सरकारलाई गाली कसले गर्ने?

शिक्षा मन्त्रालयको निर्देशन अनुसार कोरोनाको महामारी फैलिने सम्भावनाका कारण मेरो कक्षा ९ को वार्षिक परीक्षा फागुन २५ गतेबाटै सुरु भयो। चैत ५ गते सकियो। सधैं मध्यचैतमा सुरुवात हुने हाम्रो वार्षिक परीक्षा यस पटक चैतको पहिलो हप्ता नै सकियो। त्यसैले यसपालि त धेरै बिदा हुने भयो भनेर दङ्ग पर्दै बसेँ।

कक्षा १० को पढाइ वैशाख २-३ गतेपछि बल्ल सुरुवात हुन्थ्यो। त्यसैले यति लामो छुट्टी मनाउन ममी र म ठूलो ममीको घर ओखलढुङ्गा (वाच्पु) जाने निर्णय गर्‍यौँ। इन्दिरा दिदी (ठूलो ममीकी छोरी) पनि जाने भन्नु भएकोले उहाँसँग पनि सल्लाह गरेर हामीले चैत ७ गते ओखलढुङ्गा जाने योजना बनायौं। चैत ७ गते इन्दिरा दिदी उहाँका छोरा र छोरी (सुयोग र सप्रिया) म र ममी गरी हामी ५ जना ओखलढुङ्गा गयौं।

ठूलो ममीको घरमा रमाइलोसँग दिनहरू बितिरहेका थिए। त्यसैबीच २०७६ चैत ११ गतेदेखि कोरोना महामारी फैलिन नदिने उद्देश्यले सरकारले लकडाउनको घोषणा गर्‍यो। लकडाउन कति नै होला र? १० -१५ दिन पछि त खुल्छ होला भनेर रमाइलो गरेर बस्यौं। कहिले खेतमा गयौं कहिले यतै कतै घुम्न गयौं। दिनहरू त रमाइलोसँग बितिरहेका थिए। साना भाइबहिनी (सुयोग र सुप्रिया) सँगै भएकोले पनि रमाइलो भइरहेको थियो।

तर फेरि १५ दिन लकडाउन बढाएको खबर रेडियोबाट सुनेँ। लकडाउन सकिने अघिल्लो दिन फेरि थपिन्थ्यो। यहाँ आएको २५ दिनभन्दा बढी भइसकेको थियो। अब आउँदो शैक्षिक सत्रको पढाइ दूर शिक्षाबाट सुरु गर्ने भने खालको समाचारहरू पनि आइरहेको थियो। मेरो पनि मनमा यत्रो दिन रमाइलो गरियो अब त पढ्नुपर्छ भन्ने भावना जागृत भएर आयो। पढ्न त पढ्ने तर कसरी? न किताब, न कापी? मनमा त्यही कुराले पिरोलिरहन्थ्यो। अरू केही कुरा सम्झना आउँदैनथ्यो। दिनहुँ बाबालाई फोन गरेर सकेसम्म काठमाडौं आउने व्यवस्था मिलाइदिनु भन्थेँ।

यसैबीचमा केही विद्यालयहरूले अनलाइन कक्षा सञ्चालनमा ल्याएको थाहा पाएँ। त्यसपछि झन् मेरो मन आत्तिन थाल्यो। मेरो पढाइ छुट्ने भो भने लाग्यो किनकि यहाँ इन्टरनेट चल्दैन थियो।

गाडी खुलेका छैनन् काठमाडौं कसरी पुग्ने भन्ने कुरा हरपल दिमागमा आउने। अनि मनमा चाहिं पढाइको चिन्ताले पिरलो भइरहेको थियो।

वैशाख ८ गते बाबाले फोन गर्नुभयो। उहाँले तिमीहरूले वडा कार्यालयमा गएर पास बनाएमा काठमाडौं आउन पाइने कुरा सुनाउनुभयो। अब भने मनमा काठमाडौं जाने आश पलाउन थाल्यो।

हामी बसेको स्थानबाट वडा कार्यालय जान ४-५ घण्टा लाग्ने रहेछ। उकालो बाटो हिँड्न पनि साह्रै गाह्रो हुने वैशाखको धूपमा। जसरी भए पनि वडा कार्यालयमा पुग्यौं। पास त बनाउन सकेनौं तर त्यहाँ पुगेपछि थाहा भयो ओखलढुङ्गाका केही गाउँपालिकाहरूले काठमाडौंबाट आफ्ना गाउँका नागरिकहरूलाई बस रिजर्भ गर्दै गाउँ ल्याउने गरेको। अब त्यसरी मान्छे लिएर आएको गाडीमा फर्केर जानुपर्छ भने सोच्यौं र घर फर्कियौं।

एकदिन लेती र त्यस आसपासका मानिसहरूलाई लिएर काठमाडौंबाट ‘पोकली झरना सेवा समाज’ ले लेतीसम्म गाडी ल्याउन लागेको कुरा थाहा भयो। भाग्यवश यो बसको चालकलाई सन्तोष दाइ (फुपूको छोरा) ले चिन्नुभएको रहेछ। त्यसैले सन्तोष दाइले बसको चालकसँग मैले कुरा गरेको छु त्यही बसमा काठमाडौं आउनु भन्नुभयो।

वैशाख ११ गते बिहानै हामी फर्कने तरखरमा लाग्यौं। हामी (म र ममी) लाई लेतीसम्म पुर्‍याउन ठूलो बा र ठूली आमा पनि सँगै आउनुभएको थियो। काठमाडौँ पुग्ने आशमा हामी लेतीमा गाडी चढ्यौँ। त्यसपछि उहाँहरू भने फर्किनुभयो।

लेतीबाट गाडी चलेको केही बेरमा नै सिरिसेमा रहेको प्रहरी चौकीबाट हामीलाई अगाडि बढ्न दिइएन। जति अनुरोध गर्दा पनि सुरक्षाकर्मीले हाम्रो कुरा सुनेनन्। हामी काठमाडौँ पुग्ने आशा मारेर दु:खी मन पारेर गाडीबाट झर्‍यौँ र सन्तोष दाइलाई जानकारी गरायौं।

काठमाडौं फर्कन नपाएर निरास हामी हातमा झोला बोकेर हिँड्दै अलिक पर (ढाँडे) पुगेपछि। परतिरबाट आउँदै गरेको गाडीलाई भिनाजुले देख्नुभएछ। नजिकै आएपछि हामीले गाडीलाई रोक्ने इसारा गर्यौं। गाडी रोकियो। संयोगले त्यो गाडी बाबाले चिनेकै अरुण अङ्कलको रहेछ। बाबाले पनि अरुण अङ्कललाई फोन गरेर जसरी पनि मिलाएर ल्याइदिन अनुरोध गर्नुभयो। त्यसपछि हामी आमा छोरी त्यो गाडीमा चढ्यौं। गाडीमा लिखु ४ हाइड्रोपावरका कामदारहरू थिए। गाडी त चढियो तर पनि फेरि सिरिसेमा झर्नुपर्छ कि भन्ने मनमा डर रहिरह्यो।

सिरिसे आइपुगेपछि अरुण अङ्कलले सुरक्षाकर्मीलाई पास देखाउनुभयो। पास देखाएपछि गाडीले अगाडि बढ्ने अनुमति पायो। त्यहाँबाट अघि बढे पनि कुनै ठाउँमा गएर ओर्लिन पर्ने हो कि भनेर काठमाडौं नपुग्दासम्म नै डर थियो। तर कतै त्यस्तो गाह्रो भएन।

करिब २ बजेतिर हामी नेपालथोक आइपुगेका थियौँ। तर त्यहाँका स्थानीयहरूले अवरोध गरेका कारण ५ नबजी कुनै पनि गाडी अगाडि बढ्न पाउँदैन रहेछ। हामी सबै जना भोक र तिर्खाले व्याकुल थियौँ। बाटामा कहीं कतै पनि पसल खुलेका थिएनन्। स्थानीयका विरोधका कारण सुरक्षाकर्मीले गाडीबाट झर्न पनि निषेध गरेका थिए। हाम्रो खाजाका लागि ठूलो ममीले हतार–हतार भुटेर झोलामा राखि दिनुभएको मकै सबैले बाँडेर खायौं।

हरेक पाँच–पाँच मिनेटमा मेरा आँखा घडीतिर जान्थे। बल्लबल्ल ५ बज्यो, त्यसपछि भने सुरक्षाकर्मीले जाने अनुमति दिए। म दङ्ग पर्दै कतिखेर चाबहिल पुगिन्छ भनेर सोचिरहेकी थिएँ। हामी ७ बजेतिर चाबहिलमा झर्‍यौँ। काठमाडौं आउने कुरालाई मैले सपना सोचिरहेकी थिएँ तर मेरो सपना विपनामा परिणत भएकोमा अत्यन्त खुसी लाग्यो।

पहिले त सोचेकी थिएँ काठमाडौं आएर मज्जाले पढ्छु। अँ हँ तर त्यस्तो केही पनि भएन। यो बेलासम्म पनि मेरो विद्यालयले अनलाइन कक्षा सुरु गरेको रहेनछ। म उताबाट फर्केको १-२ हप्तापछि विद्यालयबाट सरको फोन आयो। उहाँले भोलिपल्टबाटै अनलाइन कक्षा सञ्चालनमा ल्याउने कुरा गर्नुभयो। त्यो खबर मेरा लागि खुसी र दु:खी दुवै थियो। अब पढ्न पाइने भयो भनेर खुसी थिएँ। तर घरमा इन्टरनेटको सुविधा नभएकोले दु:खी थिएँ। त्यो बेला इन्टरनेट जडान गर्न पनि नमिल्ने। अब हामीसँग एउटै मात्र उपाय थियो ‘डाटा’। म दिनदिनै डाटा लिएर पढ्न थालेँ। डेढ महिना जति डाटा लिएर नै पढेँ। यो बेलातिर पनि नेपाल सरकारले विधार्थीहरूको शैक्षिक सत्र गुम्न नदिने भन्दै आफ्नो तर्फबाट गृहकार्य सुरु गरिसकेको थियो।

असार १ गतेदेखि सबै विषयको कक्षा अनलाइनबाटै हुने भनिएपछि डाटाबाट सम्भव नहुने देखियो। त्यसपछि हामीले इन्टरनेट जोड्यौं। अहिले पनि मेरो अनलाइन कक्षा चलिरेहेको छ।

अहिले जस्तो यति लामो समय विद्यालय कहिल्यै बन्द भएको थिएन। वैशाखभरि त खासै त्यस्तो लागेन तर जेठबाट विद्यालयको न्यास्रो लाग्न थाल्यो। गुरु, गुरुआमा र साथीहरूको याद आउन थाल्यो। हुन त अनलाइन कक्षामा गुरु र साथीहरूसँग बोलिन्छ तर भौतिक रूपमा भेट भए जस्तो कहाँ हुन्छ र?

विद्यालय नगएको पनि पाँच महिना भइसक्यो अब त पढ्ने बानी पनि हटिसक्यो। एसइइका लागि तयारी गर्नुपर्ने यो बेलामा घरमा बसिरहनुपरेको छ। अब हामो एसइइ के हुने हो भन्ने ठेगान लागेको छैन। आफ्नो पढाइलाई लिएर चिन्ता लागेको छ। अहिले पढ्न त अनलाइनमा पढिरहेका छौं। यो वर्षको हाम्रो पढाइ के हुने हो थाह छैन त्यसैले पनि अल्मलिएको छु। म मात्र होइन, म जस्ता धेरै अन्य साथीहरू पनि अल्मलिएका छन्।

अहिले कोरोनाबाट मृत्यु खबर दिनहुँजसो समाचारहरूमा आउँछ। सङ्क्रमण बढिरहेको अवस्था छ। यस्तोमा भौतिक रूपमा विद्यालय गएर पढ्न पनि प्रायः असम्भव जस्तो लाग्छ।

मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति भनेको स्वास्थ्य हो। त्यसपछि मात्र शिक्षा र अन्य सम्पत्तिहरू आउँछन्। यो कोभिड-१९ को महामारीसँग लड्दै स्वस्थ रहेर यस वर्षको शिक्षा कसरी पूरा गर्ने भन्नेबारे सरकारले सुरु गरेको गृहकार्य अझैसम्म सकेको छैन। हामीलाई त पहिले विद्यालयमा एक दिन गृहकार्य नगरी जाँदा पनि गुरुहरूले गाली गर्नुहुन्थ्यो। तर यहाँ सरकारले शिक्षाको विषयमा गृहकार्य गर्न थालेको महिनौं बितिसक्यो तर गृहकार्य पूरा भएको छैन। अब सरकारलाई गाली कसले गर्ने?

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।