भोकले मर्नुपर्ने अवस्था आयो

कोरोना विश्व महामारीका रूपमा देखा पर्यो। त्यसपछि बिस्तारै नेपालमा पनि आइपुग्यो। त्यसपछि सुरुका बेलातिर अलिकति आत्तिएको थिएँ म। सुरुमा के गर्ने कसो गर्ने भन्ने भयो। कोरोनाले मन अत्यायो। अनि यो स्वास्थ्यसँग सम्बधित संकट भएको कारणले हामीले पहिलो ध्यान यसमा नै लगायौं। त्यसपछि स्वास्थ्य संस्थामा औषधीहरू मौज्दात राख्ने, स्वास्थ्यकर्मीको क्षमता बढाउन पीपीई लगायत सुरक्षाका उपकरणमा किन्यौं। हाम्रो पालिकामा १२ ओटा स्वास्थ्य संस्था छन्। तिनीहरूलाई तयारी हालतमा राख्यौं। यदि केही भइहाल्यो भने त्यहाँ प्राथमिक उपचार गर्ने र जिल्लामा रिफर गर्ने गरी जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर काम गर्यौं।

यो बेलासम्म आइपुग्दा केन्द्र सरकारले लकडाउन गरिसकेको थियो। त्यसपछि हामीले पनि अलिकति कडाइका साथ लकडाउन गर्‍यौं।

कोरोनासँग लड्नका लागि ‘विपद् व्यवस्थापन तथा कोरोना कोष’ भनेर ६० लाख रुपैयाँको छुट्टै कोषको स्थापना गर्यौं। उक्त कोषमा जनप्रतिनिधिहरुको ८ महिनाको सेवा सुविधा कटाएर ४० लाख राखेका छौं।

लामो समयसम्म लकडाउन हुँदा पनि कोरोना जस्ताको त्यस्तै रह्यो। पछिल्लो अवस्थामा कोरोना छिट्टै अन्त हुने जस्तो देखिएन। सधैँ बन्द गरेर पनि भएन। रोगले भन्दा पनि भोकले जनताहरु मर्नुपर्ने अवस्था आउला जस्तो भयो। त्यसैले अहिले यसलाई पचाउँदै, रोगसँग जुध्दै अगाडि जानुपर्छ जनताका दैनिकीलाई पनि अगाडि बढाउनुपर्छ भनेर काम गरिरहेका छौं।

कोरोनाका कारण गाउँमा मानिसहरु फर्किएका छन्। उनीहरुलाई ध्यानमा राखेर हामीले मूलतः कृषि, पशुपालन, उद्योग र पर्यटन उद्योगहरुमा ध्यान दिएका छौं। यी क्षेत्रबाट समृद्धि प्राप्त गर्न सक्छौं भनेर यस पटकको बजेटमा त्यसलाई सम्बोधन पनि गरिएको छ। कृषि तथा पशुपालनमा साझेदारी कार्यक्रमहरू ल्याएका छौं। प्रत्येक वडामा कृषि तथा पशु प्राविधिक राखेका छौं। यो नेपालकै लागि नयाँ हो। यो चानचुने कुरा होइन। हाम्रो ठूलो स्रोत त्यहाँ खर्च भएको छ।

शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनुपर्छ भनेर २ ओटामा प्राविधिक शिक्षा सुरु गरिएको छ। एउटा विद्यालय नमुना विद्यालयका रुपमा विकास गरिरहेका छौं। खाद्यान्नहरु राख्नका लागि कोल्डस्टोरहरु निर्माण गरिरहेका छौं। पर्यटकीय क्षेत्रमा पूर्वाधारका काम भएका छन्। भोलिलाई हेरेर समृद्धिका आधार बनाइरहेका छौं।

कोरोना महामारीपछि सबै नागरिक विशेषगरी युवाहरूलाई उत्पादनमा जोड्नुपर्छ भनेर लागिरहेका छौं। यस्तो क्षेत्रमा लाग्नेलाई पालिकाले पनि आफ्नो स्रोत अनुसारको प्राविधिक सहयोग र बजारका लागि सहयोग गर्ने योजनाका साथ अघि बढिरहेको छौं।

कोरोना नियन्त्रण भइसकेको छैन। त्यसैले अब हामी सचेत भएर अगाडि जानुपर्छ। अहिले हाम्रो ध्यान हामी जनतालाई सचेत बनाउने कुरामा केन्द्रित भएको छ। नागरिकलाई भौतिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने लगायतका कुरामा सचेत गर्ने काम पनि भइरहेको छ।

यो महामारीमा जोगिनु नै ठूलो कुरा हुने भयो। यहाँ कोरोना फैलियो भने त राम्रो स्वास्थ्य सुविधा दिन पनि गाह्रो हुन्छ। त्यसैले लाग्नै नदिन कसरी जोगिने भनेर जनतालाई सचेत गराइराखेका छौं। अहिले बाहिरबाट आउनेलाई हामीले आफैले क्वारेन्टाइनमा राख्ने भन्दा नि होम क्वारेन्टाइनमा राख्ने कुरामा जोड दिएर अगाडि बढिरहेका छौं।

यो कथा शैलुङ गाउँपालिका, दोलखाका अध्यक्ष, भरत दुलालसंग गरिएको कुराकानीमा रहेर हाम्रो साथी अर्जुन दाहालले लेख्नुभएको हो ।

एकताको बल

स्थानीय तह नभएको भए डढेलो लाग्थ्यो होला

मैले कोरोना जितें

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।