यो गाउँपालिका अलिक विकट गाउँपालिका हो । काम गर्न सजिलो असजिलो भन्ने कुरा भूगोलका कारणले पनि हुने रहेछ । हाम्रो गाउँपालिकाको नाकामा आउने बाटो एउटा मात्रै भएकोले सीमानाकामा हेल्पडेस्क राख्यौं । २४ सै घण्टा यसको अनुगमन गरेका थियौँ । नाकामा हेल्पडेस्क मार्फत विभिन्न खालका काउन्सिलिङ गरेर घर पठाउँथ्यौं । बाहिरबाट आउने जो कोहीलाई होम क्वारेन्टाइन र क्वारेन्टाइनमा राखेका थियौँ । हामीले विद्यालयमा क्वारेन्टाइन बनाएका थियौँ । हामीले ३ सय २५ भन्दा धेरैलाई क्वारेन्टाइनमा राखेका थियौँ ।
हामीलाई सुरुमा पीपीई लगायतको सामग्रीको अभाव भयो । प्लास्टिकको पीपीई जस्तो बनायौं र त्यो लगाएर पनि काम गर्यौं । त्यो आधिकारिक होइन भनियो । पछि बजारमा सहजै पाउन थालेपछि भने हामीले पीपीई लगायतको सामग्री पायौं । पहिले त जनप्रतिनिधिहरूले पीपीई किन चाहियो यहाँ कोरोना आउँदै आउँदैन भन्नुहुन्थ्यो । पछि उहाँहरूसँग छलफल र परामर्श गरेर १० वटा पीपीई किनियो । त्यो पीपीई हेल्पडेस्कमा बस्नेहरूलाई दिएर काम गरियो । सुरुमा मान्छेहरू फर्केर एकै पटक धेरै जना आउने क्रममा थियो । कामको चापाचाप थियो त्यस बखत १०-१५ दिन त हामी यसरी काममा लाग्यौं कि खाना खाने समय पनि हुन्थेन । कतिपय अवस्थामा भोकै पनि काम गरियो ।
स्वास्थ्य संस्थाका साथीहरू पनि सुरुवाती दिनतिर कोरोनादेखि त्रसित भएका थिए । उहाँहरूलाई काउन्सिलिङ गरेर डिउटीमा आउने बनाइयो । आर्थिक रूपमा पनि केही जोखिम भत्ता हुन्छ भनेपछि उहाँहरूको मनोबल पनि बढ्यो ।
काममा अहोरात्र खटिने साथीहरूलाई जोखिम भत्ताको व्यवस्था मिलाएका थियौं । गाउँपालिकाले जोखिम भत्ता विभिन्न शीर्षकको बजेटलाई मिलाएर २५ प्रतिशत दिएको हो । माथिबाट पनि फ्रिज भएको रकम मिलाउनु भनेकाले त्यही आधारमा व्यवस्था गरेका थियौं ।
हाम्रो गाउँपालिका धेरै विकट भएकाले कतिपय मान्छेलाई वडा कार्यालय आउन पनि साढे २ दिन हिँड्नुपर्छ । यो गाउँपालिकामा सानाठूला गरी ९ वटा स्वास्थ्य कार्यालयहरू छन् । सुरुमा हामीलाई स्वास्थ्य सामग्रीको अभाव भए पनि अहिले भने कुनै किसिमको स्वास्थ्य सामग्रीको समस्या छैन । एउटा दुर्गम गाउँपालिकामा हुने खालको सेवा सुविधा दिन सक्ने भएका छौं ।
मेरो काम क्वारेन्टाइन बनाउने, क्वारेन्टाइनमा हुनेको सूची तयार गर्न, स्वास्थ्यसँग सम्बन्धित कायकर्महरू चलाउने थियो । कतिपय मानिसलाई सबै समस्याको समाधान हामीले नै गर्ने हो भन्ने परेको थियो । लकडाउनको बेलामा दाल, चामल, नुन सकियो भने पनि मलाई नै फोन आउँथ्यो । राहत वितरणको कुरामा अलिक संयोजनको अभाव पनि देखिएको थियो । मैले त बैठकहरूमा यो जिम्मेवारी वडा सचिवलाई दिनुपर्छ भनेर समेत भनेको थिएँ ।
यो तीन महिनामा मानसिक र शारीरिक तनाव धेरै भयो । म आफै पनि घरमा जान पाएको छैन । धनगढीमा मेरा परिवार छन्, उनीहरूसँग भेट्न जान पाएको छैन । स्वास्थ्य सेवाको काम रोजेपछि यस्तै हुँदो रहेछ जस्तो पनि लाग्थ्यो घरीघरी । तर मलाई पछुतो भने छैन किनकि जनताको सेवा गर्न पाइयो त्यही ठूलो कुरा हो।
काम गर्ने क्रममा हामीलाई सबै निकायको सहयोग जरुरी पर्छ । त्यसमा पनि सुरक्षा निकायको सहयोग राम्रै भयो । उनीहरूले तलबाट यति मान्छे आउँदैछन् भनेर हामीलाई खबर गर्थे । त्यसले गर्दा क्वारेन्टाइनमा राख्ने लगायतका काम गर्न सहज भयो । कहिलेकहीँ १४ दिन पुग्न लागिसक्दा पनि आरडीटी परीक्षण समेत हुन नसक्दा कतिले क्वारेन्टाइन छोडेर जान्छौं भनेर धम्क्याए । कतिले छोडेर गए पनि ।
गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभएकोले अप्ठ्यारो परेको अवस्थाका लागि भनेर हामीले जीपहरू तयारी अवस्थामा राखेका थियौँ ।
सुरुका २-४ दिन त कसरी गर्ने के गर्ने भनेर सबै जना अलमलमा परेका थिए । बाहिरबाट मान्छेहरू पनि एकैचोटि धेरै आए । सुरुमा आउने मान्छेहरू त हाम्रो भाडा छैन भन्ने समेत थिए । सुरुका एकदुई महिना धेरै तनाव भयो । मान्छे आएको बेला धेरै तनाव हुन्थ्यो । कसरी व्यवस्थापन गर्ने भन्ने पनि हुन्थ्यो।
लकडाउनको सकारात्मक पाटो भनेको अहिले मानिसहरूको सरसफाइमा ध्यान गएको छ । साबुन पानीले हात धुनेको संख्या बढेको छ । साबुन पानीले हात धोएमा ८० प्रतिशत स्वास्थ्य ठीक हुन्छ भन्दा समेत पहिला बुझाउन कठिन हुन्थ्यो तर अहिले मानिसहरू आफैले यो कुरा बुझेका छन्। कोरोनाको डरले मान्छेहरू बाहिर निस्किएका थिएनन् । हामीले जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा मानिसहरूलाई बाहिर काममा जादाँ मास्क लगाउन आग्रह गर्यौं । साबुन पानीले हात धुन र सरसफाइमा ध्यान दिन समेत आग्रह गर्यौं ।
हामो ठाउँबाट अवसरको खोजीमा विदेश जानेहरू धेरै हुन्छन् । अहिले भने विदेशमा गएका युवाहरू अब फर्केर त्यता जाने पक्षमा छैनन् । उनीहरू अब भारत नजाने नेपालमै केही गर्ने भनेर भन्छन् । विदेश जाने प्रवृत्तिमा सुधार आएको छ । अहिले नै केही गर्ने वातावरण बनेको छैन तर नेपालमै केही गर्नुपर्छ भन्ने मनस्थितिको विकास भएको देख्छु ।
विगतका वर्षहरूमा वैशाख, जेठ र असारमा यार्सागुम्बा टिप्नेहरूको ठूलो भीड लाग्थ्यो । यस पटक सरकारले रोकेकाले मानिसहरू घरमै बसेका छन् । घरमै बसेर आफ्नो बारी खोस्रिएका छन् । विगतमा बारी बाँझै हुन्थे । तीन महिना यार्सागुम्बा टिपेर आएको पैसाले मानिसहरू जीविका चलाउने गर्थे । अहिले उनीहरूको ध्यान खेतीमा गएको छ । मानिसहरू परम्परागत खेती गर्नुपर्ने रहेछ भन्नेमा विश्वस्थ हुन थालेका छन् । बाँझो जमिन कम देखिन थालेको छ । बारीमा हरियो देखिएको छ ।
कोरोना आफै उत्पत्ति हुने हो कि भन्ने डर मानिसहरूलाई थियो । विदेशबाट आएका मान्छे क्वारेन्टाइन बसे भने कोरोना आउँदैन भन्ने कुरा हामीले बुझाएका छौं । विदेशबाट आएको मान्छे क्वारेन्टाइनमा बसे भने कोरोना भाइरस संक्रमणको खतरा पनि कम हुन्छ भन्ने कुरा स्थानीय मानिसहरूले लिन थालेका छन् । यदि कोही क्वारेन्टाइनमा नबसी घर गए भने स्थानीयले खबर गर्न थालेका छन् । यसले गर्दा बिस्तारै काम गर्न सहज हुँदै गएको छ।
यो कथा सुर्मा गाउपालिका, बझाङका स्वास्थ्य संयोजक, लक्ष्मीराज जोशीसंग गरिएको कुराकानीको आधारमा तयार गरिएको हो ।