कोरोना मिडिया मालिकलाई अर्को बहाना भएको छ

सञ्चार क्षेत्रमा लागेर देशको सेवा गर्ने मेरो बच्चादेखिकै चाहना र ठूलो सपना हो। सामान्य रिपोर्टरबाट यात्रा सुरु गरेको झन्डै एक दशक पुगिसकेको छ। आफूले बनाएका रिपोर्टहरु राष्ट्रिय टेलिभिजनमार्फत प्रमुख प्राथमिकताका साथ बज्दा गर्व लाग्छ। ‘आवाजविहीनहरुको आवाज’ बन्ने सपनासहित यो पेसामा बफादार रूपमा निरन्तर काम गरिरहेको छु।

पत्रकारहरुको विडम्बना भनौं या बाध्यता काम गर्ने संस्थानले एक महिनाको तलब दिन चार महिना लगाउने प्रवृति अझैसम्म पनि हाबी छ। सधैं अरू अन्यायमा परेको खबर प्रसारण गर्ने हामी, आफै अन्यायमा पर्दा पनि बोल्नका लागि हिच्किचाउँछौं। मिडिया मालिकको दबाब एकातिर अर्कोतिर जागिर जाने त्रासले साथीहरु अन्याय सहेर बस्न बाध्य भइरहेका छन्।

अहिले मिडिया मालिकको जुन लाइफ स्टाइल छ, केही हदसम्म त्यो हाम्रो सञ्चार कर्मप्रतिको इमानदारी र बफादारीको कारण नै हो भन्नेमा कुनै दुईमत छैन। तर पनि मिडिया मालिकहरू आफूसँग अकुत हुँदाहुँदा पनि पत्रकारहरुमाथि चरम शोसण गर्छन्। आज फेरि कोरोनाको बहानामा पत्रकारहरुलाई मिडियाबाट जबर्जस्ती निकालिरहेका छन्। आधा तलबमा काम गर्न बाध्य गरिएको छ। यसबारेमा मै हुँ भन्ने ठूला पत्रकारहरु पनि बोल्दैनन्। उनीहरू बोल्नभन्दा मालिकको चाकडी गर्दै मस्त छन्।

पत्रकारको पेशाप्रति नीतिनियमहरू छन् तर व्यवहारमा छैनन्। यदि हामी आफैले हाम्रो आवाज बुलन्द बनाउन सकेनौं भने भोलिका पुस्ताले पत्रकारिता गर्दा झनै पीडा भोग्नुपर्ने हुन सक्छ। त्यसैले हामी श्रमजीवी पत्रकारहरू सडकमा आयौँ। आवाज पनि उठायौं। आफ्नो ठाउँबाट आवाज उठाउँदै पनि छौं।

कोरोना अहिले मिडिया मालिकलाई झन् गजबको बहाना बनेको छ तलब कम र ढिला दिनका लागि। म आबद्ध संस्थाले कोरोनाका कारण तलब नदिएको होइन। कोरोनाको महामारी फैलिनुअघिदेखि नै यहाँ चार महिनामा एक महिनाको तलब दिने प्रचलन रहेछ। त्यसैले उनीहरूको लागि कोरोना त नयाँ बहाना भइदियो।

मेरो व्यक्तिगत जीवनको प्रसंग कोट्याउने हो भने मैले यहीबीचमा जागिर छोड्नुपर्यो। म कुनै राष्ट्रिय टेलिभिजनसँग आबद्ध थिएँ तर संस्थाले चार महिनासम्म पनि बैंकमा तलब नहालेपछि म आफै संस्थाबाट बाहिरिएँ। एकातिर घरबेटीको कचकच, अर्कोतिर घरमा दाल चामल सकिने। काम गरिएको छ तर गोजी भने खाली भयो। अनि काम गरेर बस्नुको कुनै तुक देखिन।

आफूले काम गरेको तलब महिनामा नआउँदा, मनमा कहिलेकाहीं यो पेशामा लागेर गलत त गरिन भन्ने पनि लाग्छ। ‘आफूसंगैको साथी कारमा हिंड्छन् तर मसँग मोटरसाइकल पनि छैन’ भन्ने जस्तो कुराहरू पनि मनमा खेल्छन्। त्यस्तो कुराहरू मनमा खेलेको बेला चाहिं भविष्यको चिन्ताले सताउनु सताउँदो रहेछ। तैपनि यो पेशा मेरो बच्चादेखिकै चाहना र ठूलो सपना पनि हो। म यसमा नै आफ्नो भविष्य बनाउँछु भनेर अघि बढिरहेको छु।

अब भने सानो होस् या ठूलो मिडिया त्योसँगको सरोकार भएन। तर महिना मरेपछि आफ्नो तलब बैंक खातामा जम्मा गरिदिने संस्थामा आबद्ध हुने योजनामा छु।

हामी जस्ता श्रमजीवी पत्रकारले सधैंभरि विभिन्न बहानामा फेरि यस्तो दुर्दशा भोग्न नपरोस् भन्ने लाग्छ। म एक बफादार पत्रकार हुँ। आफ्नो तर्फबाट आवाजविहीनहरुको आवाज बन्न सकेको छु भन्ने सोचेर गौरवान्वित हुँदै मन बुझाउने प्रयास गरिरहेको छु।

यो कथा लालकुमार मोक्तानसंग गरीएको कुराकानीमा रहेर अनुषा स्वाँरले लेख्नु भएको हो ।

यो अन्योल कहिलेसम्म..?

क्यामेरा खोसेर कोदाली !

हिँडेरै पुगुँला त रोल्पा ?

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।