लकडाउनमा हामीले ४० वटा सुत्केरी गरायौं

मैले काम गर्ने अस्पतालमा पोजिटिभ केस आएको खासै थाहा भएन । एउटा आएजस्तो लागेको थियो, त्यसपछि डाक्टर र गार्डदाइ क्वारेन्टाइनमा बस्नुभयो । उहाँहरुले थाहा नभएर सुरुमा यत्तिकै छोएको भएर यस्तो गर्नुपरेको हो।

लकडाउन भए पनि मेरो आफ्नो काम रोकिएन । मैले सुत्केरी गराउने काम गर्ने भएकाले गर्भवती महिलाको भिडियो एक्सरे लगायत अन्य कामहरुमा व्यस्त भइरहनुपर्छ । त्यसैले, लकडाउनले मेरो काममा खासै फरक पारेन ।

यो कोरोना कहरको समयमा अछामको चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले दुई खालको काम गर्नुपर्‍यो । एकातिर कोरोना भाइरस संक्रमण रोकथामको तयारीमा लाग्नुपर्‍यो भने अर्कातिर सुत्केरी सेवा पनि दिनुपरेको थियो ।

लकडाउन सुरु हुँदा म अछाम आएको ६ महिना मात्रै भएको थियो । त्योभन्दा पहिला मैले डडेलधुरा र बुटवलमा दुई ठाउँमा गरी चार वर्ष काम गरेको थिएँ । २०७१ सालमा स्टाफ नर्स पास गरेपछि मैले २०७२ साल पुसदेखि सरकारी जागिर सुरु गरेकी हुँ ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कार्यरत रहँदा स्वास्थ्य सेवाका कर्मचारीको संयोजनका क्रममा मेरो पनि अछाम सरुवा भएको हो । मेरो घर कैलाली भएकाले घर र अछाम एउटै प्रदेशमा पर्छ । अछामदेखि बसाइँ सरेकाहरु त्यहाँ गएर बसेका पनि छन् । तर लम्की र अछामको रहनसहन भाषा बिलकुलै फरक छ । केही समय त मलाई यहाँको दैनिकी र बोलीचालीमा भिज्न समय लाग्यो तर अहिले बिस्तारै सहज हुँदै गएको छ । दुर्गम गाउँका महिलाहरुलाई अझै पनि अनावश्यक दुःख रहेको मेरो अनुभव छ।

परिवार नियोजनबारे महिलालाई बुझाउन नसक्दा मलाई कहिलेकाहीँ पीडा पनि हुन्छ । सुरक्षित रूपमा सुत्केरी गराउन सकियोस् अनि महिलाहरु अरूलाई भन्न नसक्ने समस्याबाट पीडित नबनून् भनेर हामी थप सचेत छौं ।

लकडाउनकै बीचमा २ हप्ता भिडियो एक्सरे क्याम्पमा जानुपर्‍यो । त्यही समयमा हामीले सातवटा क्याम्प समेत राख्यौं । मैले क्याम्पमा पनि गएर काम गर्नुपर्छ । क्याम्पमा जाँदा हामीले पीपीई लगाएर काम गर्यौं ।

लकडाउनको बेलामा क्याम्प चलाउने काम धेरै कठिन हो तर लकडाउनमा सुत्केरी हुन नसकेर मृत्यु नहोस् भनेर यसरी क्याम्प चलाएका हौँ । त्यस्तो क्याम्पमा उच्च जोखिममा रहेका आमाहरूको उद्धार गर्न सकिन्छ भनेर यस्तो गरेका थियौं । गर्भवती महिलाको समस्या बुझेर हामीले समयमै रिफर गर्न सकियो भने मात्र पनि आमा र बच्चा बचाउन सकिन्छ । यस्तो समयमा त्यो पनि हाम्रा लागि ठूलो उपलब्धि हुन्छ । त्यस्तो समय जहाँ सुने अनुसार धेरै ज्यान गर्भवती महिलाको गएको छ भन्छन् ।

हामीले सातवटा वडामा एक्सरे क्याम्प गर्यौं । कोरोना महामारीको डर भए पनि हामीले यो क्याम्प गर्यौं । हामीलाई डिस्पोजल पीपीई दिइएको थियो । त्यही भएर धेरै डर पनि लागेन । फेरि डराएर पनि भएन किनकि ‘बिरामीको सेवा गर्छु’ भनेर नै नर्सिङ पेशा रोजेकी हुँ । हामीले पीपीई नलगाईकन काम गर्नुपरेन । त्यही पीपीईको आडमा अलिकति भए पनि हिम्मत बटुलियो भन्नुपर्‍यो नत्र भित्र डर त नभएको कहाँ हो र संसारै डराइरहेको बेला । सुरुवाती दिनमा धेरै डर लाग्यो, आजभोलि कम हुँदै गएको छ । हाम्रो अस्पतालले लकडाउनको बेलामा चैतदेखि असारसम्म ४० जना महिलालाई प्रसूति सेवा दियो । मसँगै एएनएमका दिदीहरु पनि हुनुहुन्छ । यस्तो बेलामा काम गर्दा पहिलाभन्दा अलि फरक लाग्ने रहेछ । अलिकति डर, अलिकति चुनौतीपूर्ण, अलिकति जिम्मेवार ।

लकडाउनभरि घर जान पाइएन । फागुनदेखि कैलालीमा भएको घर जान पाएको छैन । घरमा दिनदिनैजसो फोनमा कुरा त हुन्छ । आमा, बुबा, भाइ, बहिनीको फोन आइरहन्छ । बुबाआमाले जोगिएर काम गर्नू, ड्रेस लगाएर मात्र अस्पताल जानू भनिरहनुहुन्छ । पहिला संक्रमण ह्वात्तै बढ्दा त उहाँहरूले निकै चिन्ता गर्नुभयो तर कामका लागि भने हौसला पहिलाको जस्तै दिइरहनुभयो । पहिला सँगै काम गरेका दिदीहरुले पनि फोन गर्नुहुन्थ्यो ‘सुदूरपश्चिममा धेरै खतरा छ । जोगिएर काम गर्नू’ भनिरहनुहुन्थ्यो । सुरुवाती दिनमा संक्रमण बढेको देखेर सुदूरपश्चिम खतराको केन्द्र बन्छ कि भन्ने डरले शायद मलाई धेरैले यस्तो भन्नुभएको होला ।

आफ्नो घरपरिवार छाडेर दुर्गम क्षेत्रमा आएर सेवा गर्दा मलाई कुनै गुनासो छैन पहिला पनि र अहिले यो कोरोना कहरमा पनि । कैलालीमा हुर्किएकी मेरा लागि अछाम बिलकुलै नौलो ठाउँ थियो तर बिस्तारै म यहाँ रमाउँदै गएँ । आफ्नो पेशाप्रति मलाई गर्व लाग्छ । शायद यो समयमा समाजले हाम्रो पेशालाई धेरै पटक तिरस्कार गर्‍यो होला तर मलाई भने कुनै पनि क्षण ‘म यो पेशामा किन छु ।‘ भनेर पछुतो लागेन । कतिले मलाई यस्तो बेलामा नर्स बनेकोमा पछुतो लाग्दैन भनेर समेत सोध्ने गर्छन् तर म झनै खुसी छु भन्दिन्छु । विश्वव्यापी रूपमा फैलिएको महामारीमा पनि मैले गर्भवती महिलाहरुको सेवा गर्न पाएको छु । उहाँहरुको सुरक्षित प्रसूतिमा सहयोगी बन्न पाएको छु । हाम्रो पेशाको वास्तविक परीक्षाको घडी त शायद यो होला भनेर अझ जिम्मेवार बन्न प्रयत्न गरिरहेकी छु ।

हाम्रो काममा स्थानीय सरकारले अभिभावकको भूमिका निर्वाह गर्‍यो । आवश्यक सामग्रीहरु उपलब्ध गराउनेदेखि गाउँपालिका प्रमुख, उपप्रमुख लगायतका अन्य जनप्रतिनिधिहरुले हामीलाई समयसमयमा समस्या पर्छ कि भनेर निरन्तर चासो देखाइरहनुभयो । धेरैतिर स्वास्थ्य सामग्रीको अभाव भनेर समाचारहरु आइरहँदा हामीलाई भने हाम्रो गाउँपालिकाले स्यानिटाइजर, मास्क र पीपीईको अभाव हुन दिनुभएन । यसले झन् काम गर्न उत्साह थप्यो । यस्तो आपत्‌को बेला सबैको सहकार्य हुने हो भने त काम गर्नेलाई काम गर्न खास डर नहुने रहेछ ।

हामीले अहिले पनि एक्सरेको क्याम्पहरु जारी नै राखेका छौं । सामान्य अवस्थामा जस्तो काम गर्थ्यौं, त्यो काम कहिले पनि रोकिएन ।

यहाँ बनाइएका क्वारेन्टाइनहरुमा स्वास्थ्य शाखा प्रमुखसँगै महिलाको समस्याबारे बुझ्न म पनि गएको थिएँ । सुरुमा क्वारेन्टाइनमा जान निकै डर लागेको थियो । त्यो डर पनि अहिलेसम्म आइपुग्दा बिस्तारै कम हुँदै गयो । स्थानीय क्वारेन्टाइनमा महिलालाई मैले पटक पटक गएर काउन्सिलिङ गरें । उनीहरुलाई प्याड, स्यानिटाइजर प्रयोग गर्न आग्रह गरें । उनीहरुलाई नडाराउनुहोला तर आवश्यक सावधानी भने अपनाउनुहोला भनेर हामीले बारम्बार भानिरह्यौं । एउटा क्वारेन्टाइनमा ९ महिनाको गर्भवती महिला पनि थिइन् । स्वास्थ्य शाखा प्रमुख र म भएर उनको स्वास्थ्य परीक्षण पनि गर्यौं । उनलाई ‘लेवर पेन’ छ कि भनेर हामीले परीक्षण गर्यौं । क्वारेन्टाइनमा त्यस्तो धेरै गइरहनु चैं परेन । मैले हेर्ने भनेको परिवार नियोजन, सुत्केरी र भिडियो एक्सरे गर्ने हो । अनि सुरक्षित गर्भपतन गराउने हो ।

लकडाउनको बेलामा कामबाट फुर्सद भइयो भने आफूलाई भुलाउन कहिले मुभी हेर्ने, कहिले टिकटक बनाउने अनि कहिले सँगै काम गर्ने बहिनीहरुसँग बस्ने गफ गर्ने गरियो । घरमा फोन गर्ने अनि अरू दिदीहरुसँग कुरा पनि गर्थ्यौं । जति बेला पनि कोरोनाको मात्रै गफ भने हुन्थेन किनकि एउटै गफले मान्छेलाई थप समस्या निम्त्याउँछ ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।