कठिनाइबीच अघि बढ्ने प्रयास

म यो व्यवसायमा लागेको १३ वर्ष भयो । ‘गल्र्स एन्ड गाइज’ भनेर धनगढीको एलएन चोकमा पार्लर खोलेको छु । मेकअप स्टुडियो पनि छ । हामी हेयरकट, मेकअप, फेसिएल ,ब्राइडल मेकअप जस्ता सबै काम गर्छौं ।

मैले बैंकक्, दिल्ली, मुम्बई र बेल्जियमबाट मेकअप आर्ट सम्बन्धी तालिम लिएको हुँ । लकडाउनले गर्दा अहिले मेरो व्यवसाय पूरै ठप्प छ । अहिले २० दिन जति भयो खोलेको । अहिले पनि पुलिसहरुले खोल्न त दिंदैनन् । कानुनी रुपमा खोल्न दिइएको छैन तर हामी जोखिम मोलेर खोलिरहेका छौं । बिहानै आउछौं सलुनलाई पूरै स्यानिटाइज गर्छौं । एक जनाको सकेपछि मात्रै अर्को ग्राहकलाई सेवा दिन्छौं । फेसिएल मास्क लगायतका सुरक्षाका उपाय लगाएर काम गर्छौं । अप्ठेरो त छ नै । यो रोग सारा संसारलाई नै लागेको छ । त्यही भएर मैले चित्त बुझाएको छु ।

समस्या त कति हो कति छ । कोठाको भाडा तिर्नुपर्ने, स्टाफको तलब दिनुपर्ने । सामान त्यतिकै थन्काएर राखेको छु । डेट एक्सपाएर होला भन्ने डर छ । फेरि नयाँ सामान कसरी ल्याउने हो ? मैले ल्याउने सामान सबै बाहिरबाट मगाउने गरेको छु । अहिले सबै अन्तर्राष्ट्रिय उडान बन्द छन् । सामान नपाइएला भन्ने चिन्ता छ ।

तर यस्तो बेलामा चुप लागेर बस्न पनि मिलेन । सबै कुरा मिलाउनै पर्छ । मैले आफ्ना स्टाफको तलब काटन मिलेन । उनीहरुको आशाभरोसा ममा हुन्छ । काम गरिसकेपछि आश लाग्नु स्वाभाविक हो । फेरि यस्तो बेलामा मैले आफ्नो कर्तव्य पनि भुल्नु भएन । मलाई अहिलेसम्म साथीहरुले साथ दिएर नै यो पार्लर चलाएको छु । टिम वर्क चाहिन्छ । उनीहरुलाई पनि प्राथमिकता दिनुपर्‍यो । यता घरबेटीले भाडा मागेका मागेकै छन् । भाडा पनि तिर्नै पर्‍यो । हाम्रो पार्लर दुई ठाउँमा छ । एउटा पार्लर भएको ठाउँका घरबेटीले त आफै आएर ‘घरभाडामा आधा कम गरिदिन्छु अहिलेसम्मको’ भन्नुभयो । अर्को घरबेटीले भने, ‘पूरै समयको भाडा घटाउन सक्दैनौं, एक महिनाको मात्रै कम गर्न सक्छौं भन्नुभयो । यस्को मतलब ४ महिनामा १ महिनाको घटाउँदा पनि ३ महिनाको त पूरै भाडा तिर्नुपर्छ ।

तीन महिना हामीले काम गर्नै पाएका छैनौं । आम्दानी छैन । वैशाख, जेठ र असार हामी सबैभन्दा बढी व्यस्त हुने समय हो । १२ महिनामा ६ महिना मात्र हो अलि कमाइ हुने । ६ महिना बिहे हुने सिजन हो । मेकअपको सिजन हो । त्यसबाहेकका महिनामा बिजनेस थोरै मात्र हुन्छ । ६ महिना काम गर्नुपर्ने ठाउँमा अब ३ महिना त्यसै गइसक्यो । अब हामी व्यस्त हुने महिना मंसिर, माघ र फागुन मात्रै हुन् । यी तीन महिनाको आम्दानीले वर्षभरिको खर्च धान्न अलि असम्भव हुन्छ । फेरि यस पटक पात्रो हेर्दा माघ र फागुनमा त्यति लगन छैन भन्ने थाहा पाएको छु । अब जसरी भए पनि भाडा तिर्नुपर्छ, स्टाफलाई तलब दिनुपर्छ । स्टाफलाई एक महिनाको तलब दिंदा पनि किस्तामा दिइराखेको छु ।

अहिले काम गर्न पनि गाह्रो छ । ग्राहकहरुलाई भीड नगर्नु भनेर सम्झाउनुपर्छ । ग्राहक सितिमिति आउन खोज्दैनन् । उनीहरुलाई पनि कोरोनाको डर छ । फेरि नचिनेको मान्छेलाई बोलाएर सर्भिस दिन हामीलाई पनि गाह्रो हुन्छ । भोलि फेरि संक्रमित भयो भने हामी सबैलाई गाह्रो । थ्रेडिङ पूर्ण रूपमा बन्द गरेका छौं । हामीले जुन दरमा पैसा लिइराखेका छौं त्यसले बाँच्न गाह्रै छ । किनभने हाम्रो खर्च झन् बढेको छ । ग्राहकहरुका लागि स्यानिटाइजर राख्नुपर्ने हुन्छ । फेरि कोही पुरानो मास्क लगाएर आउनुहुन्छ । उहाँहरुलाई नयाँ मास्क दिने गरेका छौं । त्यसको छुटै खर्च भइराखेको हुन्छ ।

केही मान्छेहरु आफू अर्के ग्रहबाट आएको जस्तो गर्छन् । आफूलाई कोरोना लाग्दैन भनेझैं गर्छन् । लाग्यो भने त लागिहाल्यो नि सबैलाई । कहिलेकाहीं सावधानी अपनाउनुपर्छ भनेर सम्झाउँदा ग्राहकहरु बुझ्दैनन् ।

सरकारको तर्फबाट त केही पनि भएको छैन । सरकारको तर्फबाट भएको भनेको सलुन पूृर्ण रुपमा बन्द गर्नु हो । तर त्यो समाधान होइन । पार्लर, सलुनमा मात्रै कोरोना सर्ने अरु क्षेत्रमा कोरोना नसर्ने भन्ने छैन नि । यसरी काम गर्नु भनेर सरकारले भनेको भए हामीलाई अलि सहज हुन्थ्यो होला तर सरकारले त्यसो गरेको छैन । पीपीई ,मास्क, पन्जा उपलब्ध गराएको भए पनि अलिकति राहत हुन्थ्यो ।

बैंकमा पैसा भए मात्र भान्सामा रासन हुन्छ । पैसा सकिएपछि के गर्ने ? कोरोनाको भन्दा पनि भोकको डर भयो । त्योभन्दा बरु आफै सावधानी अपनाएर काम गर्नु पर्छ भन्ने लाग्यो ।

केही वर्ष अघिसम्म सलुन पार्लरको व्यवसाय फस्टाएको थिएन । यसलाई मान्छेले हेर्न दृष्टिकोण फरक थियो । त्यस्तो अवस्थामा संघर्ष गरेर अहिले यहाँसम्म आइपुगेको छु ।

म इन्जिनियरिङ पढेको मान्छे । आज भन्दा १३ वर्षअघि मैले पार्लरको काम रोजेको थिएँ । सुरुमा परिवार अनि समाजको लाञ्छाना सुनेँ । मानिसले कति हो कति प्रश्न गरे । तर आज तिनै मान्छे मेरो पार्लरमा कपाल काटिरहेका छन् ।

एक जना नातेदारले त मलाई यस्तो पढेको मान्छेले यस्तो काम किन रोजेको होला भनेर होच्याउनुहुन्थ्यो तर अहिले उहाँको बच्चा भविष्यमा गएर ‘अनिल दाइको’ जस्तो कपाल काटने बन्छु भन्छ । यो सुन्दा ठूलो उपलब्धि हासिल गरे जस्तो लाग्छ । म आफू पनि खुसी छु ।

इन्जिनियरिङ पढेको मान्छेले कपाल काटन सक्छ भने हामी किन गर्न सक्दैनौ भन्ने भावना मानिसमा ल्याउन पनि म यो पेसामा लागेको हुँ । अब आउने पुस्ताका लागि यो व्यवसायमा सम्भावना छ । सिर्जनशीलता देखाउने ठाउँ पनि हो यो । सबै पेशालाई सम्मान गर्न सिक्नुपर्छ भन्ने मेरो धारणा हो । अरु देशमा यो व्यवसायलाई धेरै सम्मान गर्छन् । तर हामी धेरै पछाडि छौँ ।

मेरो आमाबुबा पनि खुसी हुनुहन्छ अहिले त मरो कामबाट । उहाँहरुले साथ दिइराख्नु भएको छ अहिले । काम गर्दा सुरक्षित भएर काम गर्नू भन्नुहुन्छ ।

अर्काे ठाउँमा पनि शाखा खोल्ने विचार गरेको थिएँ । तर कोरोनाले गर्दा अप्ठेरो भयो । अब त लगानी गर्न पनि गाह्रो छ । फेरि बन्द हुने हो कि ? लकडाउन अझै कडा पो हुन्छ कि ? खुल्यो भने पनि माहोल कस्तो हुने हो ? केही टुंगो छैन । लगानी थप्ने कि नथप्ने, स्टाफ घटाउने कि नघटाउने सबै कुरामा अन्योल छ । तैपनि काम गरिराखेको छौं । सकारात्मक सोचाइ लिएर अघि बढिरहेका छौं । सबै राम्रो होला भन्ने आशा गर्छु ।

यो कथा अनिल दाससंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।