लकडाउन कथा श्रीमतीको उपचार गर्न पाइएन

श्रीमतीको उपचार गर्न पाइएन

मेरो नाम हरिनाथ राउत हो। घर मेरो बहुदरमाई नगरपालिकामा पर्छ। मेरो परिवारमा म, श्रीमती र दुई जना छोराछोरी छौँ। म राजमिस्त्री हुँ। काम गरेको दिन ८५० रुपैयाँ आम्दानी हुन्छ। दैनिक ज्यालादारीबाट कमाएको पैसाले घरव्यवहार, बालबच्चाको पढाइ, औषधी उपचार खर्च गर्थेँ, स्वालम्बन समूहबाट लिएको ऋण तिर्थेँ। खेतको धानले ६ महिना जति खान पुग्छ। बाँकी महिना चामल पनि किनेर खान्छु। घरखर्च, बालबच्चाको पढाइ, औषधी उपचारमा एक महिनामा लगभग दश हजार खर्च हुन्छ। अब के छ भने हरेक महिनामा एकै किसिमको खर्च हुँदैन। चाडपर्व परेका महिनामा बढी हुन्छ। आफन्तकहाँ विवाह, व्रतबन्ध भयो भने बढी खर्च हुन्छ।

मैले समूहबाट एक लाख बीस हजार ऋण लिएको थिएँ। महिनैपिच्छे नौ हजार किस्ता तिर्छु। अहिले एक महिना भयो किस्ता बन्द छ। अब एकमुष्ट तिर्नुपर्छ लकडाउन खुलेपछि। तर कहाँबाट ल्याएर तिर्ने थाहा छैन। किस्ता जम्मा हुँदै गइरहेको छ तर आम्दानी एक रुपियाँ छैन अहिले। खुलेपछि काममा गए दिनको मात्र पैसा पाउने हो तर किस्ताको रकम त जम्मा भइहाल्छ। किस्ताले त तिम्रो अहिले काम छैन भनेर भन्दैन।

यो लकडाउनले गर्दा सबै कुरा बन्द छ। अलिअलि पैसा आउने त्यही एउटा काम पनि बन्द छ। घरबाट बाहिर निस्कन सक्या छैन। खाने सामानको भाउ पहिलाभन्दा तेब्बर भइसक्यो। चोकमा गाउँको भन्दा अलिक सस्तोमा सामान पाइन्थ्यो। तर त्यहाँ किन्न जाँदा प्रहरीले पिट्छ। अहिले सबै सामानको भाउ बढेको छ। पहिले किलोको रु ३०० मा पाइने हरियो खुर्सानी अहिले रु. ५०० पर्छ। पहिला किलोको रु. ३० मा पाइने आलु अहिले रु. ५० पर्छ। प्याज किलोको रु. ३० बाट रु. ७० भएको छ, टमाटर रु. २० बाट रु. ५० पुगेको छ, एक लिटरको सनफ्लावर तेल रु. १५० बाट बढेर रु. २०० र आधा लिटरको रु. ८० बाट बढेर रु. ११० भएको छ।

यतातिर त राहत पनि आफ्ना नजिककालाई मात्र बाँडिरहेका छन्। आजसम्म जनप्रतिनिधि अथवा वडाको कुनै कर्मचारी आएर हाम्रोबारेमा जानकारी लिएका छैनन्। म कुन अवस्थामा छु मसँग खानेकुरा छ कि छैन भनेर कसैले सोधेका छैनन्। मेरो गाउँको दक्षिण टोलको दलित बस्तीमा राहत बाँडेका छन् तर मेरो घरतिर आएका छैनन्। आफूलाई मन परेको मान्छेलाई मात्र राहत बाँडेको देख्दा दु:ख लागेको छ। पहिला विकास निर्माणको काम गर्दा आफ्ना कार्यकर्तालाई राख्थे। त्यसो गर्दा मलाई मतलब थिएन जसले गरे पनि विकास भइरहेको छ भन्ने लाग्थ्यो तर राहतमा पनि राजनीति गरेको देख्दा दिक्क लाग्छ। अब त यिनीहरुलाई भोटै नहालौं जस्तो भएको छ। अहिले अप्ठ्यारो परेका बेला मेरो घरमा आएर सोधेको भए मेरो सरकार छ जस्तो लाग्थ्यो।

अहिलेसम्म त जिनतिन धानिरहेको छु। आफूसँग भएको सामान खाएर काम चलाएँ। लकडाउन अझ लम्बियो भने के गर्ने? सधैं त यसरी नचल्ला नि। भोको पेट लिएर कहाँ जानु? आफू एक्लै होइन फेरि, जहान परिवार छन्।

सबैभन्दा बढी पीडा त मेरी श्रीमतीलाई छ। धेरै दिनदेखि पेट दुखिरहेको थियो। चार महिना पहिला वीरगन्जमा जाँच गराए औषधी चलाएँ तर आराम भएन। डाक्टरले पेटको (बच्चादानी निकालेर फाल्न) अपरेसन गर्नुपर्छ भन्यो। रक्सौलमा गएर जाँच गराउँदा त्यहाँ पनि अपरेसन गर्नुपर्छ भन्यो। रक्सौलमा पैसा कम लाग्छ भनेर सबै खर्च हिसाब गरेर पचास हजार समूहबाट कर्जा लिएर अपरेसन गराउने सोचेको थिएँ। डाक्टरले मार्चको १७ मा अपरेसन गर्ने समय दिएको थियो। अपरेसन गर्ने बेलामा सबैतिर कोरोना भाइरसको हल्ला चल्यो। अहिले सबै बन्द भयो। पेनकिलर औषधीका भरमा छिन श्रीमती। खुलेको बेला पैसा थिएन। पैसाको जोहो गर्दागर्दै बन्द भयो। बडो पीडा छ। कहिले खुल्ने हो ठेगान छैन। यो भाइरस सबैभन्दा बलियो रहेछ जस्तो छ। हुनेहरुका लागि त ठीकै छ जति महँगो भए पनि किनेर खाइरहेका छन् तर हामी जस्ता मान्छेले के गर्ने हजुर?

यो कथा हरिनाथ राउतसंग गरीएको कुराकानीमा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।