मेरो लागि लकडाउन भन्ने नै भएन

चैतमा लकडाउन भएपछि केही दिनहरू प्रशासनिक काम बन्द भयो । कार्यालयहरू बन्द थिए । त्यति बेला मैले घरैबाट काम गरें। लकडाउनको त्यस्तै २-३ दिन पछि सीमित कर्मचारीहरूलाई मात्रै कार्यालय बोलाएका थियौं । राहत वितरणको कामका लागि सीमित कर्मचारी बोलाएर काम गर्यौं । म त्यो बेला कतिपय काम फोनबाटै गर्थें । तर पनि राहत बाँड्ने लगायतका काममा भने हिंड्नै पर्थ्यो।

हामी धेरै घरभित्र बसेनौं । जनप्रतिनिधि र सचिव अनि केही कर्मचारीहरू सडकमै घुमियो । काठमाडौं महानगरपालिकाको वडा नं १४ फराकिलो भएकोले कतै न कतै पुग्नुपर्ने हुन्थ्यो । रात बिहान काममा हिंड्नुपरेको थियो । चार महिना लकडाउन हुँदा म अन्य बेलाभन्दा झन् धेरै दिन घरबाट बाहिर निस्कें होला ।

मनिसहरूलाई खान खुवाउन हामीले ५ वटा त मेस नै चलाएका थियौं। सामुदायिक प्रहरीको सहयोगमा पवन अग्रवाल लगायतले त्यसका लागि सहयोग गर्नुभयो।

त्यो बेला धेरै भीड किन गर्ने भनेर बाहिरबाट आउनेलाई भाइबरबाटै वडाका सिफारिसहरू पठाइदिएको थिएँ । अप्ठ्यारो परेर फोन गरेको हुन्छ, कसैले खान नपाएको हुन सक्छ भनेर मलाई धेरै चिन्ता हुन्थ्यो। त्यसैले फोन मैले २४ सै घण्टा उठाएँ र सकेसम्म सबैका फोनको जबाफ दिएँ। फोनमा कतिले भाडामा बस्दा घरबेटीले पानी बन्द गरे भनेर समेत फोन गर्थे ।

मेरो वडामा फलफूल तरकारीको ठूलो होलसेल पसल छन् । भारतीय गाडीबाट फलफूल ल्याएकोले यसलाई बन्द गर्न पर्यो भनेर पनि मलाई नै फोन आउँथ्यो। अनि मैले कहाँ कसलाई भन्ने के गर्ने भनेर समेत प्रयास गरें। भारतबाट गाडी आउने भएकोले गाडी रोक्नुपर्यो भनेर त्यस आसपासका बासिन्दाले मलाई फोन गरे। मैले यो कुरा काठमाडौंका सिडियोलाई भनेको थिएँ। तर सिडियोले नेपाल सरकारले गर्ने निर्णय भएकोले आफूले केही गर्न नसक्ने बताउनुभयो। मैले खाद्यान्न, फलफूल र तरकारी बजारका अध्यक्षहरूसँग बैठक गरेर भारतबाट यो बेलामा सामान नल्याउन आग्रह गरें। उहाँहरूले मान्नुभयो त्यसपछि यो समस्या समाधान भएको थियो।

हामीले घरेलु कामदार र दैनिक ज्याला मजदुरी गर्नेहरूलाई राहत दियौं। वडामा विभिन्न क्लष्टर छुट्याएर राहत वितरण गरियो । हामीले ११ वटा क्लष्टर बनाएका थियौँ । जसले समस्यामा परेकाहरूको तथ्यांक समेत निकालेको थियो । त्यही आधारमा हामीले राहत वितरण गरेको हो।

राहत बाँड्ने काम स्थानीय स्वयंसेवक र जनप्रतिनिधिहरूसँग मिलेर गर्यौं । यो निकै जटिल काम रहेछ। राहत बाँड्दा केही समस्या पनि आए । जागिर भएका मान्छे पनि राहत लिन आए। मानिसहरूलाई हामीले किन राहत नपाउने भन्ने पनि लाग्दो रहेछ। लाइनमा बसेको छ, तपाईंले पाउनुहुन्न भन्न झनै गाह्रो हुने रहेछ।

३-४ महिना लकडाउन हुँदा तलब खाने स्थायी जागिर भएकाहरूले पनि राहत लिन भने छाडेनन्। यस्ता घटना धेरै भएपछि एक ठाउँमा त मैले मुखै फोरेर भनेको थिएँ, “तपाईंहरू जागिरे हो म चिन्छु यसरी लाइनमा नबस्नुस्” भन्दा उहाँहरू उल्टै मसँग बाझ्नुभयो। “सरकारले दिएको राहत हामीले खान नपाउने” भनेर भन्नुभयो ।

एउटै मान्छे चार ठाउँमा राहत लिन गएको घटना पनि देखियो । एउटै मान्छे खड्का गाउँमा पनि पुगेको छ, कलंकीमा पनि अनि लाम्पाटीमा बाँड्दा पनि राहत लिन आइपुगेको देखियो । कतै आफू बस्ने कतै छोरी-छोरा पठाउने नाम बदल्ने लगायतका समस्या पनि परे । कुलेश्वरको कृषि सामग्री संस्थानको कार्यालयमा १ सय ५० जनालाई राहत दिन खोजेको बाहिरबाट ढुंगा समेत हानिएको थियो । मान्छेहरू एकछिन धैर्य गरेर पनि बस्न नसक्दा समस्या हुने रहेछ ।

मैले सधैं हिँडिरहनु परेकाले पन्जा अनि स्यानिटाइजर लगाएर हिँडे । बाहिर लगाएका कपडा फेरेर नुहाएर मात्रै कोठामा छिरें । हामी जनप्रतिनिधिले डराएर पनि नहुने रहेछ। अर्को कुरा जनताका लागि काम गर्छु भनेपछि मर्न पनि तयार हुनुपर्छ । एउटा असल जनप्रतिनिधि भनेको दुःखमा रमाउन सक्ने हुनु हो जस्तो लाग्छ । सुखै चाहने हो भने त राजनीतिमा नलागे भइगयो । मलाई पारिवारिक रूपमा सुख छ । सबै राम्रो नै छ । तर पनि मैले दुःखको बाटो रोजे किनकि राजनीति भनेको मानव सेवा हो । यो ठूलो सेवा र पुण्यको काम हो ।

३० वर्ष भयो राजनीतिमा लागेको । म १६ वर्षको उमेरदेखि पार्टीमा लागेको हो । जनआन्दोलनमा हातखुट्टा भाँच्चिएको हो। मैले टोल कमिटीको सचिव भएर पनि काम गरें। मलाई दुःखसुखबारे थाहा छ। जितिसकेपछि अरूलाई काम लगाएर हिँड्न मिल्दैन नि । यो बेला आफ्नोतर्फबाट केही नगरी बसेको भए सधैँ मनमा ग्लानि हुन्थ्यो होला । म खटेकोमा मलाई आत्मसन्तुष्टि भएको छ । आफ्नो तर्फबाट सकेको गरेकी छु ।

हिजोआज फेरि कोरोना भाइरसको जोखिम बढेको छ। हामी फेरि खटिन थालेका छौं । स्थानीय तहको जिम्मेवारी अझै बढेको छ । त्यही भएर हाम्रो खटाइ पनि बढेको छ ।

समाचारको हेडलाइन फेरिएको छ लकडाउन कथा

मैले पढ्ने समाचारको हेडलाइन फेरिएको छ

Though I’m healthy & young, have to do my part

कोरोनाले खोसेको घर फर्कने खुसी लकडाउन कथा

कोरोनाले खोसेको घर फर्कने खुसी

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।