लकडाउनमा बुबाको उपचार

म जागिर खाँदै पढिरहेको छु। मेरो घर सिन्धुपाल्चोक हो। उता घरमा मा बुबाआमा र सानो भाइ हुनुहुन्छ। बहिनी र म चाहिं  भक्त्तपुरको काँडाघारीमा डेरा लिएर बस्छौं। ऊ पनि आफ्नो प्लस टु सकेर अहिले काम नै गर्छे। लकडाउनपछि हामी दुवैको अफिस बन्द भयो। हामी यता कोठामा नै रोकियौं।

लकडाउनले सास्ती पाइयो। दिदीबहिनी कोठामा नै थुनिएर दिन बिताउँदै थियौँ। एक दिन घरबाट बुबा बिरामी हुनुभएको भन्ने खबर आयो। गाउँकै अस्पतालमा उपचार गराउँदा केही बिसेक भएन भन्ने कुरा पनि थाह पाएँ।

मन एकदमै अत्तालियो।

के भएको भन्ने कुरा थाह नहुँदा मनमा झन् धेरै कुराहरू आउँदा रैछन्। गाउँकै अस्पतालमा उपचार गराउँदा केही कम नभएपछि ठूलाबुबाको छोरोले खाँडीचौर अस्पतालमा लानुभएछ। त्यहाँ पुगेपछि बल्ल बुबालाई एपेन्डिक्स भएको भनेर थाहा भयो। त्यसपछि डाक्टरले काठमाडौं लैजान सल्लाह दिनुभयो।

बुबालाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइयो।

बहिनी र मैले मिलेर उहाँलाई काठमाडौंको सिभिल अस्पतालमा लग्यौं। त्यहाँबाट टिचिङ अस्पताल लैजानु भने। त्यसपछि टिचिङ अस्पताल, महाराजगन्जमा लग्यौं।

टिचिङ अस्पतालले २-४ दिनमा अपरेशन गर्नुपर्छ भन्यो। अनि बुबालाई अस्पतालमा भर्ना गर्यौं। यो बेला मनमा कोरोनाभन्दा पनि बुबाको पिर थियो। तर माक्सहरू भने लगाइराखेको थियौँ।

बहिनी र म मात्रै थियौं अस्पतालमा। घरीघरी घरबाट मम्मीले फोन गरेर सोधिराख्नुहुन्थ्यो। सबै अतालिएका थियौँ। घरकी जेठी छोरी भएकाले मैले सबैलाई सम्हानुपर्ने स्थिति थियो। भोलिपल्ट आउनुभएको डाक्टरलाई अपरेशन कति बजे हुने हो भनेर सोधें उहाँले एपेन्डिक्स एकदम फुलेको छ। अहिले अपरेशन गर्न मिल्दैन भन्नुभयो।

त्यो रात बहिनी र म बुबालाई कुर्न बस्यौं। त्यो बेला एक्लो महसुस भएको थियो। आफ्नो भन्ने पनि कीहि नभएको जस्तो लागिरहेको थियो। फेरि कोही आउन चाहे पनि लकडाउनमा कोही आउने सम्भावना पनि थिएन।

अर्को दिन फेरि सोध्दा डाक्टरलाई औषधि चलाउने मात्रै भन्नुभयो। अनि औषधि मात्रै चलायौं।

मैले फेसबुकमा बुबाको एपेन्डिक्स भएको भनेर पोष्ट गरेको थिएँ। त्यहाँ मेरा साथीहरूले अपरेशन नै गर्नुपर्छ भनेर लेखेका थिए। उनीहरूले एपेन्डिक्सको त अन्य विकल्प छैन भनेका थिए। मैले यही कुरा डाक्टरलाई भन्दा, हैन एपेन्डिक्स भए पनि औषधिले ठिक हुन्छ मात्र भन्नुभयो।

बुबा केही खाना पनि सक्नु हुन्नथ्यो। औषधि पनि स्लाइनबाट चडाइरहेको थियो। हामी दिदीबहिनीलाई हस्पिटलमा गाह्रो भइरहेको थियो। गाडीहरू पनि चल्थेन। फेरि पैसाको अभावले पनि गाह्रो हुँदै थियो। जसोतसो बहिनी र मैले टिचिङमा दिन काटिरहेका थियौँ।

बल्लतल्ल ६ दिनमा बुबालाई अलि कम भयो। अस्पतालले  डिसस्चार्ज गरेपछि बुबालाई कोठामा लिएर आयौं।

बुबा अलिक ठीक हुनु भएपछि अंकलको घरमा जानुभयो। फोन गरिरहन्थें बुबालाई। एकदिन बेलुकाको खाना खाएपछि झन् गाह्रो भएछ बुबालाई। मलाई अंकलले फोन गर्नुभयो। त्यसपछि मैले डिसचार्ज हुँदा डाक्टरले दिनुभएको नम्बरमा फोन गरें। फोन उठ्यो।

अनि मैले बुबालाई झनै गाह्रो भयो भनेर भनें।

उताबाट डाक्टरले अहिले नल्याउनु दुखाइ कम हुने औषधि त्यहाँ पर्चीमा लेखेको छ त्यो दिनु भन्नुभयो।

मैले होइन बरु अपरेशन नै गरिदिनु। उहाँलाई हेरिदिनु भने। तर उहाँहरूले मान्नुभएन।

त्यसपछि म युटुबमा विभिन्न डाक्टरहरू सर्च गर्न थालें, त्यहाँ एक जना डाक्टरले अन्तर्वार्ता दिनुभएको रहेछ मैले कमेन्ट गर्दा रिप्लाइमा डाक्टरको नम्बर पाएँ।

त्यसपछि मैले धुलिखेल हस्पिटलमा फोन गरें। त्यहाँबाट पहिला जहाँ देखाएको त्यहीं देखाउँदा राम्रो हुन्छ भन्नुभयो। फेरि टिचिङमा फोन गर्दा त्यतिकै टार्नुभयो। बुबालाई यता गाहो भइहेको थियो तर अस्पतालहरू कोराना डरले बिरामी लिन मानिरहेका थिएनन्।  म त निरास भइसकेको थिएँ। मेरो एक जना  साथीले मलाई भक्तपुर हस्पिटलमा एकपल्ट फोन गर्ने सल्लाह दिइन्।

मैले त्यहाँ फोन गर्दा लिएर आउनु भन्नुभयो। अर्को दिन जानलाई तयार त भयौं तर गाडीहरू केही चलेको थिएन। अंकलले बुबालाई अस्पतालसम्म लगिदिनुभयो। डाक्टरले भर्ना गर्नुपर्ने बताउनुभयो। अनि १-२ दिन राखेर अपरेशन गर्नुपर्छ भन्नुभयो। हामी त्यहीं बस्यौं।

बुवाले मलाई अब के हुन्छ थाहा छैन। घरमा को-कोलाई यति पैसा तिर्नु छ भन्दै मम्मीसँग फोन गरेर धेरै रुनुभयो। मलाई पनि आफूलाई सम्हाल्नै गाह्रो भयो। म पनि लुकेर धेरै रोएँ। तैपनि मैले भने बुबालाई त्यस्तो नभन्नु हामी जसरी भए पनि ठीक पार्छौं। तपाईंलाई केही हुन्न भनें।

अस्पतालमा राति कुर्दाखेरि एकदम गाह्रो हुन्थ्यो। बुबा पीडाले रुनुहुन्थ्यो। जति चोटि बुबालाई दुख्थ्यो त्यति नै पटक मलाई नि दुख्थ्यो।

अपरेशन भयो। अपरेशन झन्डै २ घण्टा लामो थियो। अपरेशन सफल हुँदा हामी खुसी भयौं। अमृता बराल मिस, रामचन्द्र दाइ, ध्रुव, मिन र विकास अंकलहरूले धेरै नै सहयोग गर्नुभयो।

हस्पिटलमा बुबालाई मैले र बहिनीले डोराएर अलिअलि हिंड्न सक्ने पार्यौं। आफूलाई गाह्रो भएको महसुस गरेनौं। पिसाब पनि पाइपबाट गर्नुहुन्थ्यो। बहिनी र मैले फाल्यौं। सुरुका १-२  दिन  बाथरुम  लैजान गाह्रो भएको थियो बिस्तारै डोर्‍याएर बाथरुमसम्म लैजान्थ्यौं।

हस्पिटलमा हुँदा बुबालाई त्यहाँका अन्य मानिसहरूले तपाईंको छोरा हुनुहुन्न भनेर प्रश्न गर्नुहुन्थ्यो। बुबाले मेरो छोरीहरू छन्। यिनीहरू भएर नै मेरो उपचार सम्भव भयो। नत्र के हुन्थो भनेर उनीहरूलाई भन्नुहुन्थ्यो। सबैले कस्तो हिम्मत भएका छोरीहरू यति सानै उमेरमा सबै कुरा जानेको भन्दा म खुसी हुन्थें।

हस्पिटल महँगो थियो तर बुबाको जीवनभन्दा के महँगो। दिनकै २२ सयको त औषधि नै चलाउनुपर्थ्यो। डिस्चार्ज हुने समय आयो आफूसँग पैसा छैन। सबैलाई फोन गर्न थालें। धेरै साथीहरूलाई भनें, आफन्तहरूले पनि सपोर्ट गर्नुभएन। आफन्तहरूले कति पैसा चाहिन्छ, के गर्नुपर्छ ? के कसरी पैसा चलाइरहेको छौ ? भनेरसम्म पनि सोधेनन्। कोरियामा भएको साथीलाईलाई पनि भनेको थिएँ, उसले हुन्छ भनेर केही पैसा पठाइदियो। अझै पनि पैसा पुगेन फेरि अमृता मिसलाई फोन गरे उहाँले सहयोग गर्नुभयो।

यताउति गरेर पैसाको जोडजाम गरेर अस्पताललाई तिरें। अनि डिस्चार्जपछि बुबालाई कोठामा लिएर आयौं।

बुबाको अप्रेसन गरेको घाउ दिनहुँ ड्रेसिन गर्नुपर्ने। डाक्टरले यहीं नै लिएर आउनु भन्नुभएको थियो। हाम्रो कोठा काँडाघारी पुग्नुपर्ने भक्त्तपुर। जान आउनको ठूलो समस्या भयो। फेरि मेडिकलतिर पनि कोरोनाको डरले ड्रेसिङ गर्न मान्थेनन्। यसैले पनि ड्रेसिङका लागि अस्पताल नै पुग्नुपर्थ्यो। लकडाउनले सबै बन्द थियो।  ट्याक्सी पनि नपाइने  पाए पनि एकदमै महँगो भाडा भन्थे। १५ सय २ हजारभन्दा घटी जान मान्दैन थिए। जति भने पनि हामीलाई जानु त परिहाल्यो।

एक महिनामा ड्रेसिङ गर्नुपर्‍यो। यहाँ बस्न पनि असजिलो भइरहेको थियो। त्यसपछि घर जाने निधो गर्यौं।

सबै गाडी बन्द थिए। त्यसैले घर (सिन्धुपालचोक) जान गाडी खोज्न थालें। गाडीवालाले १५ हजार लाग्छ भने। एक त अन्य समयमा २-३ सयमा घर पुगिराको त्यत्रो कसरी तिर्ने भन्ने लाग्यो। अनि अर्को कुरा हामीसँग पैसा पनि थिएन। मैले दाइलाई मिलाउनु न भने उहाँले ‘१० हजारसम्म हुन्छ भन्नुभयो।’

अब अन्य केही उपाय नभएपछि त्यही गाडी लिएर जाने सोचेको थिएँ। तर अंकलले अर्को गाडी मिलाइदिनु भएको रहेछ। अनि हामी सबै त्यसमा नै घर गयौं।

अहिले नि सम्झिन्छु बुबाको त्यस्तो अवस्थामा त्यतिखेर कसैले आएर बोलाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। आफ्नाहरूले हामी दिदीबहिनीलाई बुबाको उपचार के कसरी गर्दैछौ सोधे हुन्थे जस्तो लाग्थ्यो।

फेरि यो बेलामा कोराना र लकडाउन नभएको भए पनि बुबाको उपचारमा झेलेको तनाव अलि कम हुन्थ्यो होला। हुन त मान्छेलाई परिसकेपछि जस्तो पनि टर्दो रहेछ। जति खर्च भए पनि बुबालाई बँचायौं त्यहीमा खुसी छौं। बुबालाई यो कोराना र लकडाउनको स्थितिमा उपचार गराउन हिँड्दा जीवनमा अझै आउने चुनौतीहरूसँग लडन सक्छु भन्ने हिम्मत आएको छ। साथीहरू जो पनि काम लाग्ने रहेछ भन्ने महसुस भएको छ। अनि सबैप्रति सकारात्मक सोच राख्नुपर्ने रहेछ। को मान्छे कति खेर काम लाग्छ थाहा नै हुन्न रहेछ भन्ने लागेको छ।

घर गएको केही समयपछि मेरो अफिस लाग्ने भयो। काठमाडौं फर्कनुपर्ने भयो। घरबाट त नजा भन्दै हुनुहुन्थ्यो। बुबा खेती किसानी गर्ने हो अरू आय स्रोत केही छैन हाम्रो। त्यसैले अफिस खुल्दा, काम हुन लागेको सुन्दा धेरै खुसी भएँ। यस्तो विपद्‌को बेला छ। घर मात्र बसेर भएन। फेरि बुबाको उपचारमा लिइएको त्यत्रो पैसा तिर्नु छ। सोचेर म काठमाडौं फर्कनतिर लागें।

काठमाडौं फर्कनको लागि गाडी चलेको थिएन, त्यसैले कुखुरा बोक्ने गाडीमा आएँ । कुखुरा बोक्ने गाडीमा आउँदा प्रहरीले चेक गर्ने ठाउँमा हिँडेर चेकपोस्ट पार गर्नुपर्थ्यो । जतिसुकै गाह्रो अप्ठेरो भए पनि काठमाडौं आइपुग्दा खुशी लाग्यो । अहिले निषेधाज्ञा जारी भएसँगै काम बन्द छ । अब फेरि कहिलेसम्म हुने हो यो बन्द थाहा छैन ।

यो कथा पवित्रा थापासंग गरीएको कुराकानीमा रहेर हाम्रो साथी अनुषा स्वाँरले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।