कसको सहारा पाउने खै ?

म उदयपुरको त्रियुगा नगरपालिका ३ मोतीगडामा बस्छु । म गाईघाट बसेको धेरै वर्ष भयो । मेरो आफ्नो घर कहीँ पनि छैन विगत १२ वर्षदेखि नै भाडामा बस्दै आएको छु । भएको आफ्नो भागको सम्पत्ति पनि दाइले रक्सीमा सिद्ध्याइदियो । दाइकै नाममा जग्गा भएका कारण आफ्नो केही हक लागेन दाइले भाइप्रति कुनै दया राखेन । त्यसपछि त सुकुम्बासी जस्तै डेरामा बसेर दैनिक मजदुरीबाट जिन्दगी चलाउँछु । विगत ८ वर्षदेखि रिक्सा चलाउँदै आइरहेको छु । पहिले म सामान बोक्ने रिक्सा चलाउँथे, पछि मान्छे बोक्ने रिक्सा चलाउन थालें । यसरी नै आफ्नो आम्दानीबाट चार जना परिवार चलाइरहेको थिएँ ।

चैतमा कोरोनाले गर्दा लकडाउन भयो । लकडाउन भन्ने के हो सुनेको र जानेको पनि थिएन । पछि थाहा भयो लकडाउनमा बाहिर निस्कन र काम गर्न नमिल्ने रहेछ । लकडाउन भन्ने थाहा पाएपछि त जिन्दगी नै तहसनहस भए जस्तो लागेको थियो । कामै रोकिदिने भएपछि यो कोरोना म र मेरो परिवारका लागि शत्रु बनेर आएको महसुस भयो । हामी दैनिक ज्याला मजदुरलाई घरमा बस्नु भनेको भोक निम्त्याउनु हो ।

बाहिर काममा जान मनाही । काम पूरै ठप्प । घरमा भएका खाने कुराहरू केही दिनका लागि भन्दा पुग्ने थिएन । केही वर्ष यता मेरो कमाइ घट्दो क्रममा पनि थियो । पहिले रिक्सा चलाउँदा मेरो आम्दानी राम्रो नै हुन्थ्यो । तर जब यता बिजुलीबाट चल्ने रिक्सा र अटो आयो दैनिक आम्दानी खान लाउन ठिक्क हुने मात्र थियो । त्यसैले बचत पैसा थिएन । आफ्नो घर भएको भए पनि यतिको समस्या हुँदैन थियो कि ? छिमेकीहरूसँग पारिवारिक भएर जिउन सकिन्थ्यो होला । भाडाको बसाइ भएका हामी जस्तोको औंचो पैंचो गर्ने ठाउँ पनि नहुने रै छ ।

हाम्रोमा दुई पटक राहत बाँड्दा एक पटक १० केजी चामल र अर्को पटक १५ केजी चामल दिएको थियो । त्यसले कति नै समय पुग्थ्यो र ? लकडाउनमा कतै जान समेत नमिल्ने भएकोले अरू कुनै काम गर्न सक्ने र मिल्ने अवस्था पनि थिएन ।

हामीलाई खानाकै समस्या भयो । फाट्टफुट्ट खेतीपातीको कामहरू चलिरहेको थियो त्यसैले चिनजानको छिमेकीमा खन्ने जोत्ने कामका लागि कुरा गरें । उहाँहरूले खाएर दिनको ३-४ सय दिनुहुन्थ्यो तर त्यो काम पनि सधैं हुँदैन थियो । जसोतसो परिवार चलाइरहेको थिएँ ।

एक दिन काम गर्ने क्रममा कोदालोले आफ्नै खुट्टा काट्यो यसले झनै समस्या थप्यो । लकडाउनकै समस्याले भारी पुगेको बेला अर्को समस्या सुरु भयो । खनजोतबाटै भए पनि बाँचिरहेका थियौं । खुट्टा काटेपछि काममा जान सकिन । घरमा साना बालबच्चा भोको देखेपछि खुट्टा काटेर काम गर्न गार्हो हुँदा पनि धर पाइन ।  जसोतसो काममा फेरि फर्किएँ, सकी नसकी काम गर्दै थिएँ बिहान बेलुका खानलाई जुटाउँदै थिएँ ।

फेरि अर्को समस्या आइलाग्यो । असार १४ गते नुहाउने सिलसिलामा मेरी ४ वर्षीय छोरीको खुट्टामा पानी ट्यांकीमाथि रहेको इँटाले लागेर बूढीऔंला नै कुच्याइदियो । खुट्टामा गम्भीर चोट लागेपछि तत्काल जिल्ला हस्पिटल उदयपुर लगेँ । डाक्टरसापले राम्रोसँग हेरिदिनु भएन । उपचारमा लापरबाही गरिदिनुभयो त्यसैले घाउ झन् बिग्रियो । पछि यहाँ हुँदैन बाहिर अरूमा लैजानु भन्नुभयो । त्यसपछि छोरीलाई लाहानको पशुपति हस्पिटलमा लगें त्यहाँ डाक्डरले अप्रेसन नै गर्नुपर्ने उस्तै परे बूढीऔंला नै काट्नुपर्ने हुन सक्छ भनेका छन् । हामीसँग पैसा हुँदैन र थिएन पनि त्यसैले मैले त्यसको लागि कति जति खर्च लाग्ला भनेर सोधेँ । त्यसपछि उनीहरूले ५० हजार जति खर्च लाग्ने स्टिमेट निकालेका छन् । ५० हजार सुनेपछि त्यो बेला मलाई भाउन्न रिंगटा लागे जस्तो भो । यो सबै सपना जस्तो लाग्न थाल्यो । किनकि ५० हजार भनेको मेरो लागि ५० लाख बराबर थियो । खान लाउन त दैनिकी जोहो गर्दै हिँडिरहेको मैले त्यत्रो रकम कसरी ल्याउनु ।

तर पनि जसोतसो छोरीको भविष्यका लागि उपचार त गर्नु नै पर्यो । हारगुहार गर्न आफ्नो कोही छैनन् मलाई साहुले पनि पत्याउँदैन । अन्तिममा छोरीको उपचारका लागि मागेर सहयोग जुटाउने निर्णय गरें । माग्नु जानुभन्दा पहिले उदयपुरको एक मिडियामा (पूर्णपुष्टि मिडिया) आफ्नो कुरा राखेँ उहाँहरूले समाचार छापी दिनुभयो । त्यसपछि त्यो समाचार देखाउँदै नगरपालिकामा सहयोगको अनुरोध गरेँ नगरपालिकाले १ हजार सहयोग गर्यो र सहयोग गरिदिनेबारे एउटा सिफारिस पनि बनाइदियो । त्यो पैसा तत्काल उपचारमै पठाएँ । त्यही सिफारिस, समाचार र खुट्टाको घाउको फोटो देखाउँदै दैनिक माग्न सुरु गरें ।

माग्नलाई सजिलो थिएन । धेरैको भनाइ सुनें र सहें । माग्दा पनि डराएर माग्दै हिंड्छु १० रुपियाँ २० रुपियाँ ५० रुपियाँ पैसा जम्मा गर्दै हिंड्छु । म लाचार भएर माग्दै हिँडेको छु । म मात्रै हैन अरू पनि धेरैले मागेर उपचारहरू गराउँदै आएको सुन्छु । सहयोगका लागि अलि ठूलाठालु र हुनेखानेले माग्दा लाखौँ सहयोग उठ्ने रै छ, हामी जस्तोले माग्दा पैसाभन्दा पनि बढी भनाइ नै आउने रै छ ।

केही दैनिक काम गर्न पाए थोरैतिनै पैसा जम्मा गर्न सकिन्थ्यो होला । बरु नखाई पैसा जोगाएर भए पनि छोरीलाई उपचार गर्ने थिएँ । पहिले आफूले चलाउँदै गरेको रिक्सा पनि अहिले साहुले अर्कोलाई चलाउन दिएछन् । मलाई पनि थाहा छ मागेर खान हुँदैन भनेर तर यो समयमा के काम गरेर छोरीको उपचार गरौँ त ? समस्या भयो । कोरोनाले पीडामाथि झन् अर्को पीडा थपिएको छ । खै कसको सहारामा बाँच्ने ?

यो कथा गणेश वि.क.संग गरीएको कुराकानीमा रहेर  बिक्रम राईले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।