न पढाइ, न व्यवसाय

सुरुमा एक हप्ता लकडाउन हुने समाचार सुनेपछि ‘राम्रै भो गाउँ नगएको पनि धेरै भएको थियो । यो बन्दमा गाउँ जान्छु’ भन्ने भयो । अनि धादिङ आएँ । तर एक हप्ता होइन दुई हप्ता होइन १०४ दिन भयो म गाउँ आएको ।

मेरो गाउँ धादिङको सुनखानी भन्ने ठाउँमा पर्छ।

म विधार्थी हुँ । सँगसँगै स्टार ह्युमन रिसोर्स प्राइभेट लिमिटेड नामक कम्पनी चलाउँछु जसले घर, कोठा, जागिर आदि खोज्ने काम गर्छ । दुई जनाको साझेदारी हामीले ३ वर्ष अगाडि यो कम्पनी खोलेका थियौं । लगानी लगभग १० लाख लागेको थियो । लगानी त गरियो तर गर्नुपर्ने काम र तरिका बुझ्नै लगभग एक वर्ष लाग्यो मलाई । त्यसपछि कमाइ राम्रै हुँदै थियो, नेटवर्क पनि बढ्दै गएकोले अब चाहिँ राम्रो हुन्छ कि भन्ने आश लागेको थियो तर आज चार महिना हुन आँटिसक्यो लकडाउन सकिने छाटकाट छैन । बडो तनाव भएको छ ।

भर्खरै मात्र स्नातकोत्तरमा भर्ना भएको थिएँ । दुई हप्ता पनि कलेज जान पाइन लकडाउन भइहाल्यो । धेरैजसो साथीहरु अनलाइन क्लास लिइरहेका रहेछन् तर मैले क्लास लिन सकेको छैन किनकि हाम्रो गाउँमा वाइफाइ सुविधा छैन । मोबाइल डाटा पनि राम्रो चल्दैन। मलाई कलेजले फोन गरेको थियो । क्लास भइरहेको जानकारी दिएको थियो तर मैले म क्लास लिन सक्ने अवस्थामा छैन भनिदिएँ । मुख्य कुरा त मैले किताब किनेको छैन र डाटा पनि चल्दैन । मलाई ३ दिनअघि मात्र पनि कलेजको प्रिन्सिपलले फोन गरेर क्लास जसरी पनि लिनुपर्छ भन्नुभयो । उहाँले परीक्षा पनि हुन्छ भन्नुभएको छ । यस्तो अवस्थामा पीरिक्षाको तयारी गरेको छैन । पहिलो सेमेस्टरको परीक्षा हुन सक्ने कुराले आजभोलि नचाहिँदो तनाव थपिएको छ ।

पढाइको चिन्तासँगै कामको चिन्ता पनि छ । बल्लबल्ल सुरु गरेको व्यवसाय अहिले पूरै डावाँडोल छ। काठमाडौं छोडेर गएपछि एक पटक पनि अफिस पुग्न सकेको छैन । हुन त अहिले सबै जना घरमै छन् । तर पनि मनमा कामै नभए पनि अफिसमा गएर बस्न मात्र पाए पनि हुन्थ्यो जस्तो लाग्ने। महिनाको २२ हजार घर भाडा तिर्न पर्छ । अहिले चार महिना हुन लागिसकेको छ । घरबेटीले भाडा देऊ भनिसकेका छन् । तीस हजार दिइसकेको छु । बाँकी कसरी दिने भनेर जिल्ल परेको छु। कतै सरसापट गरौँ भने पनि हाम्रो बिजनेसको अब भर छैन जस्तो लाग्छ । अब आर्थिक संकट हुने भन्ने हल्ला छ । जागिर हुनेहरुलाई धमाधम जागिरबाट निकालिदैछ भन्ने सुनेको छु । यस्तो बेलामा नयाँ काम कसरी पाउनु ।

कसैले किन्ने भए पनि बेच्न हुन्थ्यो कम्पनी । तर को आउँछ र यस्तो बेलामा ? गुडविल भ्याल्यु ठूलो छैन । अफिसका सामान कसले किन्ला र ? कसैले किनिहाले पनि पनि टेबल, कुर्सी, कम्प्युटर मात्र हो । त्यत्रो लगानी गरेर सुरु गरेको व्यवसाय । अब कौडीको भाउमा सामान मात्र बेच्न मनले मानेको नै छैन ।

यसै गरी घरमै बसेर जिन्दगी कसैको चल्दैन। सरकारले पनि काम नगरेको देख्दा दिक्क लाग्छ । मुख्यमुख्य ठाउँमा भटाभट टेस्ट गरेर कोरोना कम देखिएका ठाउँलाई चैं खोले हुने । न टेस्ट धेरै भाको खबर छ न त नियन्त्रण भाको नै । सरकारलाई ढुक्क छ ।

दु:खका बेलामा पनि नेतालाई जनताभन्दा कुर्सी प्यारो हुने रहेछ । सरकारले लकडाउनबाहेक के नै पो गर्यो, के कसरी राहत दिने अथवा नागरिकको दु:ख कसरी घटाउने भन्नेतिर खास केही गरेको छैन । लकडाउन भनेको कोरोनासँग लड्नलाई तयारी गर्ने समय हो । तर १०४ दिनसम्म के तयारी गर्यो त सरकारले । हामीलाई घरमा थुनेर राख्ने काम मात्रै त गर्‍यो । बिस्तारै अब मान्छे घरबाट निस्किन थालिसकेका छन् । कोरोना नराम्रो तरिकाले फैलन्छ जस्तो लाग्छ घरीघरी । जनताले सरकारका कुरा सुन्दैनन् र कोरोनाले पनि कसैको पुकार सुन्दैन । बेसार पानीले धान्दैन । यो पक्का हो।

अरूभन्दा पनि आफ्नै चिन्ता लाग्छ मलाई । आफ्नो भविष्यको चिन्ता । कहिलेकाहीँ हाम्रो दुई-तीन वर्ष यसरी नै जान्छ जस्तो लाग्छ । के के न गरौंला भनेर सपना देखेको थिएँ । सपना पूरा गर्न कोरोनाले दिंदैन जस्तो छ । अब सामान्य हुँदा पनि अवस्था कस्तो हुने हो थाहा छैन । अवसर ल्याउने हो कि झन् झन् गाह्रो हुने हो ।

सुरु सुरुमा कोरोनाको पहिलो, दोस्रो केस सुन्दा ओहो कत्रो डर लाग्थ्यो ! कसैलाई छोइएला कि भनेर तर्की तर्की हिंडियो । अहिले केको साबुन पानी, केको स्यानिटाइजर, केकी मास्क, केको सामाजिक दूरी हाम्रा मान्छेलाई । एउटा कुरा मैले नबुझेको दश-बीसवटा केस हुँदा पसल पसलमा निगरानी गर्ने, मान्छेबीचको दूरी बढाउन लगाउने, अहिले सोह्र-सत्र हजार केस हुँदा चैं मतलब नगर्ने के हो यस्तो ? म छक्क पर्छु यस्तो ताल देखेर आजकल ।

यति मात्र कहाँ हो र राहतको कुरा पनि अचम्म लाग्छ । लकडाउन गरेको पाँच-सात दिनमै राहत दिन हतार भयो । त्यति बेला मान्छेले अलि अलि भए नि टार्न सक्थे । चाहिने नचाहिने सबैलाई दिए राहत । आइफोन बोक्नेदेखि सुनको सिक्री लगाउने समेतले राहत लिएको सुनियो । राहत त अहिले पो चाहिएको छ मान्छेलाई । तर अहिले राहतको कुरा कतै सुनिदैन ।

दु:ख लाग्छ दुई दिनको जिन्दगी भन्छन् चार महिना त लकडाउनले नै लगिसक्यो उफ् !

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।