बिरामीलाई आत्मीयता दिन पाइएको छैन

मेरो काम भनेको बिरामी हेर्ने, अध्यापन गराउने अनि अध्ययन र अनुसन्धान गर्ने हो । कोरोना महामारीले मेरो काम गर्ने शैली फेरिएको छ ।

अहिले बिरामी हेर्ने तरिकामा फरक परेको छ । पहिला ओपीडीमा म आफै बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खटिन्थें । कहिले त बिरामीको चापले गर्दा ७ पनि बज्थ्यो । पहिला हामी धेरै बिरामी हेर्थ्यौं । झण्डै ५ सय बिरामी ओपीडीमा हुन्थे । मेरो टिमले नै डेढ सयदेखि साढे २ सयसम्म हेर्थ्यौं । त्यो घटेर अहिले डेढ सयमा पुगेको छ । त्यसको दुईवटा कारणहरू छन् । पहिलो चिकित्सकले पनि बडो सकसले बिरामी हेर्नुपर्छ । अनि फेरि सुरक्षा कपडा लगाएर काम चारपाँच घण्टा मात्रै काम गर्न सकिन्छ । दोस्रो अहिले ओपीडीमा बिरामीको संख्या पनि घटेको छ । त्यसैले म अहिले बिहान ९ बजेदेखि १ बजेसम्म मात्रै ओपीडीमा बस्छु ।

बिरामी हेर्ने समय मात्र होइन अहिले बिरामी हेर्ने तरिकामा फरक आएको छ । आफ्ना र बिरामीको सुरक्षाको कारणले पहिला जस्तो बिरामीलाई आत्मीयताका साथ नजिकै राखेर उपचार गर्न पाइँदैन । भौतिक दूरी कायम गरी बिरामीलाई हेर्नुपर्छ । सुरुमा त बिरामीलाई अर्को कोठमा राखेर भिडिओ कलबाट पनि उपचार गरेका थियौं । त्यसमा त बिरामीलाई पनि नहुने हामीलाई पनि नहुने भएपछि अहिले एकै ठाउँमा राखेर उपचार गर्ने गरेका छौं । कोही बिरामी नजिकै बसेर आफ्नो कुरा भन्न चाहनुहुन्छ तर अहिले यो सम्भव भएको छैन । बिरामीसँग उहाँका आफन्त पनि आउनुहुन्थ्यो सोध्नलाई, अहिले त्यो पनि सम्भव भएको छैन । बिरामी मात्रै हेर्न थालिएको छ । ओपीडीमा बिरामी जाँच गर्न पूरै पीपीई लगाउन पर्दैन तर मास्क र गाउन भने लगाउने गर्नुपर्छ । तर कोभिडको बिरामी हेर्ने क्लिनिकमा भने पूरै पीपीई लगाउनुपर्छ । डाइपर पनि लगाउनुपर्छ । पीपीई लगाएपछि भोक, प्यास, दिसा, पिसाब बन्द गरेर काम गर्नुपर्ने हुन्छ । तिर्खा लागे पनि, पिसाब लागे पनि रोक्नै पर्छ ।

म कोरोना भइरसका संक्रमितको उपचार गर्ने टिममा पनि छु । हामीले कोभिडका बिरामी पनि हेर्नुपर्छ । यहाँ डायलासिस गर्ने बिरामीको उपचार हाम्रोमा मात्रै हुन्छ । कोरोना भाइरसका संक्रमित बिरामीको डायलासिस गर्नु धेरै नै चुनौतीपुर्ण काम हो । भेन्टिलेटरको अभावमा २ घण्टासम्म राखेर पम्प दिएर डायलासिस गरेको घटना पनि हामीसँग छ । कोरोनाको बिरामीलाई डायलसिस गर्नुपर्दा त्यस्तो नगरी पनि भएन । त्यसैले पनि यो अलि चुनौती पूर्ण हुन जान्छ ।

यो समय बिरामीलाई साँच्चै गाह्रो छ, दीर्घकालीन रोगीहरूलाई झन् धेरै गाह्रो छ । कतिपय साथीहरूले त घरमै गएर पनि बिरामी हेर्नुहुन्छ । मलाई त्यो झनै खतरा लाग्छ । अस्पतालबाट घरमा जाँदा रोग लिएर गयौं कि भन्ने डर लाग्छ।

हामीले टेली मेडिसिन सेवामा बढी जोड दिएका छौं । बिरामीलाई पनि त्यही कुरा भन्छौं । विभिन्न खालका बिरामीले गाउँगाउँबाट फोन गर्नुहुन्छ । बिरामीको परिवार आत्तिनुहुन्छ । यसका लागि हामीले फोनबाटै र भिडियो कल गरेर पनि सहयोग गरेका छौं । फोन र भिडियो कलबाट उपचार गर्न कोही बेला गाह्रो पनि हुन्छ ।

लकडाउनको बेलामा औषधिको पनि अभाव भयो । कोही बेला डायलासिसको औषधि पाउँदैन, कोही बेला प्रेसरको औषधि पाइएन भन्छन् अनि कोही बेला सुगरको औषधि पाइनौ भन्छन् । त्यस्तो बेला उहाँहरुलाई फार्मेसी वा स्वास्थ्य चौकी लगायतमा पुगेर फोन गर्नुहोला भन्छौं । त्यसपछि फार्मेसी वा स्वास्थ्य चौकीका मानिससँग कुरा गरेर बिरामीलाई औषधिको विकल्पसहित सुझाव दिन सजिलो हुन्छ । तर दूरदराजका जनताले यो सुविधा पनि पाएका छैनन् जस्तो लाग्छ ।

मेरो टिममा रहेका साथीहरू कामप्रति धेरै नै प्रतिबद्ध भएकाले मलाई असजिलो भएन । सुरुमा त सबै जना डराएका थिए, हामी पनि डराएका थियौं । एउटा सैनिकले जुनसुकै दिन लड्न पर्छ भनेर जागिरमा जान्छ तर वास्तविक लडाइँ हुँदा डराउछन् नै । हामीलाई पनि त्यस्तै भएको थियो ।

कहिलेकाहीँ हाम्रो सेवालाई लिएर विभिन्न खालका अफवाह पनि फैलाइएको देख्छु । नरमाइलो लाग्छ । आइसोलसेनमा कोही चिकित्सक आउँदैन भनेर समेत समाचार आएका छन् । लक्षण नभएको मानिसलाई आइसोलेसनमा राख्ने भनेको समस्या भएर मात्रै होइन । समाजमा कोभिड भनेपछि अझै पनि अपहेलित हुने अवस्था छ त्यसबाट जोगाउन आइसोलेसनमा राखिएको हो । रोगको लक्षण भएका बिरामी राख्ने ठाउँ फरक छ ।

आइसोलेसनमा राखिएकाहरूको मनिटरिङ गर्ने व्यवस्था गरिएको हुन्छ । सीसीटिभीले निगरानी गरेको हुन्छ । अक्सिजन नापिएको हुन्छ । कुनै पनि लक्षण देखिनासाथ चिकित्सकले हेरिहाल्छ । लक्षण नभएका बिरामीलाई पटकपटक हेर्न जरुरी छैन । उहाँहरु रोगी भएर ल्याएको होइन संक्रमित भएर ल्याइएको हो । त्यो संक्रमित बिरामी समाजमा अपहेलित नहोस् कुनै पनि बेला लक्षण देखियो भने उपचार गर्न सकियोस् भनेर अस्पताल ल्याइएको हो । त्यस्तो खालको बिरामीलाई आइसोलेसनमा राखिन्छ । त्यहाँ जान चिकित्सक पीपीई लगाएर तयारी अवस्थामा रहन्छन् । कोरोना संक्रमित आईसीयुमा राख्ने पनि हुन्छन् । उनीहरुलाई भने चिकित्सकले पटकपटक हेर्न जरुरी हुन्छ ।

कति पाए समाचारहरूमा आइसोलेसनमा राखिएको पानी पनि खान पाएनन् भनेर समेत समाचारमा आउँदा नमज्जा पनि लाग्थ्यो । तर हामीले यहाँ भएका संक्रमितहरूलाई चिकित्सकलाई खुवाउने खाना नै खुवाउने गर्छौं ।

अहिले सतर्कता नअपनाएको कारण कोरोना धेरै फैलँदैछ । मास्क नलगाउँदा संक्रमण सर्छ भन्नेमा ध्यान दिएको पाउँदिन । कतिले त चिउँडोमा मास्क लगाउने, हातमा मास्क लगाउने गरेको पनि देखेको छु । कतिले मास्क लगाउनुहुन्छ फेरि निकाल्नुहुन्छ फेरि लगाउनुहुन्छ । यसरी मास्क लगाइसकेपछि पटकपटक चलाराख्नु हुन्न भन्ने कुरा अझै पनि बुझाउन सकिएको छैन ।

लकडाउनको बेलामा मैले पढाउने काम गरिन किनकि अनलाइन कक्षा सम्भव भए पनि प्रयोगात्मक कक्षा सम्भव भएन । त्यसैले अनलाइन कक्षा गरिएन । हामीले अब परीक्षा भने सुरु गर्दैछौं । परीक्षार्थी, बिरामी नर्सहरू सबैको पीसीआर गरेर परीक्षा लिदैछौं । यो एकदमै नयाँ किसिमको हुँदैछ । विद्यार्थीको संख्या पनि थोरै हुन्छ ।

मेरी पत्नी पनि यही पेसामा हुनुहुन्छ । उहाँ माइक्रोबायोलोजी विभागको प्रमुख भएकोले ल्याबको पूरै जिम्मा उहाँलाई छ । त्यही भएर हामीले एकअर्कालाई बुझेका छौं । हाम्रो छोरा १२ को रिजल्ट आएर बसेको छ । घरमा हामी अलिकति दूरी कायम गरेर नै बस्ने गरेका छौं । म अलग्गै छुट्टै कोठामा बस्छु ।

यो कथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका इन्टरनल मेडिसिन विभाग प्रमुख प्रा.डा. सञ्जीव कुमार शर्मासंग गरिएको  कुराकानीको आधारमा लेखिएको  हो  ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।