क्वारेन्टिनबाट भागेर घर जानेकै रिपोर्ट पोजेटिभ आयो

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त हुन थालेदेखि नै  हामीले पनि कसरी काम गर्न सकिन्छ भनेर छलफल सुरु गरेका थियौं । गाउँपालिकाका प्रमुख, उपप्रमुखदेखि अन्य जनप्रतिनिधिहरुसँग नियमित छलफल गरेर काम गर्यौ ।

सुरुमा कुनै तयारी थिएन त्यसैले काम कसरी सुरु गर्ने भन्ने समस्या पनि परेको थियो । स्वास्थ्य सामग्रीको अभाव अनि अन्यौलताको बीचमा काम गर्न निकै कठिन भयो । संघीय सरकारले लकडाउन घोषणा गरेपछि यहाँ भारतबाट फर्किनेहरु आइरहेका थिए । बाहिरबाट नयाँ मानिसहरु आउन थालेपछि थप त्रास पनि बढिरहेको थियो । स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अनि मास्क, पन्जा, पीपीई लगायत सबै सामानको पनि अभाव रहेको थियो ।

गाउँपालिकाको वडा नं ३ मा बाहेक अन्य ठाउँमा गाडी जाने भएकोले एम्बुलेन्स तयारी अवस्थामै राखिएको थियो । यहाँ  धेरैजसो ठाउँमा वर्षाको बेलामा बाहेक अरू बेला गाडी चल्छ । त्यसैले २४ सै घण्टा एउटा एम्बुलेन्स तयारी अवस्थामा थियो । सुरुमा मास्क र स्यानिटाइजर नभए पनि पछि भने गाउँपालिकाले उपलब्ध गराएको थियो । हामी आफैले पनि स्थानीय तहमा पीपीई बनाएका थियौं । केही समयपछि भने सामानको खासै दुःख भएन । स्वास्थ्यकर्मीले सामान नपाएर सेवा सुविधा दिन पाइएन भन्ने अवस्था आएन ।

गाउँपालिका अध्यक्ष र अन्य पदाधिकारीले राम्रो सहयोग गर्नुभयो । कुनै पनि समस्या नहोस् भनेर हामी दिनरात खटिएका थियौं । यहाँ सम्भव नभएको बिरामी हामीले सदरमुकाम चैनपुर पठाउछौं  ।  केस हेरेर सेती प्रादेशिक अस्पतालमा पनि पठाउछौं । उहाँहरुसँग पनि फोनमा कुरा गर्थ्यौं ।  कतिपय अवस्थामा उहाँहरुले पनि हामीलाई सोध्ने गर्नुहुन्थ्यो ।

हामीले यहाँ सुरुमा कोरोना संक्रमण भए नभएको थाहा पाउन आरडीटी परीक्षण गरियो पछि पीसीआर गर्यौं ।

हामो ठाउँबाट धेरै मानिसहरु रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिलेसम्म पनि बाहिर गएका मान्छे भित्रिने क्रम चलिरहेकै छ ।  अहिले पनि दैनिक ३०-४० को संख्यामा मान्छेहरुको आउने क्रम जारी नै छ । हामी पनि उहाँहरुको व्यवस्थापमा लागिरहेको छौं ।

सुरुमा मानिसहरूलाई साबुन पानीले हात धुनुस् भनेर पनि भन्न परेको थियो । तर अहिले पहिलाभन्दा जनतामा धेरै सचेतना भइसकेको छ । आफ्नो कारणले कसैलाई अप्ठ्यारो नहोस् भनेर जनताले बुझिसकेका छन् । अहिले त त्यति गाह्रो छैन । तर कहिलेकाहीँ मानिसहरु सबै कुरा सरकारले नै गरिदिनुपर्छ भन्ने भावना भने देख्छु । जुन सम्भव छैन र हुँदैन पनि ।

अहिले स्थानीय सरकारले सेवा दिएको छ र अहिले सेवा लिनेको पनि भूमिका हुनुपर्ने हो ।  तर सरकारको मात्र भूमिका खोज्ने अनि आफ्नो भूमिका चैँ बिर्सने बानीले गर्दा पनि काममा कहिलेकाहीँ समस्या भने भयो । जस्तो बाहिरबाट आउनको भूमिका उहाँहरु सकेसम्म आफै क्वारेन्टिनमा बस्ने र समाजमा १४-१५ दिन घुलमिल नहुने हो । यदि मलाई कोरोना छ भने मेरो बेवास्ताले मेरो परिवारलाई पनि सर्छ भन्नेतिर सचेत हुनु हो । तर त्यस्तो भएको कत्ति पनि देखिएन ।  उहाँहरुमा सकेसम्म क्वारेन्टिनमा नबस्ने खोज्ने बानी हाबी थियो । हामीले १९ ठाउँमा क्वारेन्टिन बनाएका थियौं । हामीले गाउँपालिकको क्षमता, सीमित स्रोत र साधन अनुसार काम गरेका छौं । यसमा सहयोग गर्न जनताको चैँ केही भूमिका हुनुपर्दैन र ?

एक पटक हामीले एउटा ठूलो समस्याको सामना गर्नुपर्‍यो । पीसीआरका लागि जसको स्वाब पठाइएको हो ऊ नै क्वारेन्टिनबाट भागेर घर गइदियो अनि उसकै रिपोर्ट पोजेटिभ आयो । हामीले नजानुस् भन्दाभन्दै पनि भागेछन् । रोक्न सकिएन ।  ल्याबबाट नतिजा आउँदासम्म पनि पर्खिने धैर्य नगरिदिंदा कहिलेकाहीँ ठूलठूला समस्या झेल्नुपर्छ जसले गर्दा कन्ट्याकट ट्रेसिङमा समेत समस्या आउँछ । तर के गर्ने, बुझ्नुपर्नेले बुझिदिदैनन् । कहिलेकाहीँ त अति तनाव दिन्छन् ।

हामी ‘तपाईं सुरक्षित बस्नुस् समाजलाई पनि सुरक्षित पार्नुस्’ भनेर काममा लागेका छौं तर मानिसहरुले यसलाई बुझेर पनि हल्का रुपमा लिइदिँदा भने समस्या भयो ।  हुन त जब समस्या आउँछ अनि बल्ल बुझ्ने मान्छेको स्वभाव नै हो । यस्तो महामारीमा त त्यस्तो नगर्ला भन्ने लागेको थियो तर जेसुकै भए पनि मान्छेले आफ्नो स्वाभाव बदल्न नसक्ने रहेछ या भनौं नचाहने रहेछ ।

हामी सेवाग्राहीको नजिक पुगेर काम गरिरहेका छौं । मैले काम गरेको २८ वर्षमा यति ठूलो समस्या कहिल्यै आएको थिएन । यसो भन्दैमा यो आफ्नो जिम्मेवारीबाट पछि हट्न पनि त भएन । यो बेला घरपरिवारको साथ महत्वपूर्ण हुने रहेछ । घरपरिवारका अन्य सदस्य पनि सरकारी जागिरमा भएकाले मलाई यो बेला धेरै सजिलो भएको छ । उनीहरुको हौसलाले मलाई काम गर्न समेत थप सहयोग पुगेको छ ।

लकडाउनले आफ्नो जिम्मेवारीबाट कोही पछि हट्न हुन्न भन्ने पाठ पनि सिकायो । विपत्‌को बेला हो, नसोचेको र नचाहेको कुरा हुन्छ नै । सबै पीडित छन्, समुदाय पीडित छ ।  त्यसैले धैर्य भएर काम गर्नुको विकल्प छैन । यति बेला आत्तिने होइन संयमित बन्ने हो । अनि म यही अनुसार नै अघि बढें र बढिरहन्छु पनि ।

यो कोरानाले सबै कुरा नकारात्मक मात्रै पनि भएको छैन । कोरोना कहरकै कारण मान्छेको सरसफाइमा ध्यान गएको छ । मानिसहरु दिनको ४-५ पटक साबुन पानीले हात धुन्छन् । घरमै भएको खाना खानुपर्छ भन्ने बानी बढेको छ । घरका बारीमा तरकारी फलाउने अनि घरमै बस्ने भएका छन् । दूध, दहीमहीमा मानिसको ध्यान गएको छ । काम नपरीकन मान्छे बाहिर ननिस्कने भएकाले घरको काममा पनि ध्यान दिन थालेका छन् । बारीमा तरकारी फलेको छ ।

Though I’m healthy & young, have to do my part

Laxmi Joshi

स्वास्थप्रति चेतना बढेको छ

‘फुड बैङ्क’ भोको पेटको साथी 

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।