अब यो कहिलेसम्म..?

हुन त म यहीँ काठमाडौंमै हुर्केको हो तर पनि यो शहरमा मेरो आफ्नै घर छैन। म गोंगबुमा बहालमा बस्छु। सात वर्ष भयो ट्याक्सी चलाउन थालेको। तीन वर्षजति भयो आफैले हुन्डाई ट्याक्सी किनेर चलाको। यो ट्याक्सी किन्ने बेला बैंकबाट नमिलेकाले फाइनान्सबाट अलि बढी ब्याज परे पनि ट्याक्सी झिकें। फाइनान्समा १७ प्रतिशत अनि २ प्रतिशत सेवा शुल्क लाग्छ, झण्डै १९ प्रतिशत ब्याज पर्न आउँछ। मैले गाडीको मासिक किस्ता रु. २५,००० बुझाउने गर्थें र बाँकीबाट घर चलाउने गर्थें।

बिस्तारै जीवनले गति लिन थाल्दै थियो। कोरोनाले गर्नु गर्यो नि सब चौपट पारिदियो। चैतदेखि कोठा अगाडि सडकमा गाडी थन्केर बसेको छ। यत्रो समय भइसक्यो रामोसँग सडकमा गाडी चलाउन र कमाउन पाइएको छैन।

लकडाउनको १-२ महिना त ठीकै थियो त्यो बेला डर पनि निकै लागेको थियो। अब चाहिँ एकदम गाह्रो भइसक्यो। अब डर-सर सब भागिसक्यो। अहिले उस्तै परे रासनको जोहो गर्न नसक्ने अवस्थामा पो पुगिसकें। दुई छाक टार्न कहाँबाट लिएर आउने कसरी लिएर आउने जस्तो छटपटी हुन्छ। मान्छेको जीवनमा सबैभन्दा पहिले भोक आउँदो रैछ। यो कोरोनासँग पनि पेटभरि भए डर बढी नै लाग्ने रैछ। पेट खाली भए डर कम लाग्दो रैनछ।

पहिले पनि धेरै बचत त हुने होइन, आज कमायो आजै खाने हो भोलि कमायो भोलि खाने हो तैपनि काम थियो आफ्नै पाराले घर व्यवहार चलिरहेको थियो। मेरो घरमा चार जना छौं। हामी बूढाबूढी र दुईवटा बच्चा। कमाउने म मात्र। बूढी गृहिणी भइहालिन्। घरको काम गर्छिन् बच्चा हेर्छिन्। अनि मै एक जना दु:ख गर्छु पैसा कमाउन। त्यही ट्याक्सीको पैसाबाट परिवार, गाडीको मासिक किस्ता, घर भाडा र व्यवहार चल्थ्यो। अहिले त जीवन एकदमै कष्टकर भएको छ। ठूलो मर्कामा पर्यो हो जिन्दगी कोरोनापछि त।

आफ्नो दैनिकी कष्टकर बन्दै थियो। काम गर्न कहिलेबाट पाइने हो टुंगो थिएन। अब त अति भो, भनेर ट्याक्सी संघ र हामी मजदुरहरूले आन्दोलन पनि गर्यौ। त्यो बेला म आन्दोलनमा दुई चोटि पुगेँ। सरकारले हामी ट्याक्सी चलाउनेहरुको व्यथा बुझ्छ कि आन्दोलन सफल हुन्छ कि भन्ने आशले त्यहाँ पुगेको थिए। हामी नाथेले आशा गर्नुबाहेक अरू के नै गर्न सक्दा रैछौं र।

यदि आन्दोलनमा गयो भने हाम्रो कुरा, हाम्रो दु:ख सरकारले सुन्लान् कि भन्ने लागेको थियो। त्यसैले त्यहाँ जानुपर्छ जस्तो लाग्यो र गएँ। म नयाँ बसपार्क बस्छु आन्दोलन बानेश्वरमा हुने भनिएको थियो, मलाई यहाँदेखि हिंडेर जान गाह्रो थियो।

प्रायः बिहान चेकिङ ५-६ बजे पछि मात्र सुरुवात हुन्छ। त्यसैले पहिलो दिन जाँदा त म राती २-३ बजे नै उठेर तयार भएँ अनि ४ बजे त्यहाँ पुग्ने हिसाबले ट्याक्सी गल्ली गल्लीबाट लिएर गएँ। बेलुका ८ बजेपछि मात्र गल्ली गल्लीको बाटोबाट घर फर्किएँ। भोलिपल्ट नि जादाँ त बिहान चार बजेदेखि नै पुलिसहरु गल्ली गल्लीमा बसेका रैछन् अनि फर्केर आएर एक ठाउँमा गाडी राखेर हिंडेरै गएँ आन्दोलनमा। गाह्रो साह्रो केही नभनी धाइयो। आफूलाई परेपछि मात्र थाहा हुँदो रहेछ। बाहिर बस्नेलाई त अब ट्याक्सीवालाको पनि आन्दोलन फलानोको पनि आन्दोलन, देशमा जे भए नि आन्दोलन गर्न सजिलो छ भन्थे। हाम्रो आन्दोलन पनि यसै बन्द भयो सरकारले नसुनेझैँ गर्यो। हाम्रो हितमा केही गरेन।

लकडाउनको बेला एकचोटि बिरामीलाई अस्पताल लग्नुपर्यो भनेर मेरो कोठामा नै आएर धेरै भनेपछि मैले टिचिङ लगें। यताबाट जाँदा बिरामी पनि साथमा भएकाले पुलिसले केही भनेन। तर फर्कदा बिरामी साथमा हुने कुरा भएन अनि फर्केर आउदाँ गाडी समातेर ५-६ घण्टा राखिदियो। सरकारले खै हामी ट्याक्सीवालाहरूसँग कहिलेको रिस पोखेको हो थाहा छैन। त्यो बेला रातो नम्बर प्लेटवालाहरुले मान्छे बोकेर मजाले हिँड्न पाइरहेका थिए। सरकारले त्यो बेला कोरोना रातो नम्बर प्लेटवाला गाडीमा नलाग्ने कालोमा मात्र लाग्ने जस्तो गरेको थियो। निजी गाडीले मान्छे बोकेर हिँड्न पाए हामीले पाएनौं। सरकारले ट्याक्सीवालाहरू अर्काको देशबाट आएको शरणार्थी र यो देशको नागरिक नै होइन जस्तो व्यवहार गरेको थियो।

लकडाउनमा हामी जनतालाई रोगले भन्दा भोकले मर्ने भइयो भन्ने सुर्ता भयो तर उता नेताजीहरु भने कुर्सी कसरी बचाउने भन्नेतिर लागे। अहिले उनीहरुले आफ्नो पद छोडेर जनतालाई के गर्ने कसरी गर्ने भन्ने हिसाबले जानुपर्छ कि जानुपर्दैन? लकडाउन र बन्द मात्र गरेर हुन्छ? कोरोनाको संकट टार्न काम गर्नुपर्दैन? दुईतीन महिनादेखि दुईतिहाइको सरकार आफू आफूमा झगडा र बैठक गरेर बसे। यता संक्रमितहरु बढेको बढे गरे। यस्तो बेला नेतृत्व लिनेहरुले आफ्नो लागि हानाहान गरेर बस्ने बेला त होइन नि ! जनताहरुलाई यो अवस्थाबाट कसरी पार लगाउने भन्नेतिर पो लागिपर्ने हो। हाम्रोबारे सोच्नुपर्ने हो। अहिले नेताहरू मिलेका छन् क्यारे! फेरि कहिलेबाट फेरि एक आपसमा झगडा गर्न सुरु गर्ने हुन् थाहा छैन।

कोरोना फेरि बढेर अहिले फेरि सब बन्द छ। अब यो कहिलेसम्म हो थाहा छैन। राम्ररी काम गर्न नपाएको महिनौं भइसक्यो। अब खुल्दा प्राइभेट गाडीहरू हिँड्न दिँदा हामी ट्याक्सीलाई पनि हिँड्न दिए हाम्रो पनि केही कमाइ हुन्थ्यो। सार्वजनिक गाडीहरू नचलेको बेला मानिसहरूलाई पनि त राम्रो हुन्थ्यो। सबैसँग आफ्नो गाडी हुन्छ भन्ने हुन्न। प्राइभेट गाडीहरूसँग ट्याक्सी पनि चल्दा आपत् पर्नेहरूलाई सहयोग पनि हुन्थे।

 

कोरोनाका बीचमा गोवादेखि रोरांग

झन् पीडा दिने अस्पताल लकडाउन कथा

झन् पीडा दिने अस्पताल

कोरोनाका बिरामी भेटिँदा

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।