… के भयो अहिले ?

म नुवाकोटको भैंसेमा बस्छु । अहिले २३ वर्षको भएँ। पुरानो माइक्रो किनेपछि अब म पनि पैसा कमाउँछु, भविष्य बनाउँछु भनेर योजना बुनेको थिएँ । तर ती सबै योजना फेल भए । सपना देखे जस्तो भयो ।

म सानैदेखि मामाघरमा हुर्केको हुँ । मेरो बुबाआमा दुवै हुनुहुन्न। मेरा दिदीबहिनी दुवैले विवाह गरिसकेका छन् । मलाई सम्झना भएदेखि बुबाको अत्तोपत्तो छैन। आमा हामीहरुलाई मामाघरमा छोडेर अर्कैसित जानुभयो।

मामाघरको बुबाआमाले पनि हामी तीन जनालाई कसरी पढाउनु हुन्थ्यो र ? त्यसैले, पाँच कक्षासम्म पढें । अनि पैसा कामाउन काठमाडौं गएँ । पछि काठमाडौंबाट साथीहरुसँगै भारत गएँ । त्यहाँ पाँच वर्ष होटेलमा काम गरें । भारतमा पनि बस्न मन लागेन । अर्काको देशमा कति काम गर्नु जस्तो लाग्यो। कमाइ पनि राम्रो थिएन। त्यसैले नेपाल फर्किएँ ।

काठमाडौं आएर गाडी चलाउन सिकें । त्यसपछि मैले स्कूलको गाडी चलाउन पाएको थिएँ । कमाइ ठिकै हुन्थ्यो । बचत धेरै हुन्न थियो । तैपनि तीन वर्ष जति चलाएँ । त्यो बेला मनमा अर्कोको गाडी चलाउनुभन्दा आफ्नै गाडी चलाउनुपर्छ भन्ने विचार आयो । आफ्नो गाडी भयो भने आफै खट्दा र मिहेनत गर्दा केही कमाउन सक्छु जस्तो लाग्यो । त्यसैले मैले सस्तोमा, तीन लाख जतिमा माइक्रो पाएँ र ऋण गरेर भए पनि किन्छु भन्ने योजना बनाएँ । माइक्रो किनें पनि । दिदीले एक लाख ऋण खोजी दिनुभयो ।

माइक्रो किनेपछि रिंगरोडको रुटमा चलाएँ । मैले माइक्रो किनेको दुई दिनपछि नै लकडाउन भयो। मैले एक दिनभन्दा बढी माइक्रो चलाउन पाइनँ। माइक्रो किन्दा स्कूलबाट आएको पैसाले छिटै ॠण तिर्छु । स्कूलको गाडी चलाउनु नपरेका बेला माइक्रो चलाउँदा आफ्नो खर्च टर्छ भनेर योजना बनाएको थिएँ । तर सबै योजना र सपना टुटे । यस्तो होला भनेर कल्पना पनि गरेको थिइनँ । कोरोनाबारे सुनेको पनि थिइनँ ।

अहिले फेरि धेरै वर्षपछि गाडी लिएर मामाघर आएको छु। मेरो गाडी नचलाई राखेकोले बिग्रेको छ। पुरानो माइक्रो किन नबिग्रोस् त ? अहिले एक पैसा नि छैन। अलि अलि भएको पनि सबै गाडीमा गयो।

मामाघरमा हजुरआमाले यताउता सरसापटी गरेर घर खर्च टार्नु भइरहेको छ । दिन बिताउन पनि गाह्रो लाग्न थालेको छ। अहिले गाउँमा मेलापात गर्ने बेला छ तर काम गर्न कसैले बोलाउँदैन। काम गर्न सक्दैन भनेर हो कि वा ड्राइभरलाई काम गर्न के आउला भन्ने सोचेर हो कि ? आफ्नो माइक्रोको ताल देख्दा पिर लाग्छ। गाडीको साहु भएर के गर्नु गाडी नै चलाउन पाको छैन । त्यो बेला गाडी नकिनेको भए नि आनन्द हुन्थ्यो । कस्तो बेला गाडी किन्न पुगेछु । कहिले खुल्ने हो, कहिले चलाउन पाउने हो ? दिक्क लागिसक्यो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।