ । सुरुमा केही दिन आत्तिए पनि पछि उहाँहरुले मलाई सुरक्षित भएर काम गर भन्ने गर्नुहुन्थ्यो । कोरोना लागिहाल्यो भने पनि आत्तिहाल्नु पर्ने केही छैन रहेछ ।

घरको साथ पाएर पनि होला मलाई काम गर्न अझै हौसला जागेको ।

म सावधान हुन्थेँ । तर घरमा अरुबाट अलग भएकी चाहिँ छैन । त्यसो गर्न सम्भव पनि भएन । बाथरुम छुटै हुने कुरा भएन । किचेन पनि हामी सबैको एउटै छ । त्यसैले म कहिले अस्पतालमै नुहाएर घर जान्छु । आफूलाई स्यानिटाइज गरेर जान्छु । घर पुगिसकेपछि लुगा फेर्छु । घरमा पनि गएर सरसफाइ गरिहाल्छु ।

 छरछिमेकीले पनि मलाई राम्रो व्यवहार गरे । मेरो घर वरिपरि आफ्नै नातेदार बस्ने गर्नुहुन्छ । त्यही भएर पनि होला त्यस्तो अप्ठेरो भएन । उहाँहरुले बुझ्नुभयो । मेरो आफ्नै घर भएर पनि सजिलो भयो । आफ्नो घर नभएको भएर गाह्रो हुन्थ्यो होला । कतिपय घरबेटीले कुरा बुझ्दैनन् ।

पहिलोपल्ट पीपीई लगाउँदा अप्ठेरो लाग्यो । सास थुनिए जस्तो भएर पसिना आयो । काम गर्दा पनि के के नमिलेको जस्तो हुन्थ्यो । बानी नभएर पनि होला ।

 हाम्रो १२ घण्टाको ड्युटी हुने गर्थ्यो । ६ घण्टा एक जनाले लगाउने अनि अर्को ६ घण्टा अर्कोले पीपीई लगाएर पालैपालो काम गर्ने गरेका छौं ।

म काम गर्ने अस्पतालमा पनि कोरोना संक्रमित भेटियो । हुन त मेरो आमनेसामने भएको बिरामी होइन । तर पनि थप सावधान भएकी छु ।

यो एउटा अच्चमको केस थियो । एक जना बुबा हाम्रो अस्पताल भर्ना हुनुभएको थियो । एकदमै हँसिलो, सबैसँग बोल्ने गर्नुहुन्थ्यो । हामीलाई काम गर्न हौसला दिनुहुन्थ्यो । ‘नानी मसँग डराउनु पर्दैन, है’ भन्नुहुन्थ्यो ।

उहाँको पसल रहेछ । पसलमा पनि ग्राहकभन्दा टाढा रहेर बिक्री गर्ने गरेको थिएँ भन्नुहुन्थ्यो । उहाँको पीसीआर जाँच्न पठाएको थियो । उहाँ डिस्चार्ज भएको ३ दिनपछि रिपोर्ट आयो — पोजेटिभ । उहाँ कतै जानुभएको थिएन । उहाँमा कोरानाका लक्षण पनि थिएनन् । हामी सबै जना आत्तियौँ । अच्चम पनि लाग्यो, यस्तो पनि हुँदो रहेछ भनेर ।

कहिलेकाहीं भने कोही बिरामी कुर्नेहरुले दुःख दिनुहुन्थ्यो । पीसीआर गर्न पठाउनुपर्छ भन्दा उहाँहरुले पर्दैन हाम्रो बिरामीलाई कोरोनाको लक्षण छैन भनेर झगडा गर्नुहुन्थ्यो । उहाँहरुलाई सम्झाउनै गाह्रो पर्ने ।

बौद्धबाट एक जना बिरामी आउनुभयो । उहाँका आफन्तले उहाँको पीसीआर टेष्ट गराउन मान्नुभएन । हामीले उहाँलाई सम्झायौँ । जाँच्दा ती बिरामीमा कोरोना देखियो ।

घरमा कहिले कसैले आफ्नो ब्लडप्रेसर चेक गरिदेऊ भन्नुहुन्छ, कहिले के भन्नुहुन्छ । अस्पतालमा संक्रमति आइसकेपछि मलाई घरपरिवारको चिन्ता लाग्यो । मेरो घरमा बच्चा अनि बुढाबुढी हुनुहुन्छ । त्यसैले म अस्पतालमै बस्न थालेँ ।

 कहिलेकाहीं ठिकै पनि हुँदो रहेछ अस्पतालमा यसरी बस्न । यहाँ अरू स्टाफ पनि बस्नुभएको छ । ड्युटीको समयमा ड्युटी मात्रै हुन्छ । आफूलाई लागेका कुराकानी गर्न पाइँदैन । अस्पतालमै बस्दा चाहिँ कुराकानी गर्न पाइयो, अनुभव एकअर्कालाई बताउन पाइयो । हामी कहिले क्याटिनमा खान्छौँ, कहिले घरबाट ल्याइदिनुहुन्छ ।

कहिलेकाहीँ घरको न्यास्रो लाग्छ । भाइले घर आए भइहाल्छ नि भन्छ । तर म ड्युटीमै भएको बेला बिरामीमा संक्रमति भेटिएकाले आफ्नो परिवारलाई जोखिममा पार्न मन लागेन । पाँच दिन भयो अस्पतालमा बस्न थालेको ।

मैले मेरो पीसीआर टेष्ट गर्न पठाएको छु । रिपोर्ट नेगेटिभ आयो भने मात्र घर जान्छु ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।