कृषकहरुको उत्पादन घर-घरमा पुर्‍यायौं

कोरोना भाइरसबारे फाटफुट समाचार आइरहेको थियो। नेपालमा पनि कोरोना देखियो भन्ने समाचारले झन् त्रसित बनायो। सबै कुरा यति छिटो भइरहेको थियो कि हामीसँग के कसो गर्ने भन्ने समय नै भएन। यसैबीच सरकारले चैत ११ गते लकडाउन गर्ने घोषणा गर्यो। सबै कुरा ठप्प भई नै हाल्यो।

यस्तो असहज अवस्थालाई कसरी सहज बनाउने भनेर सोचिरहेको थिएँ। केही आइडिया आइरहेको थिएन। पहिले हामीले दाङ उद्योग वाणिज्य संघबाट नै समुदायमा सचेतना फैलाउने काम सुरु गर्‍यौं। कोरोना भनेको के हो? यसबाट कसरी बच्ने भन्नेबारेमा चेतना फैलायौं। त्यसैगरी समुदायमा मास्क वितरण, स्यानिटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम गर्ने लगायतका कुराहरु सिकायौं। २-३ दिनसम्म पूरै त्यसैमा लाग्यौं।

लकडाउनले सबै बन्द भएको।  बन्दले मानिसहरूको जीवन कष्टकर बन्दै थियो। त्यसैले लकडाउनको १ हप्ता पछि बाट नै हामी भने स्थानीय तह, प्रहरी प्रशासन सबै मिलेर उपभोक्तालाई कसरी सेवा दिने भनेर छलफल गरिरहेका थियौं। हाम्रो ध्यान मुख्य गरी कृषकको उत्पादन र खाद्य सामग्री कसरी उपभोक्ताहरूसम्म पुर्‍याउने भन्नेमा थियो। त्यही क्रममा “कृषि एम्बुलेन्स” अभियान सुरु गर्ने योजना बनायौं। योजना बनाएको भोलिपल्टबाटै हामीले काम सुरु गर्‍यौं। त्यस क्रममा स्थानीय तह तथा प्रहरी प्रशासनको निकै साथ मिल्यो।

अभियान सुरु गर्न निकै चुनौती थियो। संक्रमणको जोखिम कम गर्न र लकडाउन उल्लंघन नगरी जनतालाई सेवा दिनु नै अभियानको मुख्य उद्देश्य थियो। सुरुमा तरकारी र खाद्यान्न बिक्री गर्‍यौं। गाडीलाई स्यानिटाइज गरेर मात्र बजार पठाउँथ्यौं। तरकारी, दाल चामल तौल अनुसार प्याक गर्थ्यौं। जनताको माग अनुसार समान दिन्थ्यौं।

सुरुमा ४ वटा गाडीबाट सुरु गयौं। यस्तो अभियान हामी सबैका लागि नौलो थियो। काम गर्नलाई पनि अलि कठिन नै थियो । जनता त्रसित थिए। जनताको मन पनि जित्नु थियो।

सामान खरिदका लागि निश्चित समय तोकेका थियौं। जिंगल बनाएका थियौं बजार जाँदा त्यही जिंगल बज्थ्यो त्यसैका आधारमा सबै जना बाहिर आउनुहुन्थ्यो र आफूलाई चाहिएको सामान लिनुहुन्थ्यो।

यो अभियान चलाउँदा हामीले पूर्णरूपले सावधानी अपनाएका थियौं। सामग्रीहरु पुर्याउने क्रममा सामाजिक दूरी कायम गरेर बिक्री वितरण गर्थ्यौं। भीडभाड अलि बढ्न थालेपछि टायर बोक्थ्यौं त्यही गोलो घेरामा रहेर मात्र बिक्री गर्थ्यौं। सबैले हाम्रो अभियानलाई मनपराइ दिनुभयो। घोराही उपमहानगरपालिकाको दुईवटा वडामा सुरु गरेको अभियानलाई पछि पूरै उपमहानगरमा विस्तार गर्‍यौं। त्यसपछि नगर बाहिरका गाउँबाट पनि माग बढ्न थाल्यो। माग बढेपछि अरू ४ वटा गाडी पनि थप्यौं। गाउँगाउँबाट पनि माग आउन थाल्यो।

एक पटक गाउँमा जाने क्रममा कोरोना ल्याएर आयो भनेर गाडीलाई गाउँमा छिर्न समेत रोक लगाइयो। त्यति बेला सम्झाई बुझाई गरेपछि गाउँमा जान पाएका थियौं। त्यो दिन साह्रै नमज्जा लागेको थियो। जनतालाई बुझाउन धेरै गाह्रो। एकचोटि त गाउँमा जाँदा बाटोमा रोक्ने गाडी तोडफोड गर्न खोज्ने जस्ता समस्या आए। ती दिन सम्झदा अहिले त अचम्म लाग्छ।

हुन त, अभियान विशुद्ध नागरिकको हितमा नै थियो। तर पनि विभिन्न आरोप खेप्नुपर्यो। नाफा कमाउन अभियान चलाए, महँगोमा बिक्री गरे, कोरोना फैलाउने भए, बासी सडेगलेको, कुहिएको सामग्री बिक्री वितरण गरे भन्ने आरोप समेत लाग्यो। जनतालाई बुझाउँदै सचेतना फैलाउँदै अभियानलाई निरन्तरता दिई नै रहयौं।

उपभोक्ताको बढ्दो मागका कारण त्यसको संख्या बढाएर ८ वटासम्म पुर्याएका थियौं। एउटा गाडीमा ड्राइभर र अन्य सहयोगी गरेर ३ जना कर्मचारी खटाएका थियौं। अनुगमन समितिहरु बनाएका थियौं समितिले अनुगमन गर्थ्यो।

अभियानका क्रममा एक सय आठ जनाले रोजगार पाएका थिए। अभियानले केही राम्रो काम गरेजस्तो लाग्छ। किनभने सबै सुरुमा गाह्रो भए पनि पछि जनताले सकारात्मक रेसपोन्स दिनुभएको थियो।

यस अभियानले किसानले उत्पादन गरेको तरकारीहरु, दूध बिक्री नभएर फाल्नुपर्ने र कुहिएर जाने समस्या आएन। किनभने हामीले किसानसँग दूध र तरकारी किनेर बजारमा पुर्याएका थियौं।

लकडाउन हाम्रो लागि पनि सिकाइ बन्यो। म आफैले पनि केही नयाँ कुरा सिक्न पाएझैं लागेको छ। स्टक चेक गर्ने हाम्रो बानी थिएन न त सरकारसँग नै त्यसको तथ्यांक थियो। यसले त्यसो गर्नुपर्ने रैछ भन्ने थाहा दियो। बीचमा खाद्यान्नको स्टक सकिएपछि जिल्ला बाहिर विराटनगर, वीरगञ्जबाट सामान मगायौं। बाहिर जिल्लाबाट आएका सबै सामानहरु चेक गरेर स्प्रे गरेर मात्र भित्र्यायौं।

दाल चामल केही मात्र बाहिरबाट ल्याउनुपर्यो नभए सबै जिल्लाकै उत्पादनले धानेको थियो। यदि कृषिलाई आधुनिकीकरण र प्रोत्साहन गर्न सके कसैसँग पनि हात थाप्नुपर्ने अवस्था नआउने रहेछ भन्ने सन्देश नै लकडाउनले दियो। धान खेती, कागती खेती तथा तरकारी खेतीमा दाङ आत्मनिर्भर रहेछ र यहाँ थुप्रै सम्भावनाका ढोका रहेका थाहा भयो।

उद्योग वाणिज्य संघले आफ्नो दैनिक गुजारा चलाउन गार्हो हुनेहरूलाई आफ्नै कोषबाट ४ लाख बराबरको राहत सामग्री पनि वितरण गरेका थियौं।

कोरोनाले सबैतिर क्षति त पुर्याएको छ। दाङमा एक सय ४४ वटा व्यवसायहरु विस्थापित भएका छन् भने दश-एघार हजार बेरोजगारी बढेको छ। कोरोनोपछिको मुख्य समस्या बेरोजगारी देखिने भएको छ। यसप्रकारको बेरोजगारी कम गर्न सरकारले कृषिमा लगानी गनुपर्छ।

यो कथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालसंग गरीएको कुराकानीमा रहेर पूनम डिसीले लेख्नु भएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।