सावधानी जरुरी छ

म अनुप कुमार चौरसिया, मेरो घर वीरगन्ज-११, पर्सामा पर्छ । एक महिना अघिसम्म म इन्डियाको गुजरात, अहम्दाबाद शहरमा थिएँ । दुई वर्षदेखि त्यहाँ एल.एम.कलेज अफ फार्मेसीमा बिफार्म पढ्दै थिएँ। कलेजको होस्टेलमा बस्छु । हुन त हामी बोर्डरमा बस्नेहरुलाई भारत; अस्ट्रेलिया, अमेरिका जस्तो विदेश नलाग्न सक्छ तर पनि अरुको देश भनेको अरुकै देश हो । आफ्नै देशभित्र भए पनि काठमाडौंमा हुनेहरुले लकडाउन हुने हल्ला सुन्नासाथ आ-आफ्नो घर फर्कन मरिहत्ते गरेका थिए । म अरुको देश त्यो पनि होस्टेलमा बस्ने मान्छे ।

त्यति मात्र होइन ममीले हरेक दिनजसो ‘सकभर आवेके कोसिस कर’ (आउन मिलेसम्म आउन खोज) भन्दा चिन्ताले त कहिले घर पुगुँ जस्तो हुन्थ्यो । बच्चादेखि ज्वोरो आउँदा होस् या टाउको दुख्दा या खेलेर लड्दा ममीले सम्हाल्नु भएकोले होला भारतमा दिनानुदिन कोरोनाका केस बढ्न थालेपछि ममी सारै अत्तालिनुभयो । दिनको दुई घण्टा जस्तो हामी गफ गर्थ्यौं तर फोनको कुराकानीले आमाको मन के शान्त हुँदो हो र । त्यसैले पनि गाडी खुल्नासाथ घर पुग्नु मेरो पहिलो लक्ष्य थियो । घर पुगेर ‘हम सुरक्षित बा नी’ (म सुरक्षित छु) भनेर ममीलाई अँगालो मार्न मन थियो । अगाँलो मार्न नपाए पनि उनको आँखा अगाडि उभिने मन थियो । तर मेरो मनले भनेर मात्र पनि कहाँ हुने रहेछ र ! कोरोनाका केस घट्नुको साटो बढेर भारत र नेपाल दुवैतिर लकडाउन भयो अनि संक्रमणसँगै थपिएको थपियै हुन थाल्यो ।

भारत र नेपालमा सँगसँगै जस्तो लकडाउन सुरु भएको हो । दुवैमा पहिला फाट्टफुट्ट मात्र केस देखिएका थिए । बिस्तारै संक्रमित बढ्दै जान थाले । संक्रमित हुने र मर्ने गति नेपालभन्दा भारतमा बढेपछि डर झन् बढ्न थाल्यो । हामी त्यहीं भएकोले घरमा सबै आत्तिनु स्वाभाविकै हो । घरतिर के होला भन्ने डर त मलाई पनि थियो किनकि हाम्रो घर सीमा नजिक छ । पछि वीरगन्झ पनि कोरोनाको हटस्पट भएपछि त मेरो सातोपुत्लो उड्न थाल्यो । तर के गर्नु फोनमा कुराकानी गर्नुबाहेक अरू केही उपाय थिएन । दुवैतिरका समाचार हेर्दा झन् पिर लाग्ने । त्यही भएर हामी धेरै गफ गर्थ्यौं । यसो गर्दा आफन्त र मेरो मन अलिकति भए पनि हल्का हुन्थ्यो । यस्ता बेलामा अरूको त के आफ्नै चिन्ता गरिसक्नु थिएन ।

चैत ११ गते नेपालमा लकडाउन सुरु भयो । सुरुसुरुमा त धेरै केस आएनन् । तर वैशाखतिर केसहरु एक्कासि बढ्न थाले, मान्छेहरु त्रसित हुन थाले र सावधानी पनि अपनाउने थाले, सामाजिक दूरी कायम गर्न थाले, मास्क-स्यानिटाइजरको प्रयोग हुन थाल्यो भनेर घरबाट सुनाउदा म दंग पर्थें । नेपालीहरु कति सजग भएको ।

आफ्नो देश, आफ्नो घर फर्किन मन भए पनि दुवैतिरको लकडाउनले गर्दा फर्किने चाहना अधुरै रह्यो। हामी धेरै सावधानीका साथ होस्टलमा लक्ड लाइफ बिताउँदै थियौं । चाहिएका सामग्री अनलाइनमार्फत मगाउने गर्थ्यौं । त्यसरी मगाएका सामग्रीहरुलाई ३ दिनसम्म घर बाहिरै राख्थ्यौं । त्यति धेरै सावधानी अपनाए पनि मनमा त्रास कम भएको थिएन । जेसँग पनि डर लाग्ने जोसँग पनि डर लाग्ने । अचम्मैको समय पनि भोगियो ।

केही दिनपछि कोरोनाका केस नघटे पनि बिस्तारै हामी बसेको तिर सबै कुरा सामान्य हुन थाल्यो । संक्रमण नरोकिए पनि केही दिनपछि भारतमा रेल समेत चल्न थाल्यो । रेल चलेपछि घर जाने मेरो रहर झन् बढ्न थाल्यो । सायद ममीको चिन्ता, यस्तो दु:खको समयमा एक्लोपनले पनि होला घर कहिले पुगुँ कहिले पुगुँ भएको ।

अन्तत: २०७७ असार १६ गतेको टिकट पाएँ । पहिले यही टिकटको १२०० देखि १५००भारु लाग्थ्यो अहिले त्यही टिकटलाई २२०० भारु तिर्नुपर्यो। विपत्‌मा, दयालु हुनुपर्ने बेला मान्छेले झन् लुट्दो रहेछ जहाँ पनि । टिकट महँगो भएको भन्दा पनि चिन्ता अर्कैको थियो । घर जान होस्टलबाट बाहिरिनु थियो । मनमा डर धेरै थियो साथसाथै घर जाने खुसी पनि थियो ।

आत्मविश्वासका साथ रेल चढेँ । स्टेशनमा धेरै मान्छे थिए तर सबले मास्क लगाएका थिए । रेलभित्र बस्दा पनि सबै यात्रीले दूरी कायम गरेका थिए । तर पनि मनमा डर फिटिक्कै कम भएन । सिटमा बसियो, ट्रेनको ढोकाको ह्यान्डल पनि समातियो ।

ट्रेनमा खाजा बेच्न मनाही थियो । त्यसैले खाने कुराको बहुत समस्या भयो । केही बिस्किटको सहारामा ३०घण्टाको ट्रेनको सफर काटेँ । त्यहाँबाट धेरै सावधानी साथ बिहारको रक्सौल आएँ । गुजरातको अहेम्दाबादका तुलनामा रक्सौलका मान्छे एकदम लापरबाह थिए । धेरैले मास्क पनि लगाएका थिएनन् ।

जसोतसो जोगिदै त्यहाँबाट निस्किएँ । सीमा पार गरेर नेपाल प्रवेश गरें । धेरै डर लागेको थियो सीमाको समाचार सुन्दा । तर सुनिए जस्तो त्यति गाह्रो भएन । म अलिक पछि आएकाले पनि होला । वीरगन्ज आएर पीसीआर टेष्ट गराएँ । डाक्टरले होम क्वारेन्टाइनमा बस्दा पनि हुन्छ भन्नुभयो । अहिले नियम पालन गरेर बसेको छु । बाहिरको क्वारेन्टाइनमा बस्नुभन्दा सावधानी अपनाएर घरमै बस्नु धेरै सुरक्षित लाग्यो । अन्त क्वारेन्टाइनमा बस्नुपरेको भए कस्तो हुन्थ्यो थाहा छैन । घरबाट बाहिर कतै नगएकोले होला अरूले कस्तो व्यवहार गर्छन् भन्ने मेसो पाएको छैन ।

आज १५ दिन जति हुन लाग्यो । घर बाहिर नगए पनि झ्यालबाट देख्छु – मान्छेहरु आजकल धेरै लापरबाही गर्दै छन् । बिना मास्क आनन्दले डुलिरहेका छन् । यो लापरबाहीले गर्दा हामीले छिट्टै ठूलो क्षति भोग्नुपर्ने हुन सक्छ । लकडाउन खोलिए पनि कोरोना हराएको छैन । अझ वीरगन्जमा त खाली भएका आइसोलेसन सेन्टर फेरि भरिन थालेका छन् भन्ने सुन्दैछु । समुदायमै संक्रमण फैलिएको हो कि भन्ने शंका पनि गरिदैछ । हालसालै कोरोना देखिएकोहरुको मृत्यु पनि भयो क्यार ।

जति हेलचेक्र्याइँ गर्नु गरियो तर अहँ अब गर्नुहुन्न । हामीले के बुझ्नुपर्‍यो भने अमेरिका, चीन र अरू धेरै ठूलठूला देशहरुले पनि यति धेरै सावधानीका बाबजुद क्षति बेहोर्नुपर्‍यो । त्यसैले, बेलैमा होस् पुर्‍याउँ । बिना मास्क बाहिर ननिस्कौँ र सक्दो सावधानी अपनाऊँ । किनभने हामीसँग स्रोत साधन सीमित छ । त्यति सावधानी अपनाउँदा पनि डाक्टर त बचेका छैनन् भने हामी अर्कै ग्रहबाट आएका हौँ र बच्छौँ ? केही दिन केस अलि कम हुँदा अब कोरोना लाग्दैन अथवा कोरोना भाग्यो भन्ने नसोचौँ । अहिले धेरै देशहरुले फेरि लकडाउन गर्दैछन् त्यसैले, अरूको अनुभवबाट बेलैमा सिक्नौँ । अरू देशहरुको जस्तो हालत हाम्रो नहोस् ।

भोकले मर्नुपर्ने अवस्था आयो

लकडाउन कहिले खुल्ला-लकडाउन कथा

लकडाउन कहिले खुल्ला ?

कसको सहारा पाउने खै ?

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।