लकडाउनमा सुत्केरी हुँदाको व्यथा लकडाउन कथा

लकडाउनमा सुत्केरी हुँदाको व्यथा

मेरो नाम रिता बस्नेत हो । बारा जिल्लाको कोल्हवी नगरपालिका वडा नं. ८ मा बस्छु । यतिबेला म सानो छोरा स्याहार्न व्यस्त छु ।

होलीपछि कोरोनाको हल्ला अलि बढ्न थालेको हो । म गर्भवती थिएँ । कोरोनाको कुरा सुनेर डर लाग्थ्यो । नेपालमा त्यस्तो धेरै नदेखिए पनि किन हो किन मलाई अलि अलि डर लागिरहन्थ्यो । झन् चैत्र ११ गतेबाट लकडाउन भएपछि त अस्पताल कसरी जाने, एम्बुलेन्स पाइएला कि नपाइएला, अस्पतालले भर्ना लेला कि नलेला भन्ने चिन्ताले म र मेरो परिवारलाई सताइरहन्थ्यो ।

हाम्रोतिर डर भनेको भारतबाट आउनेहरुले सार्ने भएकोले हो । भारतमा पनि धेरै संक्रमण नभएको सुन्दा म घरीघरी ढुक्क पनि हुन्थें ।

यो मेरो दोस्रो बच्चा हो । यो भन्दा पहिले सुत्केरी हुँदा म विरगंजको नारायणी अस्पतालमा भर्ना भएकी थिएँ । त्यो सरकारी अस्पताल हो । त्यहाँ सजिलैसँग डेलिभरी भएको थियो । त्यसैले यो पालि पनि त्यहीं जाने भनेर सोचेकी थिएँ ।

लकडाउन भए पनि एम्बुलेन्स चलेकाले अस्पताल कसरी जाने भन्ने चिन्ता थिएन तर कोरोनाका बिरामी बढी हाले भने के गर्ने होला भनेर मनमा डर थियो । मलाई अस्पतालले भर्ना गर्ला कि नगर्ला, गरिहाल्यो भने अस्पतालका बिरामीहरुबाट कोरोना सर्ने हो कि भन्ने डर कता कता थियो । वीरगंजका अस्पतालहरुले बिरामीलाई भर्ना नगरी फर्काएको समाचार पनि सुनेकी थिएँ । यसले गर्दा मेरो मनमा डर झन् बढ्दै थियो । अस्पताल जाने दिनसम्म ज्वरो नआओस् भनेर मनमनै प्रार्थना गरिरहन्थें, ज्वरो आयो भने अस्पतालले भर्ना नगर्ने हो कि भन्ने पिरले ।

हुन त मलाई डाक्टरले वैशाख ६ गतेको डेट दिएका थिए । तर मलाई वैशाख २ गते नै व्यथा लाग्न सुरु भयो । त्यो दिन अरु दिनभन्दा विल्कुलै फरक थियो । कोरोनाको डर अनि लकडाउनले जताततै बन्द थियो । बिहान कम्मर र पेट एकदम दुख्यो । मलाई बच्चा घरमै जन्मिन्छ कि जस्तो व्यथाले च्यापेको थियो । श्रीमानले हतार गर्दै एम्बुलेन्सलाई फोन गर्नु भो । एम्बुलेन्स सजिलै पाइयो । हामी बिहान ७ बजे बल्ल एम्बुलेन्स चढ्यौँ । नारायणी अस्पताल जाने कि कता भनेर श्रीमान् र ड्राईभरबीच कुराकानी भयो । मलाई त नारायणी अस्पताल जाने इच्छा थियो, नजिक पनि अनि सजिलो पनि तर ड्राइभरले त्यहाँ अहिले कोरोना लागेका बिरामी राखेकाले अरु बिरामी लिंदैन भनेपछि हामी हेटौंडा अस्पताल तिर लाग्यौं ।

चैत्र ३० गते मात्रै वीरगन्जमा तीन जना कोरोना संक्रमित भेटिएका थिए । त्यसपछि नारायणी अस्पताल मात्र होइन अरु अस्पतालले पनि सितिमिति अरु रोगका बिरामी लिन मानेका थिएनन् रे । अनि केहीले त समयमा उपचार नपाएकाले उनीहरूको ज्यान गयो भन्ने पनि सुनेकी थिएँ । यसले गर्दा मन झन् तर्सिएको थियो ।

करिब ९ बजे हामी हेटौंडा अस्पताल पुग्यौँ । १० देखि १०:३० को बिचमा बच्चा जन्मियो । अपरेशन गर्नु परेन । अपरेशन गर्नु परेको भए धेरै दिन अस्पताल बस्नुपर्थ्यो । खर्च बढी लाग्थ्यो । रोग सर्ने डर पनि बढी हुन्थ्यो ।

कोरोनाबाट बच्न एकअर्काबाट टाढा बस्नु पर्छ भनिए पनि अस्पतालमा त्यसको पालना भएको थिएन । स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका सामान लगाएका थिए तर अरु व्यवहार सामान्य थियो । न उनीहरू टाढा बस्थे न त मसँग मास्क थियो । मनमनै डिस्चार्ज कहिले हुने हो भन्ने मात्र सोचिरहन्थेँ । मनमा एउटै थियो डर कोरोना लाग्छ कि भन्ने । किनभने अस्पतालमा धेरै थरीका मान्छे हुन्छन् । कसलाई के भएको छ के थाहा हुन्छ र ! नयाँ मान्छे जो देखे पनि डर र शंका लाग्थ्यो मलाई । अस्पतालमा जसलाई पनि कोरोना लागेको छ जस्तो लाग्थ्यो ।

त्यो दिन हेटौंडा अस्पतालको माहोल नै शंका उत्पन्न गराउने खालको थियो । हामी पुगेको केही समयमा एउटी सुत्केरीको मृत्यु भएको थियो रे ! डाक्टरले उनलाई बचाउन नसके पनि बच्चा चैं बाँच्यो रे ! सुत्केरी महिलाको मृत्यु अन्य कारणले भए पनि मान्छेहरु कोरोनाले गर्दा मरेकी भन्थे । त्यस्तो सुन्दा झन् डर र चिन्ता लाग्थ्यो । अस्पतालबाट कहिले घर फर्कने भनेर सोधिराख्थें ।

त्यहाँ अर्को समस्या भनेको खानेकुराको थियो । अस्पतालमा क्यान्टिन भए पनि खाना लिन घन्टौं कुर्नु पर्ने । त्यो पनि जाउलोका लागि । तातो पानी पनि पाइएन । चौबीस घण्टा काट्न धेरै गाह्रो भयो । पहिले नारायणी अस्पतालमा सुत्केरी हुँदा यस्तो विधि गाह्रो भएको थिएन ।

घर फर्केपछि भने ढुक्क भएँ । अहिले म घरमै बसिरहेकी छु । घरमा सासु-ससुरा, श्रीमान् र तीन बर्षकी जेठी छोरी छन् । सासु ससुरा खेती गर्नुहुन्छ । मेरो श्रीमान् मार्केटिङको काम गर्नुहुन्छ । काठमाडौंमा बस्नुहुन्छ तर अहिले लकडाउन भएर घर आउनु भएकोले धेरै सजिलो भएको छ । म पनि पढेलेखेको भएकोले आफनो ख्याल गरिरहेकी छु । शतर्क भएकी छु । यस्तो बेला सानो बच्चा स्याहार्न अरुबेला भन्दा गाह्रो छ तर पनि मैले बच्चा स्याहार्न पूरै ध्यान दिएकी छु । अहिलेसम्म म र मेरो बच्चा स्वस्थ छौं । हामी सामान्य परिवारका भएकाले धेरै सजिलो पनि छैन र धेरै गाह्रो पनि छैन । आफ्नै खेतबारीको हरियो तरकारी तथा घरकै गाईको दूध खान पाएकी छु ।

गाउँघरमा लकडाउनको खासै असर छैन । बजार बन्द छन् तर आवत जावत गर्नेहरु उत्तिकै छन् । यहाँ खानेकुराको अभाव छैन । फलफूल बाहेकका अन्य खानेकुरा सजिलै पाइन्छ । गाउँघरमा भएको र आफ्नो घरमा नभएको कुरा पालो पैंचो गरेर भए पनि काम चलिरहेको छ ।

यो कथा रिता बस्नेतसंग गरीएको कुराकानी मा रहेर शिवनाथ यादबले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।