कोरोना आउँदा पनि नआउँदा पनि हामी मजदुरी गरेर खानेहरुको अवस्था त्यस्तो धेरै फरक भएको मैले महसुस गरेको छैन । मजदुरी गरेर खाने हिसाबले मात्र पनि होइन हामी गरिब दलित भएर जन्मनुको पीडा यो कोरोनाको पीडाभन्दा धेरै ठूलो छ । कोरोनाले गर्दा मानिसले पालना गर्नुपरेको सामाजिक दूरी पालना गर्ने नियम हामीलाई जन्मजातै उपहारमा आएको हो । हामीलाई यो समाजले, यो राज्यले जहिले पनि टाढै राख्यो । आफ्नो नजिक आउन कहिल्यै दिएन । हाम्रो गरिबीको भाइरस उनीहरूमा सर्छ भनेर हो या अरू कुनै कारणले हो उनीहरु नै जानून् । सामाजिक दूरीले कोरोनाबाट त जोगाउला तर राज्य र समाजले हामीसँग दूरी कायम गरेर हामीलाई मानिसका रूपमा गर्नुपर्ने व्यवहार गरेनन् । यसले गर्दा हाम्रो मनमा धेरै रिस भरिएको छ । यस्तो व्यवहार सम्झँदा मलाई कोरोनासँग भन्दा पनि धेरै रिस उनीहरुसँग उठ्छ ।
घरबारविहीन, जमिनविहीन भएर जन्मिएका हामीले के नै सपना देख्छौँ जसलाई यो कोरोनाले असर गरोस् । धन्न धुर्मुस सुन्तलीले हाम्रो पीडा बुझेर एउटा घर बनाइदिए र पक्का घरसम्म छ है भन्न पाएको छु । अहिले म उनै धुर्मुस सुन्तली फाउन्डेसन द्वारा बनेको एकीकृत नमुना मुसहर बस्तीको घर न. १८ मा बस्छु । ठ्याक्कै यही काम भन्ने छैन तर मजदुरी गर्छु । पढेलेखेको भए राम्रो काम पाउँथेँ होला तर मेरो परिवारमा मेरो पुस्ताको कसैले पनि अहिलेसम्म पढेलेखेको छैन ।
मेरो ६ जनाको परिवार छ ।
लकडाउन भएपछि जिन्दगीमा पहिलेभन्दा अझ गाह्रो भएको छ । पहिला काम पाउन अलिक सजिलो हुन्थ्यो अहिले धेरै गाह्रो । हामी मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने मान्छे । कुनै निश्चित काम हुँदैन । अहिले कोरोनाको कारण देखाएर काम सजिलै पाइँदैन । बाहिर जाँदा साहुहरुले ‘तिमीहरुलाई कोरोना छ कि’ भनेर शंका गरी बाटोबाटै फर्काईदिन्छन् । हामी मजदुरी गरेर खाने मान्छे । बाहिर गए कोरोनाले मार्ला भन्ने डर घरमा बसे भोकले मार्ने डर । भगवान् कस्तो डरलाग्दो समय आयो । काम पाएँ भने एक दिनमा जसोतसो ३०० देखि ४०० रुपैयाँ कमाउँछु । तर त्यतिले यो महँगीमा परिवार चलाउन हम्मेहम्मे हुन्छ । कहिलेकाहीँ खाने कुरा हुँदैन घरमा । मन साह्रै रुन्छ । ठूला मान्छे त जसोतसो सहन्छौँ बच्चाहरुको बिजोग हुन्छ । तैपनि के गर्नु भगवान्ले दिएको जीवन जसोतसो बाँच्नै पर्यो भनेर चित्त बुझाउँछु । गाह्रो छ हामी गरिबहरुलाई, धेरै गाह्रो छ ।
घर पो अरूले बनाइदियो आफ्नो जिन्दगी आफैले चलाउनुपर्यो भन्ने लाग्यो । केही सयको लागि मजदुरी गरेर नेपालमै के बस्नु भनेर विदेशमा मजदुरी गर्न जानुपर्यो भन्ने ठानेँ । त्यहाँ जे भए पनि हजार रुपैयाँ त कमाइन्छ भनेर विदेश जाने सुर गरें । विदेश जान्छु पैसा कमाएर आफ्नो परिवारमा सुधार ल्याउँछु र खुसीसाथ जीवन जिउँछु भनेर सपना देखेको थिएँ । आफू अशिक्षित भएर साह्रै दु:ख भयो, छोराहरु रोहण र ब्रह्मदेवलाई बोर्डिङ स्कुल पढाउँछु भन्ने ठूलो सपना देखेको थिएँ । तर कोरोनाले भन्ने कि भाग्यले सबै सपना अधुरै हुने भयो । कोरोनाले जिउने आधार नै खोसिसक्यो । एक लाख ऋण लिएको थिएँ एजेन्टलाई बुझाउन । जाने दिन कुर्दा कुर्दा कोरोना आइहाल्यो । अहिले त्यही ऋण र ब्याजको चिन्ताले जिन्दगी झन् गाह्रो भएको छ । दिनको दुई छाक खान त धौधौ पर्नेले त्यत्रो ब्याज र ऋण कसरी तिर्ने बडो तनाव छ । लकडाउनको दिन थपिन्छ, ब्याजको पैसा थपिन्छ तर गरिबको सुखको दिन नथपिदो रहेछ । बडो पिर लाग्छ । साह्रै अभागी भइयो जस्तो लाग्छ ।
हामी गरिबका साथमा कोही हुँदैन न राज्य न भगवान् । यत्ति थाहा छ हामीले हाम्रो जीवनमा आइपर्ने अप्ठ्यारासँग आफै लड्नुपर्छ । लकडाउन खुलेपछि सबै ठीक भइहाल्छ भनेर केही झिनो आशामै लकडाउनका दिन बिताउँदैछु । कोरोना लागेर राजु सदाले जसरी मर्नु नपरोस् । यत्ति प्रार्थना छ । राज्यले हामीलाई जनता नै होइन जस्तो व्यवहार गरे पनि अब जे पर्लापर्ला कोरोनासँगै हिंड्छु र जीवन जितेर अरूका लागि स-साना लागे पनि आफ्ना लागि ठूला सपना पूरा गर्छु । हिम्मत हारेर जिन्दगी बाँच्न छोड्नु भएन नि ।
यो कथा राम एकबाल सदा संग गरिएको कुराकानीमा रहेर मंजयले तयार गर्नु भएको हो ।