कोरोनाका बीचमा गोवादेखि रोरांग

मेरो घर सिन्धुली हो तर धेरै अघिदेखि म, आमाबुबा र दुई बहिनी अस्थायी रुपमा काठमाडौंमा बस्छौं । बुबा घरको ठेकेदार, आमा गृहिणी हुनुहुन्छ । बहिनी भाटभटेनीमा जागिर गर्थी । सानी बहिनी पढ्थी । म कहिले बुबाको साइटमा त कहिले अंकलको रेष्टुरेण्टमा सहयोग गर्ने गर्थें। कक्षा १२ पढिसकेपछि स्नातक तहमा भर्ना भएको थिएँ । तर कलेज जाने इच्छा बिस्तारै हरायो ।

पहिलो वर्षको परीक्षापछि मैले कलेज छोडें र विदेश जाने विचार गरेँ । अरुको जस्तो अस्ट्रेलिया, अमेरिका जाने ठूलो सपना थिएन । कतार दुबई भए पनि जाने विचार आइरह्यो । धेरैचोटि प्रयास गर्दा पनि भिसा आएन ।

एकदिन भिनाजु आएर मलाई भारतको गोवा भन्ने ठाउँमा रेष्टुरेण्टमा काम गर्न जान्छस् भनेर सोध्नुभयो । हुन्छ भनेँ । तिहारको रमझम सकेर म र भिनाजु लाग्यौं नयाँ सपनाको शहर गोवातिर।

गोवा हामीले टिभीमा देखे जस्तो थिएन । त्यहाँ काममा पूरै व्यस्त हुनुपर्थ्यो । काम मज्जाले चल्दै थियो । गोवा गएको ६ महिनापछि एकाएक कोरोना भाइरस फैलिएको हल्ला आयो । भाइरसको संक्रमण दिनानु दिन बढ्दै गयो ।

भारतमा कोरोना देखा पर्न थालेको केही समयमै भारत सरकारले लकडाउन घोषणा गर्यो । त्यहाँका सबै काम ठप्प हुन थाले । गोवा त सुरक्षित नै थियो तैपनि त्यहाँ पनि लकडाउन घोषणा भएपछि हामी काम विनै दिन बिताउन थाल्यौं । लकडाउन घोषणा भएको पहिलो २० दिनसम्म एकदम कडा गर्यो । रेष्टुरेण्टको स्टकमा रहेको खानेकुरा खायौँ । बिस्तारै अन्न भण्डार रित्तिन थाल्यो । आफ्नो गोजीमा पैसा थियो तर विडम्बना पसल सबै बन्द थिए । पसल बन्द भन्दा पनि सामान पाउन एकदमै मुस्किल ।

२०-३० दिनको लकडाउनपछि काम गर्ने ठाउँ खोल्न नपाए पनि रासन पसल, फलफूल पसल तथा तरकारी पसल खोल्न सरकारले अनुमति दियो । त्यति बेला महँगीले आकाश छोएको थियो । लकडाउन अगाडिको भन्दा दोब्बर पैसा तिर्नुपर्ने बाध्यता थियो । होटलमा काम गर्ने हामीहरुका लागि खानेबस्ने व्यवस्था होटलले नै गरिदिएको थियो ।

दुई महिना त हामी साथीहरु मिलेर बसेका थियौं । पछि पञ्चायत हो कि को हो नाम टिप्न आएको थियो । तपाईंहरु आफ्नो देश फर्किनुहुन्छ भने नाम टिपाउनुहोस् भने । नाम टिपिसकेपछि के कसो गर्ने भन्ने कुरा १५-२० दिनमा थाहा हुन्छ भनेर हिँडे । पछि २०-२५ दिनमा केही खबर आएन ।

कोरोना कहिलेसम्म रहन्छ भन्ने निश्चित नभएको कुरा चलिरहेको थियो । हामीसँगै बस्ने र अन्य ठाउँका चिने जानेका नेपालीले नेपाल फर्कने कुरा गर्न थाले । त्यसैले हामी आफूआफू मिलेर नेपाल फर्कने विचार गर्‍यौँ । मैले आफ्नो गाउँ सिन्धुलीका वडाध्यक्षलाई फर्कन लागेको बताएँ । उहाँले पनि ‘हुन्छ, परेको सहयोग गरौँला’ भन्नुभयो । सुनौली जाने हामी ४७ जना भयौं । त्यसपछि नेपाल फर्किन एउटा बस बुक गर्यौं । बसले कतै पनि नरोकी गोवाबाट सुनौली बोर्डर पुराउने कुरा गर्यो । प्रति व्यक्ति हामीले छ हजार पाँचसय उठायौं । हामीले समूह समूह मिलाएर बाटामा खान बिस्कुट चिप्स चकलेट पानी जुस किन्यौं ।

जेठको अन्तिम सातातिर हामी गोवाबाट सुनौली हिँड्यौँ । बस पेट्रोल भर्न र टोइलेट जान मात्र रोक्थ्यो। चार दिनपछि हमी सुनौली बोर्डर आइपुग्यौँ । आफ्नो देश आइपुगियो भनेर आनन्द लागेको थियो । चार दिनसम्मको भोक तिर्खा हराएर मनमा छुट्टै जोस आएको थियो।

तर नेपालको सिमाना आएपछि पनि दु:ख र पीडा घटेन । गाउँमा वडाध्यक्षसँग कुरा गरें । ‘डाइभर छैन, त्यसैले सिधुलीबाट सुनौलीसम्म गाडी पठाउन नसकिने भयो’ भन्नुभयो । हामीसँगै गएका ४५ जनामध्ये कतिलाई लिन गाउँपालिकाका गाडी त्यहाँ पुगेका थिए । उनीहरु आफ्नो बाटो लागे । हामी केही भने वाल्ल न ब्याल्ल भयौँ ।

सँगै आएकामध्ये हामी १४ जना बाँकी थियौं। हाम्रो समूहमा धेरैजसो धादिङका विभिन्न गाउँका थिए। त्यहाँ पनि गोवाबाट आएको जस्तो गरी पैसा मिलाएर भाडामा मलेखुसम्म जाने योजना बनायौँ । म एक्लै थिएँ सिन्धुली जाने । त्यसैले मैले पनि मलेखुभन्दा अलिमाथि मेरो मामाघर जाने विचार गरेँ ।

हामीले सुनौलीबाट मलेखु जाने बस खोज्न थाल्यौं। त्यो बेला सीमामा कस्तो नियम रैछ भने नेपालपटिबाट कोही डाइभरले मेरो मान्छे हो भन्यो भने नेपाल प्रहरीले नेपाल छिर्न दिने नत्र भने नपाइने । बल्लतल्ल ३-४ घण्टापछि हामीले एक जना मान्छे भेट्यौं । उसले नेपालको ड्राइभरसँग कुरा गरिदिने र गाडी मिलाइदिने रहेछ। उसले ४० हजार दिने भए सुनौलीदेखि मलेखुसम्म जाने गाडी मिलाइदिन्छु भन्यो । हामीले ३७ हजारमा कुरा मिलायौं।

त्यो बेला न त कोरोनाको डर थियो, न त भोक नै लागेको थियो । हामीलाई अरू केही चाहिएको थिएन । आफ्नो ठाउँ कहिले पुगुँझैं भएको थियो ।

सँगै आएकाहरु आफ्नो ठाउँ आएपछि झर्दै गए । अन्तिममा हामी मलेखुभन्दा अलि माथि गाउँमा पुग्यौं । त्यो बसले ल्याइदिने आन्तिम ठाउँ थियो। हामी त्यहाँ पुगेर बसबाट ओर्लिन लागेका मात्र के थियौं कोरोना बोकेर आयो भनेर त्यहाँ भएका मानिसहरुले हामीलाई हप्कीदप्की गरे । त्यो बेला उनीहरुले हामीलाई बौलाहा कुकुरलाई गर्ने जस्तो व्यवहार गरे ।

पहिले विदेशबाट आएकाहरुलाई सबैले घेरेर ‘ओहो बाबु कहिले आइस् कस्तो छ भरे घरमा आइज है’ भन्थे । मैले अहिले त्यो कुरा सम्झें । अहिले उनीहरुको व्यवहार देखेर नरमाइलो लाग्यो । परिस्थिति त्यस्तो भयो त त्यसमा हाम्रो के दोष थियो ? हामीभन्दा टाढा बसेर हाँसेर बोल्दा के जान्थ्यो र भन्ने लाग्यो ।

मसँग आएका साथीहरु त्यहींका थिए । मरो मामाघर पुग्न यहाँबाट ५-६ घण्टा हिँड्नुपर्थ्यो । मलाई त्यहाँका मानिसहरुले एकछिन पनि नबसिदिए हुन्थ्यो जस्तो गरे। म एक्लै सिन्धुली जानेकुरा थिएन । गाडी पनि त्यहींसम्मका लागि बुक गरिएको थियो । त्यो बेला दिउँसो २ बजेको थियो । धेरै दिनको धपेडीले गर्दा बिरामी पर्छु कि जस्तो भएको थियो । तर जस्तो अवस्थामा भए पनि त्यहाँबाट छिटोभन्दा छिटो हिँडौँ जस्तो लाग्यो ।

त्यहाँबाट हिँडेपछि मैले मामालाई फेन गरेर यता बस्न नदिएकोले माथि गाउँ आउन लागेको खबर गरेँ । हिंडेको करिब ८ घण्टापछि रोरांग (मामाको गाउँ) पुग्दा मामाले स्कूलको क्वारेन्टाइनमा मेरा लागि व्यवस्था गरिदिदिनु भएको रहेछ ।

त्यहाँ पुगेपछि बल्ल आनन्दको सास फेरें । क्वारेन्टाइनमा बस्दा आनन्दै थियो । आफ्नो घर बराबर लागेको थियो । १४ दिन क्वारेन्टाइनमा बसेपछि १५ औं दिनमा पीसीआर चेकअप गर्न आयो । चेक त गरें तर पनि रिपोर्ट २० औं दिनमा मात्र आयो । बेलुका हाम्रो रिपोर्ट नेगेटिभ आएपछि अब हजुरहरु आफ्नोआफ्नो घर जान सक्नुहुन्छ भन्यो ।

अहिले म काठमाडौंमा घरपरिवारसँग बसेको छु । आफूले बल्लबल्ल कमाएको पैसाले यहीँ केही गरुँला भन्ने सोचेको थिएँ । तर के गर्नु अलिअलि कमाएको पैसा नेपाल आइपुग्दैमा सकियो । अब यता केही काम पाइँदैन ।

यता बेरोजगार बस्न नपरोस् र घरपरिवारलाई केही मात्रामा भए पनि सहयोग गरौँ भनेर आमासँग मिलेर एउटा सानो होटल चलाउन थालेको छु । थोरै मात्रै आम्दानी भए पनि धेरै सहयोग हुन्छ भन्ने लागेको छ ।

यो कथा प्रदीप लामासंग गरीएको कुराकानीमा रहेर रमेश श्रेष्ठले लेख्नु भएको हो ।

 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।