श्रीमान्‌लाई कुरिरहेकी छु

म एक छोरा, छोरी र सासूससुराको साथमा घोराही दाङ उपमहानगरपालिका वडा, १२ हापुर विजौरीमा बस्छु। श्रीमान् दुबईमा हुनुहुन्छ। उहाँको विदेशको कमाइले नै हाम्रो घर चल्छ। उहाँ विदेश जान थालेको १६ वर्ष भइसकेको छ। दुई-तीन वर्षको बीचमा छुट्टी मिलाएर आउनुहुन्छ र फेरि उतै कमाउन जानुहुन्छ। यस पटक तीन महिनाको बिदामा आउनुभाथ्यो। गत फागुनमा मात्रै फर्कनुभएको हो। गएको केही समयमा नै कोरोना महामारीले काम बन्द भयो। त्यसैले काम पनि धेरै गर्न पाउनुभएन।

उहाँ विदेशमा हुँदा यतिका वर्षमा मलाई कहिले पनि यति डर लागेन जति यसपालि लाग्यो। यो पटक डर लाग्नुको कारण उहाँसँगै एउटै कम्पन्नीमा काम गर्ने उहाँको एउटा साथी कोरोनाले मरेछन्। उहाँले यो कुरा हामीसँग वैशाख तिर फोनमा कुरा गर्दा सुनाउनुभएको थियो। यो खबरले झनै मन आत्तियो मनमा पिर चिन्ता लाग्न थाल्यो। मैले त उहाँलाई घर आउनुस् पनि भने तर मान्नुभएन। प्लेन त अहिले पनि चल्या छैन ? फेरि प्लेन नचलेसि कसरी पो आउन्या हुन् र ? त्यत्रो वर्ष विदेशमा बसे घर आएर पनि के गर्ने भन्ने भा होला उहाँलाई। खेती किसानी गर्नलाई धेरै खेत पनि छैन हाम्रो। त्यसैले पनि सकेसम्म उतै बसेर काम गर्न खोजेका होलान्।

सबै ‘कोरोना कोरोना’ भन्छन्। सुरुसुरुमा त अच्चम पनि लाग्यो कोरोना भन्या के रैछ, भनेर टिभीमा हेरिरहन्र्थे समाचार हेरेर अलिअलि बुझे। यो चाइनाबाट निस्केको रे भन्ने थाहा छ, तर यसबारे धेरै जानेकी छैन। नेपालमा भन्दा विदेशमा यो कोरोनाले झन् ठूलो रूप लिएको छ रे। धेरै मान्छे मारिसक्यो रे। उहाँ पनि विदेशमा नै हुनुभएकोले मनमा एक किसिमको डर र चिन्ता भइरहन्थ्यो। बिरानो देश बिराना मान्छेसँग आफ्नो मान्छे हुँदा चिन्ता त लाग्ने नै भइहाल्यो नि। वैशाखपछि उहाँले धेरै दु:ख पाउनु भएछ। हामीले पिर गर्छम् भनेर होला पहिला त केही पनि भन्नुभएन। उहाँलाई ज्वरो आउने, रुघाखोकी लाग्ने अनि सास फेर्न पनि गाह्रो भएपछि साथीसँग पैसा मागेर औषधि गर्न पनि जानुभएछ। के रोग भनेनन् रे अनि रिपोर्ट पनि दिएनन् रे। उहाँको सबै लक्षण सुन्दा कोरोना हो कि भनेर मन आतिन्थ्यो।

उहाँलाई व्यथाले अलिक धेरै नै च्यापेछ। एकदिन हामीलाई रुँदै फोन गर्नुभयो, धामीझाँक्री गरिदेऊ भन्नुभो ! हामीले यहाँबाट उहाँको नाममा मन्छाइदियौं। पछि उहाँले देउता लाग्या रैछ, अहिले केही ठीक भो भन्नुभयो !

अहिले कामबाट पनि निकालिदिएको छ रे। विदेश भन्या विदेश रैछ, कोही आफ्नो नहुने। कम्पनीको मान्छेले खान पनि दिंदैन थियो रे। लुकीलुकी पकाउने अनि त्यही राखेर ७ दिनसम्म खाने रे। केहीले भोकै बस्ने गरे भनेर उहाँले सुनाउँदा मेरो पनि मन ज्यादै पोल्यो। त्यसपछिको कति दिन त उहाँलाई सम्झेर रातभरि सुत्न सक्दिनथें। धेरै भइसकेको थियो पैसा नपठाउनु भएको पनि। त्यसैले फोन गर्ने पैसा पनि थिएन। यता पनि त्यस्तै अवस्था थियो। मनमा नानाथरी कुराहरू खेल्थे। कस्तो ठाउँ रहेछ १६ वर्षदेखि त्यही कम्पनीमा काम गर्नुभो अहिले त्यही कम्पनीले खान पनि दिन्न। कति निष्ठुरी ठाउँ अनि कति निष्ठुरी मान्छे। अब उहाँ आउनु भएपछि त मरे पनि विदेश जान दिन्न भन्ने मनमा छ।

उहाँ अहिले नेपाल फर्किन त मन छ तर खालि हात के आउनु भन्नुहुन्छ। राम्रो दिन आउला नि अनि काम पाइन्छ र थोरै पैसा कमाएर घर फर्किउला भन्नुहुन्छ। हामी पनि उहाँलाई नै कुरेर बस्या छौं । अहिले मनमा किन विदेश जान दिएछु भनेर पछुतो पनि लागिरहेको छ तर के गर्नु सोचे झै जिन्दगी रैनछ।

यो कथा देउमती बस्नेतसंग गरीएको कुराकानीमा रहेर पूनम डिसीले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।