मैले कोरोना जितें

चैतमा लकडाउन भएपछि सुरुवाती समयमा म काठमाडौंमा थुनिएको थिएँ । पार्टीका कामहरूमा व्यस्त भएँ । सुर्खेतमा संसद्को अधिवेशन पनि सुरु भएको थिएन । संसदको अधिवशेन सुरु भएपछि वैशाख दोस्रो साता म सुर्खेत आएको हो ।

मलाई व्यक्तिगत रूपमा लकडाउनको अनुभव भएन किनभने सदन चलेपछि मान्छेहरूसँग भेटघाट लगायतका अन्य कामहरूले गर्दा बढ्तै व्यस्त हुनुपर्‍यो ।

सुर्खेतमा हुम्लाका मानिसहरू पनि भेटिने भएकाले उनीहरूको सहयोगमा पनि खटिनुपर्यो । विभिन्न खालका मानिसहरूलाई भेटेर उनीहरूका कुरा सुन्ने अनि यता उता गर्दा फुर्सदै नहुने । लकडाउनको बेलामा अझै व्यस्त भएको थिएँ । कहिलेकाहीँ त फोन पनि स्वीच अफ गरौँ कि भनेजस्तो भएको थियो तर जनताको प्रतिनिधि भएपछि त्यस्तो गर्न पनि भएन । कोही गड्डा चौकीमा छु भन्छन् । अनि कोही बीच बाटामा अलपत्र परें भन्छन् । कोही काठमाडौंबाट आएको गाडी बाटोमा रोक्यो भन्दिन पर्यो भन्छन् । त्यसैले निकै तनावका माझ व्यस्त भइयो ।

त्यो बेला बसभाडा नभएकालाई पैसा सहयोग गर्ने, बाटामा अलपत्र परेकाहरूलाई खाना खुवाउने काम गरियो । दुई दिनसम्म ४ सय मानिसलाई खाना खुवाइयो होला । तर मैले आफूले यसो गरे भनेर त्यति बेला सार्वजनिक गरिन । किनकि म धर्ममा विश्वास गर्ने मान्छे हुँ । एउटा हातले दिएको अर्को हातले थाहा पाउनु हुँदैन भनेर धर्मशास्त्रमा लेखिएको छ । त्यही भएर मैले प्रचार-प्रसार गरिन । अहिले तपाईंले यी सबै कुरा खोतलेकोले मात्रै मैले भनेको हुँ । आफ्नो खुबी अनुसार सहयोग गरेको कुरा मलाई भन्न मन लाग्दैन । त्यो मेरो कर्तव्य नै हो भन्ने लाग्छ । म काठमाडौंमा रहँदा पनि सकेको सहयोग गरेको थिएँ । त्यही बेला गाउँपालिकासँग समन्वय गरेर गाउँ पठाउने काम पनि गरें ।

मैले कोरोना भाइरसको संक्रमणका बेलामा विपक्षी दलको नेताले पाएको गाडी पनि लिन्न भनेको थिएँ । किनकि त्यो गाडी चिकित्सक लगायत अन्य प्रयोजनका लागि उपयोग गर्न मैले कर्णाली प्रदेश सरकारलाई भनेको थिएँ । आवश्यक परेछ भने कोरोनाको सन्त्रास घटेपछि लिउँला भनेर समेत मैले प्रदेश सरकारलाई भनेँ ।

यो बेला मैले समाजका विभिन्न खालका मान्छेहरू देखें । कोही आफूलाई दुःख परे पनि सकेसम्म अरूको खान हुँदैन भन्ने । एक खालका मानिसहरू यही बेलामा जम्मा पार्नुपर्छ भन्ने सोचले कहिले एक ठाउँमा जाने अनि कहिले अर्को ठाउँमा जाने । अनि विभिन्न समस्या देखाएर मागिरहने खालका हुने रहेछन् । एक खालका मान्छे भने साँच्चै पीडित पनि भेटिएका थिए । उनीहरू साँच्चै मर्कामा परेका थिए ।

सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रका मानिसहरूले पनि यो समयलाई कमाउने अवसरका रूपमा लिए । यो बेलामा व्यापार गर्नुपर्छ भनेर भीटीएम, मास्कको खरिदका नाममा पैसा कमाउनेहरू पनि भेटिए । पीसीआर मेसिनको अभाव छ तर गाउँगाउँबाट स्वाब संकलन गर्ने गरेको देखियो । यसको पछाडि भीटीएमको व्यापार पनि देखियो ।

कतिपय युवाहरू चाहे ती कांग्रेसका हुन् या कम्युनिष्टका तर प्रवृत्ति भने उस्तै देखियो । सुर्खेतमा पनि कोही युवासंघ र तरुण दलका भनेका छन् । सामान जम्मा गर्ने बेलामा चन्दा अनि आवश्यक परेमा धम्क्याएका पनि छन् । तर त्यसलाई वितरण गर्ने बेलामा प्रचार-प्रसार गराएर ठूलै काम गरेको भन्ने पारेको पनि देख्न पाइयो।

यो बेलामा अर्बमा खेल्ने व्यापारी पनि १० हजारको लोभमा जेलमा पुगे । गाउँपालिका, नगरपालिकाले राहत बाँड्यौं भन्ने नाममा धेरै खर्च गर्ने गलत प्रवृत्ति पनि बढ्यो । प्रहरीको लापरबाहीले कोरोना संक्रमितहरू एउटा जिल्लाबाट अर्को जिल्लामा पुगे । माओवादी द्वन्द्वको बेलामा सुरक्षा निकायकै सहयोगमा हतियार आएजस्तै भयो अहिले पनि । प्रहरीलाई पैसा बुझाएपछि बोर्डरबाट आउन सक्ने जान सक्ने भएकोले मानिसहरूको आवतजावतमा पनि भीड भयो । यी विकृतिका पाटा हुन् तर यो बेला सुरक्षाकर्मीहरूले दिनरात खटेर काम गरेको कुरा पनि भल्नु हुँदैन ।

समयमै लकडाउन गरेकाले नेपालमा जुन किसिमको भयावह अवस्था हुन्थ्यो त्यो हुन पाएन भन्ने लाग्छ । हामीले पनि धेरै पटक सरकार चलाएका छौं भोलि पनि चलाउँछौं । त्यसैले राम्रोलाई राम्रो र नराम्रालाई नराम्रो भन्न सक्नुपर्छ । लकडाउन गर्नु सरकारको सही कदम थियो । यद्यपि राज्यले यस्ता बेलामा गर्न सक्ने कतिपय काम भने गर्न सकेन । कतिपय जनता भोकभोकै परे तर त्यसमा सरकारको ध्यान जान सकेन । लकडाउन गरेर सरकार पनि लक्ड भएर बस्नु चाहिं हुन्नथ्यो भन्ने लाग्छ मलाई ।

म आफैलाई पनि कोरोना संक्रमण भएकाले मसँग कोरोनाको भिन्न अनुभव पनि छ ।

म भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्ने मामिलामा अलि सचेत थिएँ तर मलाई नै कोरोना संक्रमण भयो । मलाई साथीहरूले पनि तपाईं त सबैभन्दा सजग मान्छे कसरी यस्तो भयो भनेर समेत भने । यसको उपचार त पत्ता लागिसकेको छैन । नेपालको सन्दर्भमा डरलाग्दो छ पनि र छैन पनि जस्तो भएको छ ।

मलाई कुनै लक्षण देखिएको पनि होइन । काठमाडौं जानु छ एक पटक पीसीआर गरेर जाऊ भन्दाखेरि त्यो देखिएको हो । त्यो लागिसकेपछि मैले साथीहरूलाई भन्न नपाउँदै केही अनलाइनहरूले समाचार राखिदिएछन् । स्वास्थ्य सम्बन्धी प्रोटोकल अनुसार यसरी भन्न मिल्दैनथ्यो । भन्नुपर्दा पनि परिचय नखुल्ने गरी मिलाएर लेखेको भए हुने थियो ।

अनलाइनहरूमा समाचार आएपछि मलाई सबैतिरबाट फोन आउन थाल्यो । अब कोरोना लाग्यो सबै सकियो भन्ने खालको मानसिकताले मलाई ठूलो पीडा भयो । त्यसपछि मैले सोचे, ठीकै छ, जिविस सभापति भएँ, सांसद भएँ कर्णालीबाट पहिलो क्याबिनेट मन्त्री भएँ । अहिले पनि प्रमुख प्रतिपक्षी दलको नेता छु, जनताको सेवा गर्न पाएको छु । जे हुन्छ, हुन्छ तर हरेस खाँदिन भनेर मन बलियो बनाएँ ।

फेरि यो कोरोना कुनै पूर्व जुनीको पाप पनि होइन । यो एक खालको भाइरस हो । यसलाई व्यायाम गर्ने तातोपानी खाने लगायत गरेर ठीक पार्छु भनेर आत्मबल बनाए ।

मेरो अनुभवले जसरी मान्छेलाई सर्ने र सार्ने गर्छ भनिएको थियो त्यस्तो रहेनछ कि जस्तो पनि लाग्छ । सिन्धुपाल्चोकमा सुत्केरी आमालाई कोरोना भाइरसको संक्रमण देखियो, त्यसकै कारणले उनको मृत्यु भएको पनि थाहा पाएको थिएँ । तर उनको नवजात शिशुलाई देखिएन । मेरो पनि त्यस्तै अनुभव रह्यो । मसँगै बस्ने मेरो स्वकीय सचिव अनि खाना पकाउने नानीलाई पनि कोरोना भएन । मलाई कोरोना लागेपछि ६ सयभन्दा बढीलाई ट्रेसिङ गरेको कसैलाई पनि पोजेटिभ देखिएन ।

कोरोनको यसको उपचारमा विशेषगरी खानपान र रहनसहनले पनि फरक पार्दो रहेछ । मैले कोरोना लागेपछि अस्पतालमा बस्न भन्दा घरमै बसेँ । मेरो घरमा मलाई खासै अप्ठ्यारो भएन । उपचार अस्पतालमा भन्दा पनि आफैले ध्यान दिएमा राम्रो हुने रहेछ । तर त्यसका लागि घरमा बस्ने सुविधा राम्रो हुनुपर्यो ।

सुरुवाततिर रक्सी खाएर कोरोना ठीक हुन्छ पनि भनेका थिए । तर त्यस्तो होइन जुन खानाले शरीरलाई कमजोर बनाउँछ त्यस्तो खाना खानु हुँदैन । धूम्रपान गर्ने अनि कमजोर बनाउने खालका खाना खानेलाई यसले बढी हानि गर्ने रहेछ । यो लागेपछि हामी बच्न सकिन्छ तर ख्याल गर्नुपर्छ ।

आइसोलेसनमा अरूबाट छुट्टै बस्दा सुरुमा त मलाई २-३ दिनसम्म खोकी लाग्यो, टाउको दुख्यो अनि पखाला लाग्यो, ओहो कोरोनाको असरले गर्दा हो कि जस्तो लाग्यो । आइसोलेसनमा बसियो भन्ने बित्तिकै सोचाइ नै अर्कै हुने रहेछ । फेरि मैले सुगरको औषधी खाइरहेकोले त्यस्तो कुरा मनमा खेलेको होला झैँ पनि लाग्यो । कोरोना लाग्दा आत्मबल बलियो बनाउने सबैभन्दा जरुरी देखें ।

मैले आइसोलेसनमा बस्दा घाँटी अप्ठ्यारो भएको भनेर दिनमा तीनचोटि बाफ लिने काम गरेँ । तातो पानी, मह राखेर अदुवा, बेसार र टिमुर राखेर खाएँ । शारीरिक व्यायाम गरें । जीउबाट पसिना निकाल्ने काम गरें । सिटामोल के के खाने भन्थे मैले त्यसो गरिन फलफूल खाएँ ।

एक पटक भने सुतेको बेलामा निकै अप्ठ्यारो भयो । अब भेन्टिलेटरमा जानुपर्छ कि जस्तो पनि भयो । बाहिर निस्किए अनि फेरि भित्र आएँ । यो केही होइन मैले यसलाई हटाउनुपर्छ भनेर आत्मबल बलियो बनाएँ । कस्ता कस्ता लडाइँ जितिन्छ यो केही होइन ठीक हुन्छ भन्ने मनमा राखें र कोरोनालाइ जितें ।

अहिले त मैले कोरोनाबारे मजाकमा “आफन्त बित्दा १३ दिन क्रिया बस्नुपर्ने कोरोना लाग्दा १४ दिन पर्ने रहेछ” भनेर समेत भन्ने गरेको छु । यो कोरोना केही पनि होइन भन्ने भनेर लापरबाही गर्नु हुन्न यसबाट सतर्क हुन जरुरी छ । त्यस्तै कोरोना लाग्यो लौ खतमै भयौं भन्ने पनि सोच्नु हुन्न ।

नेपालमा कोरोना लागेकालाई छि छि र दूरदूर गर्ने नराम्रो बानी छ । कतिले कोरोनापछिको सामाजिक पीडाले झुन्डिएर आत्महत्या गरे । कोरोना लागेकालाई घृणा होइन माया गरौं ।

कर्णाली प्रदेश संसदीय दलका नेता मा. जीवनबहादुर शाहीसंग गरिएको कुराकानीमा आधरित रहेर यो कथा लेखिएको हो ।

यो बेला केहि गर्ने जोश !

विदेशमा विरक्तिएको मन

‘चिन्ता मान्न छाडेकी छु’

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।