के गर्न सक्दा रहेछौँ र हामीले !

नयाँ गाडी चढ्ने रहरले नयाँ गाडी (विंगर) किनें । के थाहा थियो र यसरी झ्याप्पै ब्रेक लाग्छ केही महिनामै भनेर । झन्डै-झन्डै चार महिना हुन लाग्यो गाडीसँगै मेरो सपना घरमा थन्किएको ।

१८-२० वर्ष हुन लाग्यो गाडी लाइनमा रहेर भविष्य राम्रो बनाउने सपना सजाउन थालेको । अहिले विंगर किन्ने हैसियतसम्म आउन मैले सबै थोक गरें । आइचार चलाइन कि बोलेरो चलाइन । अनि लामो समयसम्म ट्याक्सी चलाएँ । एक वर्ष जति भयो ट्याक्सीबाट विंगरमा प्रमोसन गरेको । बैंकबाट किस्तामा तिर्ने सहमतिमा ऋण लिएर निकालेको हो यो गाडी मैले । पूरै पैसा तिरेर निकाल्ने त कहाँ आँट गर्न सक्नु र !

जिन्दगीको गाडी राम्रोसँगै कुदिरहेको थियो । काठमाडौं कलंकीबाट चितवन, पर्सा, नारायणगढ, टाँडी भण्डाराको टिप गर्थें । कहिलेकाहीं रिजर्भमा पनि जान्थें । बैंकको किस्ता तिर्न, घरखर्च चलाउन पुगिरहेकै थियो । मेरो चार जनाको परिवार छ । कमाउने म एक्लै हुँ । त्यही भएर पनि मेरो गाडी घरको आँगनमा थन्किनु भनेको म आफै थला पर्नु जस्तै हो । गाडी कुद्न नपाएकाले घामपानीले टायर मक्किने मात्र होइन, अब इन्जिनमा पनि खराबी आउने हो कि भन्ने डर लाग्न थालेको छ

कोरोनाले भन्दा पनि यो लकडाउनले मलाई मात्र होइन सारा संसारलाई असर परेको छ । बच्चाहरुको पढाइ एक वर्ष त्यतिकै गइहाल्यो । आफ्नो कमाइको के कुरा गर्नु । त्यत्रो महिना घाटा भइसक्यो । मेरो जीवन पहिलेको जस्तो हुन मैले पाँच वर्ष मेहनत गर्नुपर्छ । यस्तो सोच्दा पनि मन भारी भएर आउँछ । जीवन ५ वर्ष पछाडि धकेलियो ।

म सितिमिति निराश हुने मान्छे होइन । जीवनप्रति सधैं सकारात्मक हुन्थेँ, मिहिनेत गर्नुपर्छ सोचेको सबै पूरा हुन्छ भन्ने लाग्थ्यो त्यही भएर पनि होला आइचारबाट सुरु गरेको जिन्दगी अहिले आफ्नै विंगरसम्म आइपुगेको थियो । तर अब जीवनप्रति निराश भएँ म । मनमा चिन्ता धेरै छ। कमाइ खाने गाडी अहिले थन्किराखेको छमेरो गाडीले महिनाको त्यस्तै १५ देखी २० ट्रिप गर्थ्यो । म आफैले चलाउने हुँदा २० ट्रिप गर्दा लगभग एक लाखको हाराहारीमा कमाइ हुन्थ्यो । त्यहीबाट गाडीको किस्ता तिर्थेँ र घर चलाउथें अहिले चुप लागेर बस्दा मनमा पीर त भई नै हाल्छ नि ।

पिरसँगै रिस पनि उठ्छ विभेदवाला नियमकानुन देखेर । कसैले चलाउन पाउने कसैले नपाउने । हामीलाई गाडी चलाउन नदिदाँ चाहिँ साह्रै खल्लो लागेको छ । अरूले चलाइरहेका छन्, प्राइभेट गाडी मान्छे बोकेर हिंडिरहेका छन् तर हामीले भने चलाउन पाउँदैन भनेकाले कोरोनासँग भन्दा पनि सरकार र प्रशासनसँग रिस उठेको छ । गाडी कसैले चलाउँदा कोरोना नसर्ने । हामीले चलाउँदा चाहिँ सर्ने । कस्तो भाइरस हो यो ? कस्तो सोचाइ हो ? मैले केही बुझ्न सकेको छैन ।

यही पाराले लकडाउन लम्बियो भने दुई छाक खान धौधौ हुन सक्छ । धन्न काठमाडौंमा सानो घर छ र ।  नत्र कोठा भाडा तिर्नुपरेको भए त मेरो बेहाल भइसक्थ्यो । धेरै ड्राइभर साथीहरुको पिरलो सुनेको छु मैले । बेहाल छ ।

लकडाउन भएपछि म परिवारसहित मेरो गाउँ नुवाकोट गएँ । गाउँ नगएको पनि धेरै भइसकेको थियो गाडीले गर्दा । केही दिन छुट्टी जस्तै भो । के थाहा थियो र महिनौंका लागि पो छुट्टी दिने तरखर गरेको रहेछ सरकारले भन्ने कुरा ।

गाउँमा खेती किसानी गरें । घरभित्रै मात्र बस्नु खेतबारीको काम पनि नगर्नु भन्थ्यो सरकारले तर पानी पनि छ रोग लागे लाग्छ भनेर खेत रोपाइँ गरियो । कति डराउनु, केकेसँग डराउनु । भन्नेलाई पो सजिलो छ, गरेर खानेलाई गाह्रो छ । गाडी थन्क्याउनु पर्दा परेको पीरले दिक्क भएको मनले खेती किसानी गर्दा थोरै भए पनि राहत पायो रोपाइँ सकेर अस्ति भर्खर मात्र हो काठमाडौं फर्केको । त्यो पनि बल्लबल्ल आएँ । नआएर पनि के गर्नु । आफ्नो कमाइ खाने भाँडो यतै छ । सधैं गाउँ बसेर साद्दे पनि लाग्दैन । अहिलेसम्म त मेरो लगभग पचास हजार भइसक्यो बैंकलाई तिर्नुपर्ने । कहाँबाट तिर्ने दिमाग अनि खल्ती दुवै खाली छ । अहिलेसम्म त धन्न बैंकले केही भनेको छैन, आज पनि म बैंकमा पुगेर आएको ।

अब त स्थिति अति नाजुक हुन थालिसक्यो । सरकारले के गर्न खोजेको हो । हाम्रो सार्वजनिक गाडीचैं चल्न दिएको छैन । प्राइभेट गाडी जोर बिजोर गरेर चलाउन मज्जाले दिइरहेको छ । निजी गाडीले भाडा असुलेर मारामार कमाइराख्या छ । सार्वजनिक बस थन्किराखेको छ । यत्रो महिनामा सरकारले के निर्णय गर्‍यो हाम्रा लागि ? सरकारले सबैका बारेमा सोच्नुपर्ने होइन ? ल एकै पटक नखुलाओस् तर बिस्तारै कसरी खुलाउने, कस्तो सावधानी अपनाउने भन्नेमा ध्यान दिनुपर्छ नि । बरु विदेशमा जस्तो दुई जनाको सिटमा एक जना राखौँ ।

विदेशमा लकडाउनमा पनि सार्वजनिक गाडी बन्द भएनन् भन्ने सुनेको छु । खै हाम्रोमा त सबैभन्दा पहिले बन्द हुने नै सायद गाडी भयो । अहिले पनि अली शक्तिशालिले चलाउन पाइराखेकै छन् । हामी  चाहिँ हेरेको हेरै । गाडी घरको आँगनमा थन्किराख्या छ । अब हाम्रो सरकारले रातो प्लेटलाई मात्र कतिन्जेल स्याहारी राख्दो रहेछ हेरौं । अहिलेसम्म त चाइँचुइँ केही सुनेको छैन । म त्यसै चुप लागेर बसेको छु । के गर्ने ? के नै गर्न सक्दो रहेछौँ र हामीले ?

जे हुँदा पनि सुख छैन

कोरोना लाग्दाको क्षण..

क्यामेरा खोसेर कोदाली !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।