कोरोनाले दिएको पीडाबाट व्यवसायलाई उठाएर अघि लैजाँदै छौं

म इन्जिनियरिङको विधार्थी हुँ । अहिले स्किल सेवामा अपरेटिभ अफिसरका रूपमा काम गर्छु । एक वर्षअघि साथीहरूसँग मिलेर आफूले पढेको क्षेत्रमा केही गरौं भनेर यसको सुरुवात गरिएको हो । स्किल सेवाबाट हामी होम इन्स्पेक्सन र रिनोभेटको काम गर्छौं । जसरी डक्टरले रोग पत्ता लगाएर उपचार गर्नुहुन्छ । हामीले पनि त्यसरी नै वैज्ञानिक र इन्जिनियरिङ प्रविधिबाट घरको सिपेज, लिकेज, प्लम्बिङ, पेन्टिङ गर्नुका साथै सबै घरको सम्पूर्ण चेकजाँच गर्छौं । त्यसमा आएको समस्यालाई वैज्ञानिक ढंगले समाधान गर्न के कुरामा खराबी छ त्यो पत्ता लगाई मरम्मत गर्ने गर्छौं । हामीले काठमाडौं, भक्तपुर, ललितपुरमा आफ्नो सेवा दिराखेका छौं ।

एक वर्ष मात्रै भएको थियो हामीले काम सुरु गरेको कहाँबाट यो कोरोना आइपुग्यो । अनि यसले हामो काममा नयाँ चुनौती र पीडा थपिदियो । चैतमा भएको लकडाउनसँगै हाम्रो काम ठप्प भयो । काम भइहेको ठाउँमा पनि लकडाउनले गर्दा आधामा नै काम रोक्नुपर्यो । कतिले त बुझ्नुभयो तर कोही त रिसाउनु पनि भयो । हामीलाई यसरी सबै ठप्प नै होला भनेर लागेको पनि थिएन ।

बन्दको केही हप्तापछि भर्खरै थालेको काम बन्द भएकोले म फ्रस्टेट नै भए । म पूर्णरूपमा यही व्यवसायमा आश्रित थिए । यसबाहेक अरू कामको बारेमा सोचेको पनि थिइनँ । जति बेला दिक्क र नरमाइलो लाग्थ्यो । ‘कस्तो केही गरूँ भन्ने बेला यो कोरोना आइलाग्यो’ भन्ने कुरा मात्र मनमा खेली रहन्थ्यो । फेरि यो मलाई मात्र परेको होइन संसारलाई नै परेको छ भन्ने पनि लाग्थ्यो । मन केही सम्हालिन्थ्यो ।

लकडाउनअघि स्किल सेवालाई अझै अघि लैजाने सोचमा थियौं । मार्केटिङका योजनाहरु थिए । इन्भेष्ट पनि गरेका थियौं खेर गयो जस्तो लागिरहन्थ्यो । म मात्र होइन साथीहरू पनि निराशाजनक कुराहरू गर्थे । त्यसपछि मलाई निराशावादी होइन आशावादी हुनुपर्छ भन्ने कुरा मनमा आयो । आशावादी भएर कर्ममा लाग्यो भने संसार जित्न सकिन्छ भन्ने लाग्यो । त्यसपछि त आफूलाई सम्हाल्ने मात्र होइन सँगै काम गर्ने साथीभाइलाई पनि सम्झाउन थाले । उनीहरूको मनोबल घट्न दिइन ।

त्यो बेला कति साथीहरू त अब के गर्ने ? के हुन्छ हाम्रो काम त ठप्पै भयो त ? अरू केही गर्ने हो कि ? पनि भन्थे । मलाई भने मनमा के विश्वास थियो हाम्रो व्यवसाय त लकडाउन खुलेसँगै सुरु गर्न सकिन्छ भन्ने लागेको थियो । त्यसै आत्मबलका साथ बसें । अनि हामी सबै साथीहरू मिलेर बाँकी रहेका डकुमेन्टेसनका कामहरू यो लकडाउनको अवधिमा सिद्ध्याउनलाई काम गर्न थाल्यौं । प्रविधिले गर्दा घरमै बसेर ती कामहरू सहजै गर्न सकियो । भरचुएल कुराकानीबाट व्यवसायलाई कसरी अघि बढाउन सकन्छि भनेर पनि विभिन्न योजनाहरू पनि बनायौं ।

चैतबाट बन्द गर्नुपरेको काम असारबाट हामीले फेरि सुरु गर्यौं । असार १ गतेदेखि भने लकडाउन अलि खुकलो भयो अनि हामीले आफ्नो काम सुरु गर्यौ । पहिले जस्तै मानिसहरूले आफ्नो घरमा समस्या आएपछि फोन गरेर बोलाउनुहुन्थ्यो । हामी त्यो समस्या समाधानका लागि काम गर्थ्यौं । पहिले र अहिले समय बदलिएको छ । मान्छेहरु मान्छेसँग दूरी राखेर बस्नुपर्ने भएको छ । चिनेको व्यक्तिसँग त डराउने अवस्था छ भने अब झन् नचिनेको व्यक्तिसँग नडराउने त कुरै भएन । डर हामी काम गर्नेलाई पनि छ । गराउनेलाई पनि । हामीले सुरक्षित भएर काम र सेवा गरिराखेका छौं । अहिले काम गर्नेले पीपीई लगाउनुपर्छ भन्ने जस्तै भएको छ । पीपीई एक हिसाबले भन्ने हो भने चलनचल्तीको काम गर्दा लगाउने लुगा बनेको छ । तर हामीले गर्ने काम पीपीई लगाएर गर्न धेरै नै असहज हुने भएकाले लगाएनौ । हामीले पीपीई नलगाएर पनि सामाजिक दूरीमा रहेर माक्स, पन्जा प्रयोग गरेर काम गर्छौं । स्यानिटाइजर र डिस्इन्फेक्सन पनि आफै बोकेर जान्छौं र प्रयोग गर्छौं ।

अहिले हामो कतिपय ठाउँबाट पैसा लिन बाँकी छ । कतिलाई दिन बाँकी छ । हामो नियमित काम गर्ने १२ जनाको टिम भए पनि ४० भन्दा धेरै फ्रिल्यान्सरको रूपमा काम गर्नहुन्छ । अहिलेसम्म सबैले साथ पनि दिइराख्नु भएको छ ।

यो महामारी कसैले सोचेको पनि थिएन । अब यो कहिले अन्त्य हुन्छ कसैलाई थाहा छैन । तर यसबाट कामको हिसाबले केही नयाँ सिक्ने मौका पनि पाएको छु । भोलि व्यवसाय पूरै बन्द हुनुभन्दा अघि नै त्यसको समाधानका लागि केही उपायहरु बनाउनुपर्ने रहेछ । बचत गर्नुपर्ने रहेछ । विपत् होला र समाधान गरुँला भन्नुभन्दा पनि सधैं तयार बस्नुपर्छ भन्ने पाठ यसले पढायो ।

कहिलेकाहीँ कति कुरा नहुँदा त्यो बेला नराम्रो लागे पनि पछि रामो हुने रै छ । जस्तै चैतको अन्तिमदेखि नयाँ ठाउँमा सर्ने भनेर सोच बनाएका थियौं । तर भनेको जस्तो अफिसका लागि ठाउँ पाइरहेका थिएनौं । ठ्याक्ककै लकडाउन भयो । यदि अर्को ठाउँमा कोठा पाएर अग्रिम पेमेन्ट गरेको अवस्थामा कोठा सर्न नपाएको भए दुईतिरै भाडा तिर्नुपर्ने हुन्थ्यो । त्यो हिसाबले केही बचत चाहिं भयो भन्ने लाग्छ ।

मानिसहरू भन्छन् नि ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ । कहिलेकाहीँ मलाई पनि त्यस्तो नै लाग्छ । लकडाउन हुँदा मान्छेहरुले आफ्नो घरमा बस्ने समय पाउनुभयो । आफ्नो घरमा भान्सादेखि लिभिङ रुम राम्ररी नियाल्दा के समस्या छ त्यो पत्ता लगाउनुभयो । घरमा नै धेरै समय बिताउनुभएकोले घरप्रति अझै बढी चासो बढ्यो । घरको रेखदेख गर्ने समय पाउनुभयो । अनि कतिले हामीलाई आफ्नो घरको केही समस्यामा काम गर्ने अवसार पनि दिनुभयो । व्यवसाय पहिलाको जस्तो एकदमै रामो त छैन । तर यो अवस्थामा यतिको कामलाई राम्रो भन्नुपर्छ । स्थिति अलिक सहज हुँदै गएपछि धेरै काम गर्न पाउनेछौं भन्ने लागेको छ ।

कोरोना र लकडाउनबाट केही आर्थिक नोक्स्सानी त भयो तर पनि यो कोरोनाले दिएको पीडाबाट व्यवसायलाई उठाएर अघि लैजान सक्छौं भन्ने आँट छ । अहिले व्यवसायी फैलाउने अवसर पनि छ । आत्मविश्वासका अघि बढ्दैछौं ।

 यो कथा महेश तिमिल्सिनासंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।