काम ठूलो कुरा हो

चार वर्ष भयो म यो पेसामा लागेको । विगत दुई वषैदेखि सिलुचौर प्राथमिक स्वास्थ्य केन्द्र रोल्पामा कार्यरत छु । एम.डी. गर्न भनेर म आफ्नो घर काठमाडौंमा बिदामा बसेको थिएँ । त्यही बीचमा कोभिड–१९ आयो । अनि रोल्पा आउनुपर्यो । दुई जना मेडिकल अफिसर समेत हामी १४ जना कर्मचारी छौं यहाँ ।

सुरुमा काम कसरी गर्ने भन्ने अन्योल भयो । जनशक्ति कम थियो । बिरामी जाँच गर, फिबर क्लिनिक चलाउ, क्वारन्टाइनको बिरामी पनि जाँच अनि कोरोनाबाहेकका एमरजेन्सीमा आउने बिरामीलाई पनि हेर । दुई जना डक्टरले सबतिर भ्याउनुपर्ने । एकदम गाह्रो हुन्थ्यो । शरीर पूरै थाक्थ्यो । डर पनि लाग्थ्यो । तर हामीले हार मानेनौं । निरन्तर बिरामी जाँचिरह्यौं । त्यो बेला हामीले पीपीई कति पटक रि–युज गरेर लगायौं । मान्छेहरू धेरै आउँथे । सबैलाई क्वारेन्टाइनमा राख्नुपर्ने । उनीहरूलाई जाँच्नुपर्‍यो । आफू पनि सुरक्षित त हुनुपर्‍यो । त्यही भएर प्लास्टिकले आफ्नो शररी ढाकेर पनि जाँच गर्‍यौं । पीपीई किन्छु भन्दा पनि पाइँदैन थियो । दुईचारवटा पन्जा काठमाडौंबाट लिएर आएको थिएँ ।

पछि गाउँपालिकाबाट पनि सहयोग आयो । उहाँहरूले पीपीई उपलब्ध गराइदिनुभयो । त्यति बेला सजिलै पाइँदैनथ्यो पीपीई । अहिले त पहिलेभन्दा सजिलै पाइएको छ । केही दिनअघि प्रदेश सरकारबाट बिरामीलाई अक्सिजन दिने सामान आएको छ । अरू कुरा त यहाँसम्म आइपुग्दैन । प्राथमिक स्वास्थ्य केन्द्र त हेपिएको केन्द्र भयो । बिरामीलाई अझ बढी सेवा सुविधा दिन सक्थेँ जस्तो लाग्छ तर हात बाँधिएको जस्तो महसुस हुन्छ । चाहिने सामग्री उपलब्ध हुँदैन । अनि कति बिरामीलाई अन्त पठाउनुपर्छ ।

मै गर्छु भनेर अघि बढन सबैलाई गाह्रै हुने रहेछ । पहिला सबै बिरामीलाई जाँच्न म आफै अघि सरेँ । यस्तो बेलामा प्रोत्साहन दिने मान्छे चाहिने रहेछ । उहाँहरूले नाइँ चाहिं भन्नुभएन । ‘मलाई त केही भएन तपाईंहरूलाई पनि केही हुन्न, केही पर्‍यो भने हामी छँदैछौँ, ब्याकअप सपोर्ट छौँ’ भनेर उहाँहरूलाई सम्झाएँ । अहिलेसम्म उहाँहरू साथमै हुनुहुन्छ ।

स्टाफ परिचालन गर्न गाह्रो त भएको छ । अहिलेसम्म जसोतसो गरिराखेको छु । मेरा साथीहरूलाई चाहिने सामग्री पुगेन भने म काम गर्दिनँ भनेर मैले गाउँपालिकामा कति पटक भनेको छु । त्यस्तो अडान लिनुपर्ने रहेछ । मलाई चाहिने सामान जसरी पनि पठाउनुपर्‍यो, नत्र काम गर्दिनँ भनेर जिल्लामा पनि भनेको छु । आफ्ना स्टाफलाई सकेसम्म सुरक्षित राख्ने प्रयास गरेर काम गराइरहेको छु ।

उहाँहरूको नियमित जाँच पनि गराइरहेको छु । अहिलेसम्म हामी कसैलाई कोरोना लागेको छैन । आफूले जाँचेको मान्छेमा कोरोना भेटियो भन्ने सुन्दा सुरुमा ‘ला ! मलाई पनि सर्‍यो कि ?’ भन्ने डर लागेको थियो । उनको सम्पर्कमा आएका सबै जनाको र्‍याल जाँच गर्न पठायौँ । रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा बसेँ ।

त्यति बेला मनमा अनेकौ कुरा खेल्थे । रिपोर्ट पोजेटिभ आयो भने के गर्ने होला ? यहाँको बिरामी कसले हेर्लान् ? काम कसरी चलाउने होला भन्ने लाग्थ्यो । पछि रिपोर्ट नेगेटिभ आएपछि डर अलिकति कम भयो । अर्कोचोटि पनि टेस्ट गर्दा नेगेटिभ आयो । त्यसपछि चाहिँ पटक्कै डर लागेन । जे हुन्छ होस् भन्ने भएको थियो । आफू सुरक्षित भएर काम गर्नुपर्छ भन्ने भयो ।

बिरामीको मुख देखेपछि कोरोना लागेकै भए पनि मैले सेवा दिनुपर्छ भन्ने लाग्छ । कहिलेकाहीं चाहिँ म पनि कमजोर हुन्छु । छाडेर हिँडौँ कि जस्तो पनि हुन्छ । तर मैले नगरे कसले गर्ने भनेर आफैलाई सम्हाल्छु ।

काउन्सिलिङ गर्न एकदम गाह्रो । बाहिर (भारत) बाट आउनु भएकालाई ‘जाँच गरेर मात्रै घर पठाउछौ’ भन्दा उहाँहरू भन्नुहुन्छ, ‘मैलै काहाँ कोरोना बोकेर आएको छु र ? मलाइ केहि भएको छैन । म कसैको सम्पर्कमै आएको छैन ।’

उहाँहरू सकेसम्म जँचाउन नखोज्ने । त्यस्तोलाई सम्झाउन एकदम कठिन हुन्छ । घण्टौसम्म राखेर सम्झाउनुपर्छ । समय त्यत्तिकै खेर जान्छ । त्यो समयमा अरू कति बिरामीलाई हेर्थें होला जस्तो लाग्छ ।
एकएक जना जाँच गर्न तयार भए पनि तुरुन्तै स्याम्पल लिन हामी सक्दैनौँ । पीपीई धेरै खर्च नहोस् भनेर धेरै जनाको स्याम्पल एकै पटक लिने गर्छौं । बहिरबाट आएका मानिसका छिमेकीहरूले त्यो मान्छेलाई रिपोर्ट नआईकन गाउँमा आउन दिनुहुन्न भन्छन् । यस्ले गर्दा उनीहरू झन् निरुत्साहित हुन्छन् । यस्तो बेलामा छिमेकीलाई समेत सम्झाउनुपर्छ ।

कोरोनाको शंका भएको भनेपछि एकदमै नराम्रो सोच्ने चलन छ । अलि पहिले अन्दाजी ४० वर्षका एक जना भारतबाट घर फर्कनु भएको थियो । क्वारेन्टाइनमा बसिसकेपछि उहाँ घर जानु भएको थियो । उहाँले एक दिन मलाई फोन गरेर रुँदै भन्नुभयो, ‘तपाईंले मलाई किन यस्तो गर्नुभएको ? मैले के रोग बोकेर आएको थिएँ र ? मलाई घरपरिवार र छरछिमेकमा नराम्रो व्यवहार गर्छन् । अँध्यारो कोठामा राखेका छन् । खाना पनि बाहिरबाटै फाल्दिन्छन् ।’

उहाँ साँच्चै उदास भइसक्नु भएको रहेछ । उहाँ र उहाँको परिवारलाई बोलाएर सम्झायौँ । कोरोना लागेका मान्छेलाई कलंक ठान्ने गरेका छन् ।

कामको बढी नै चाप छ । एक जना डक्टरले आइसोलेसनका सबै बिरामी हेर्नेुपर्छ । अर्को डाक्टरले अरू बिरामीलाई । आइसोलेसनमा काम गर्ने डाक्टरले २ हप्ता क्वरोनटाइनमा बस्नुपर्छ । त्यति बेला एक जना डक्टरले हेर्नुपर्छ प्राथमिक स्वास्थ्य केन्द्र । गाह्रो त हुन्छ तर आफ्नो दायित्व हो, गर्नै पर्छ । हामीले न गरे कसले गर्ने ?

सरकारी अस्पतालमा आउन खोज्ने धेरै हुन्छन् । यहाँ पनि त्यस्तै छ । कहिलेकाहीं त म ३-४ दिनसम्म पनि सुत्दिनँ । पीपीई खोल्दा सबै लुगा भिजेको हुन्छ । पहिलो पटक स्तब्ध भएको थिएँ । लुगा यसरी पनि भिज्छ भनेर । निचोर्दा पानी निस्कने गरी भिज्छ लुगा । अनि बाफिन्छ । म चस्मा लगाउने मान्छे । एक पटक लगाएपछि त्यसलाई चलाउन मिल्दैन । बाफिएकै चस्माले बिरामी हेर्र्नुपर्छ । आधा देखिदैन ।

ल्याबका भाइहरूले स्याम्पल संकलन गर्न ठाउँठाउँमा घुमिराख्नुपर्छ । बाटो डरलाग्दो छ । कहिले बाटोमा दर्के पानी परिदिन्छ । त्यस्तो बेला पनि भिज्दै स्यम्पल संकलन गर्नुपर्छ । पीपीई लगाउनुअघि नै जति खाने हो खाने गर्छु । पानी धेरै पिउँदिनँ । बीचमा बाथरुम जानुपर्छ भनेर । पीपीई बचत गर्नुपर्छ नि ! कहिले मान्छे कुर्नपर्ने हुन्छ । त्यस्तो बेलामा गाह्रो हुन्छ । खान पाइँदैन, बाथरुम जान पाइँदेन । पिरियड भएका बेला हिँड्नुपर्दा अप्ठेरो हुन्छ । कहिले यस्तो गर्मी हुन्छ कि पसिना बगेको बग्यै गर्छ । पीपीई लगाउँदा त्यति गाह्रो हुन्छ भन्ने थाहा थिएन ।

सुरुमा त मेरो घरपरिवार आत्तिएको थियो । घरबाट फोन गरेर भन्नुहुन्थ्यो — ध्यान दिनु, पीपीई लगाएर मात्रै काम गर्नु । कहिले ‘कहाँ पाउनु पीपीई ?’ भन्थेँ । कति पटक त ‘अँ लगाएको छु’ भनेर घरको मान्छेलाई ढाँटेँ । उहाँहरूलाई अलि ढुक्क होस् भनेर । पछि रिपोर्ट पनि नेगेटिभ आएको थाहा पाएपछि भने घरका मान्छे आत्तिन छाड्नुभयो । चार महिना भइसक्यो घर गएको छैन । परिवारको न्यास्रो लाग्छ । बच्चैदेखि काठमाडौंमा परिवारसँगै हुर्केबढेको मान्छे म । तनहुँमा काम गर्दा ओहरदोहर गर्थें । वीर अस्पतालमा काम गर्दा त कुरै भएन ।

यस्तो महामारीका बेला कामबाट पन्छिनु पनि भएन । घरमा ममी, बुबा, दाइ, भाउजू अनि अरू मेरो नातेदार साथीभाइहरूसित कुराकानी हुन्छ । परिवारका सदस्यले ‘यस्ता बेलामा छोरीले काम गरिरहेको छ, गर्व लाग्छ’ भन्दा हौसला मिल्छ । खुसी लाग्छ । तर घरपरिवारको न्यास्रो लाग्छ । संयुक्त परिवारमा बस्ने भएर पनि होला घरको धेरै न्यास्रो लाग्छ । बिदा मिलेपछि एक पटक घर जानुपर्ला भन्ने सोचेको छु । घर जान नपाएर आत्तिएको छु । तर यहाँ मेरो आवश्यकता छ । त्यसैले यहीँ बस्छु किनभने मेरा लागि काम ठूलो कुरा हो ।

यो कथा डा. प्रकृति भट्टराईसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।