कोभिड–१९ संक्रमित भएपछि बाँच्न गाह्रो

कोरोना संक्रमण भएपछि बाँच्न गाह्रो

२०७७ असार १७ गतेको कुरो हो । म मैले काम गर्ने वयोधा अस्पतालमा थिएँ । ड्युटीमै रहेको बेला अस्पताल प्रशासनबाट फोन आयो। उठाएर ‘हेल्लो…’ मात्रै भनेको थिएँ, उताबाट, ‘तिम्रो कोभिड–१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । अरू दुई जना पनि संक्रमित छन्’ भन्ने आवाज आयो ।

‘पोजेटिभ’ भन्ने शब्दले दिमाग सन्न घुमायो। त्यो शब्दले मनमस्तिष्क दुवैतिर ‘नकरात्मक विचार’ जन्मायो। मनमस्तिष्कमा नकरात्मक विचार आउदाँ कस्तो हुन्छ ? भोग्नेहरूले थाहा पाइहाल्छन्। नभोग्नेहरूलाई मेरो आग्रह — ‘आखाँ चिम्म गरेर एक मिनेट जीवनमा भोगेको सबैभन्दा नकरात्मक क्षणको सकस सम्झनुस् त ?’

‘सम्झनु भो?’

त्यस्तो केही सकसको सम्झना भएन भने तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईंलाई बधाई छ।

तर, तपाईं जस्तो भाग्यमानी सबै जना कहाँ हुन्छन् र ?

फोनमा कुरा सुन्दै गर्दा आफ्नो आखाँले देखेको सबै परिदृश्य फनफनी घुमिरहेको थियो। के भन्ने, के नभन्ने ? केही मेसो पाइनँ।

मन एकदमै हडबडायो। त्यो बेला अस्पतालका चिकित्सकले ‘नआत्तिनु केही हुन्न ’ भनेको याद छ। आफैलाई मनमनै सान्तवना दिएँ। सबै जनाले सम्झाएपछि ‘मेडिकल फिल्डमा काम गर्ने मान्छे, यति त सहनुपर्‍यो नि’ भन्ने जस्तो लाग्यो।

त्यही बेला बुबालाई फोन गरेर आफूलाई कोरोना लागेको सुनाएँ। बुबाले भन्नुभयो, ‘चिन्ता नलिनू, बरु तिमीलाई कता राख्छन्, आइसोलेसनमा गएपछि फोन गर्नू ।’

त्यसपछि ढुक्क भएँ। मन दह्रो बनाए।

तर, मलाई संक्रमण कसरी भयो भन्ने जिज्ञासाले टाउको रन्काइरहेको थियो। न कतै टाढा गएको याद थियो। न भीडभाडमा हिंडेको थिएँ। संक्रमितसँग सम्पर्कमा आएको रेकर्ड थिएन्। कोरोनाका लक्षण पनि देखिएका थिएनन्।

मनमा एउटै प्रश्न आइरहेको थियो, ‘म कसरी संक्रमित भएँ ?’

जवाफ मिल्ने कुनै संकेत पाइरहेको थिइन ।

मनमस्तिष्क दुवैलाई बारम्बार सकस दिइरहेको प्रश्नको जवाफ नभेट्दाको पीडा । खै कसरी व्यक्त गरुँ ?

म कार्यरत अस्पतालमा उपचाररत एक व्यक्तिलाई संक्रमण पुष्टि भएको थियो। तर, म त्यो व्यक्तिको सम्पर्कमा त के नजिकै वार्डमा पनि गएको थिइनँ। त्यो वार्डमा कार्यरत अन्य कर्मचारीसँग पनि मेरो सम्पर्क थिएन्।

साँच्चै भन्नुपर्दा मलाई संक्रमण कहाँबाट सर्‍यो, मैले केही अनुमान लगाउन सकेको छैन। संक्रमितको स्रोत खोज्ने र कन्ट्याक ट्रेसिङ गर्ने जिम्मेवारी पाएको सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि अझै केही भन्न सकेको छैन।

आठ दिन अस्पताल बसेर अहिले निको भएर घर फर्किएँ । तर त्यति बेला म र मेरो परिवारले भोगेको मानसिक तनाव अहिले पनि सम्झन्छु ।

मेरो घर ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभु हो। मलाई संक्रमण पुष्टि भएपछि गरिएको परीक्षणमा मेरै परिवारका ७ जना र घरमा भाडामा बस्ने दुई जनामा संक्रमण पुष्टि भएको थियो। त्यसैगरी म गएको फार्मेसीमा कार्यरत २ जनालाई पनि संक्रमण पुष्टि भयो। यही घटनालाई आधार मानेर गाउँमा १/१ जनालाई कोरोना सारेको अपजस मेरो टाउकोमा परेको छ।

नखाएको विषले जिउँदै मार्यो भने जस्तै भएको छ।

मलाई मानिसले अपराधी ठहर्‍याएर अनेक प्रहार गरेका छन् । फेसबुकबाट मेरो फोटो तानेर ‘लुभुको संक्रमित केटी यही हो’ भनेर भाइरल गराए। त्यसले गर्दा मेरो धेरै चित्त दुखेको छ। मेरो ठाउँमा जो कोही भएको भए पनि चित्त दुख्थ्यो।

एक पटक आखाँ चिम्म गरेर तपाईं आफै संक्रमित भएको कल्पना गर्नुस् त ? अनि मानिसले तपाईंलाई नानाथरी भन्दै तपाईंको फोटो सामाजिक सञ्जालमा भाइरल गरेको कल्पना गर्नुस्? हो, कल्पना गर्न पनि गाह्रो हुन्छ। तर, मैले यथार्थ भोगेकी हुँ।

***

म वयोधा अस्पताल काम गर्न थालेको जम्मा १२ दिन भएको थियो । नयाँ भएकाले घुलमिल भइसकेको थिइनँ । म आफ्नै डिपार्टमेन्ट (ल्याब) मा काम गर्थेँ । अस्पताल र घरबाहेक अन्त आउजाउ पनि थिएन ।

केही दिनअघि अस्पतालमा उपचाररत एक जना बिरामीलाई संक्रमण पुष्टि भयो । त्यही कारण असार १४ गते अस्पतालका १०० जनाभन्दा बढीको पीसीआर टेष्टका लागि स्वाब संकलन गरियो । त्यही बेला मेरो पनि स्वाब संकलन गरिएको थियो।

स्वाब संकलन गरे पनि संक्रमण पुष्टि भएका बिरामीसँग सीधा सम्पर्क नभएकाले हामी घर–अस्पताल आउजाउ गरिरह्यौं । हाम्रो रिपोर्ट नेगेटिभ आउँछ भन्नेमा ढुक्क थियौं । १६ गते ममी बिरामी भएर लुभुको स्वस्तिक फार्मेसीमा लगेँ, जहाँ लकडाउन अगाडिसम्म म आफैं काम गर्थेँ ।

तर १७ गते साँझतिर मेरो रिपोर्ट पोजेटिभ आयो र मलाई सशस्त्र प्रहरी अस्पताल, बलम्बु लगियो । असार २१ गते कन्ट्याक ट्रेसिङको टोली हाम्रो घर पुग्यो। चार दिनसम्म हाम्रो घरका सबै जना मानसिक तनावमा बसे । मलाई पोजेटिभ आएको खबर गाउँभरि फैलिइसकेको थियो । मेरो कारणले टोल छिमेकका मान्छेहरूले हाम्रो घर देखाउँदै ‘यही घरकी केटीलाई हो कोरोना देखिएको’ भन्न थालेका रहेछन् ।

ममीको फागुनमा पत्थरीको अपरेसन गरेको थियो । एक महिनाअघि लडेर नसा च्यापिएको र टाउकोमा चोट लागेको छ । भाउजू नौ महिनाको गर्भवती हुनुहुन्छ । भाउजूको ५ वर्षे छोरा डाउन सिन्ड्रोम भएकाले भनेको केही बुझ्दैन । यस्तो बिरामी परिवार बसेको घरमा त्यत्रो दिनसम्म कसैले सामान पुर्‍याइदिएनन् । कतिसम्म भने नजिकैको पसलबाट एक जार पानी लगिदिने कोही भएनन् । मानिसहरू घर अगाडिको बाटोसमेत हिँड्न छाडे ।

डाक्टरले भाउजू सुत्केरी हुने डेट यही महिनाको अन्तिमलाई तोकेका छन् । त्यही बेला उहाँलाई सुत्केरी व्यथा लागेको भए ? कसले आएर सहयोग गर्थ्यो ? सम्झिँदा पनि आङ सिरिङ्ग हुन्छ । धन्न उहाँलाई त्यो बेला व्यथा लागेन ।

हाम्रो घरका सदस्यहरूको स्वाब झिक्न ४ दिन लाग्यो भने रिपोर्ट आउन थप ५ दिन । भाउजूको रिपोर्ट २४ गते आयो भने अरु ८ जनाको रिपोर्ट २५ गते । म बलम्बु अस्पतालबाट डिस्चार्ज भएर त्यही दिन घर पुगेकी थिएँ र परिवारका सदस्यहरूभन्दा छुट्टै बसेकी थिएँ ।

हामीले उहाँहरूलाई आइसोलेसनमा लाने गाडीका लागि धेरै फोन गर्‍यौं तर त्यो दिन आएन । २६ गते दिउँसोतिर एम्बुलेन्स आएर उहाँहरूलाई लग्यो । अहिले उहाँहरू कीर्तिपुरस्थित आयुर्वेद अस्पतालमा बसेर पनि डिस्चार्च भइसक्नु भएको छ।

म संक्रमित भएपछि उहाँहरूले त्यत्रो दिनसम्म भोगेको तनाव सुनाउन समेत सक्दिनँ । अहिले घरका ९ जना मात्र होइन, फार्मेसीका २ जना दाइ समेतलाई संक्रमण सारेको आरोप मलाई लागेको छ । घरको सबै मान्छेसँग मेरो भेटघाट हुँदैन । फार्मेसीमा पनि त्यो दिन ५ मिनेट मात्रै बसेको हुँ ।

मलाई यतिसम्म भनियो कि लुभुका सबैलाई कोरोना सार्ने मै हुँ । मेरै कारणले सबै जनालाई तनाव भयो । मलाई नेपालमा संक्रमण भित्र्याउने मै हुँ, मेरै कारण देशले यत्रो ठूलो संकट भोग्नु परेको छ भनेझैँ गरी प्रचार गरियो ।

मलाई हरेक दिन अनेकौं फोन आए । कसैले ‘भेन्टिलेटरमा हो कि कता’ भनेर सोधे । लुभुतिर पनि ‘तीन दिनसम्म भेन्टिलेटरमा राखेको थियो रे, मर्न लागेकी थिई रे’ भनेर हल्ला चलाएछन । यस्तो हुँदा कति तनाव हुन्छ म शब्दमा व्यक्त गर्न सक्दिनँ ।

म स्वास्थ्यकर्मीलाई त यस्तो भयो भने अरुलाई झन् के होला ? कोरोना संक्रमण भएकैले मानसिक तनाव भोग्ने कति होलान् ?

मेरो फोटो सामाजिक सञ्जालमा राखेर ‘यसलाई चिनिराख्नुहोला र यसको घर चिनिराख्नुहोला’ भनेर पोस्ट र सेयर गर्नेहरू धेरै भेटिए । त्यो देख्दा मलाई कस्तो भएको थियो सुनाउन सक्दिनँ।

तर, एउटा प्रश्न छ, त्यसो गर्दा मानिसहरूलाई मज्जा आउँछ, हो ? आफ्नो पोस्ट र सेयरले मानिसलाई कति धेरै मानसिक तनाव हुन्छ भन्ने ख्याल गर्नुपर्छ कि पर्दैन् ?

मानिसहरूले अति गर्न थालेपछि दिनभरि रोएँ, दिनहुँ रोइरहन मन लाग्छ । एकदम डिप्रेस्ड छु । कोरोना निको भइसक्यो तर मानिसहरूले दिएको चोटले घायल छु । अति भएर फेसबुकमा एउटा स्टाटस पनि लेखेँ ।

यहाँ त हाँसेर बोल्दा पनि गलत अर्थ निकाल्दा रहेछन्, अनि निराश भएर बोल्दा पनि । बोल्दै नबोल्दा झन् अर्कै सोच्दा रहेछन् । अहिले मलाई त्यही भएको छ ।

म स्वस्थ्य छु । संक्रमण पुष्टि हुनुअघि र पुष्टि भएपछि अस्पताल बस्दा पनि कुनै लक्षण थिएन । स्वास्थ्यमा कुनै समस्या आएन । तैपनि मान्छेहरूले भेन्टिलेटरमा बसेको भन्न भ्याए ।

हौसला दिने होइनन्, मानसिक तनाव दिने मानिस धेरै भए । मलाई मानसिक तनाव दिनेहरूलाई यो थाहा छैन कि मबाट अरूलाई सर्‍यो कि अरूबाट मलाई ? सम्बन्धित निकायले समेत पुष्टि गर्न सकेको छैन ।

तर सत्य के हो भने लुभुमा मलाई भन्दा अगाडि अरूलाई पनि कोरोना संक्रमण देखिएको थियो र संक्रमण स्रोत भेटिएको छैन । यति हो मलाई संक्रमण पुष्टि हुँदा मेरा घरका सदस्यलाई पनि देखियो जसले गर्दा पूरै परिवारलाई तनाव भयो । बिना प्रमाण ११ जनालाई कोरोना सारेको आरोप मेरो टाउकोमा आइलाग्यो ।

यथार्थ के हो भन्ने त समयले बताउला । तर मलाई यत्ति थाहा छ, म संक्रमित हुँ अपराधी होइन । तर मैले अपराधीझैं व्यवहार भोग्नुपर्‍यो ।

अहिले यत्ति भन्छु, यो महामारी हो । सबैले मिलेर सामना गर्नुपर्छ । धेरैमा लक्षण नभएकाले संक्रमण फेला परेको छैन । त्यसैले हामी जो कोहीलाई संक्रमण हुन सक्छ । आफू सुरक्षित बसौं, अरूलाई अनावश्यक तनाव दिने काम नगरौं ।

दिलीप प्रताप खाँड

नगरको अभिभावक

आँखाकान बन्द गरेर बसेको सरकार !

कोरोनामा कर्णाली प्रदेश

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।