‘भाटभटेनीको जागिर गयो, अहिले बालुवा चाल्छु’

मेरो घर ओखलढुंगा हो । १७ वर्षकै उमेरमा विवाह भयो कलिलै उमेरमा पारिवारिक जिम्मेवारी थपियो । वैवाहिक जीवनमा बाँधिएको केही वर्षको अन्तरालमा तीन छोरी जन्मिए ।

विवाह हुनुअघि गाउँमै जसोतसो जीविका चलिरहेको थियो। परिवारमा सदस्य थपिए, खर्च पनि बढ्यो । विदेशिनुबाहेक विकल्प देखिनँ । देशको अवस्था थाहा नै छ, यस्तो अवस्थामा दिमागमा आउने भनेको वैदेशिक रोजगारी नै त हो !

आर्थिक भार बढ्दै गएपछि घरमा वृद्ध बुबा, तीन छोरी र श्रीमती छोडेर कुवेत गएँ । ती साना नानीहरूलाई छोडेर जाँदा मेरो हालत खराब भएको थियो, म शब्दमा बयान गर्न सक्दिनँ । खाडी मुलुक, गर्मी उस्तै, पहाडी भेगमा बसेको मजस्तो मान्छेलाई बसिसक्नु थिएन । अझ घरपरिवारको सम्झनाले उस्तै सताउने । के गर्नु रहरभन्दा ठूलो बाध्यता हुँदो रहेछ ।

विदेश गएको सुरुको वर्ष त पैसा आफ्नै खातामा राख्थेँ । श्रीमतीलाई अड्कलेर घर खर्च पठाउँथे । किनभने सबै पैसा श्रीमतीको नाममै गरिदिन विश्वास लागिहालेको अवस्था थिएन । बाँकी पैसा आफ्नै खातामा हुन्थ्यो ।

समय बित्दै गयो । छोरीहरूलाई राम्ररी पढाउनुपर्छ, ठूलो मान्छे बनाउनुपर्छ भन्थिन् उनले । उनको पनि लाऊँ खाऊँ भन्ने नै उमेर थियो । उताबाट मैले उनलाई मन लागेको काममा खर्च गर भन्थेँ । पैसा बचाउनुपर्छ भन्दै टार्थिन् । कुरो सुन्दा व्यावहारिक लाग्न थाल्यो । यता मेरो मनमा व्यर्थै श्रीमतीलाई यसरी पैसाको मामलामा शंका गरेछु भन्ने पश्चत्ताप पनि भयो । अब कमाएको सबै पैसा उसैलाई जान्थ्यो ।

कुवेतमा चार वर्ष काम गरेपछि त्यतैबाट दुबई हानिएँ । कमाइ र अवसर कुवेतमा भन्दा राम्रो हुन्छ भन्ने सोचले त्यहाँ पुर्‍यायो । अलिअलि कमाइ हुँदै गएपछि लोभ पनि बढ्दो रहेछ । दुबईमा आठ वर्ष बिताइयो ।

हामी जस्ता मजदुरले के नै काम पाउँछौं र हजुर, उही त हो । घर बनाउने, ट्वाइलेट सफा गर्ने, पछि प्लम्बरको काम सिकियो, त्यसपछि त्यही कामलाई नै निरन्तरता दिएँ । कुवेत र दुबईमा गरेर विदेशमा १२ वर्ष बिताएँ । कमाइ त्यस्तै २३ लाख भएको थियो ।

त्यतिबेलै नेपालमा महाभूकम्प आयो । समाचार विश्वभर फैलियो । जताततै घर भत्किएका, मान्छे पुरिएका फोटो, भिडियो समाचारमा आउँदा मनै खिन्न हुने । मलाई पनि परिवारको चिन्ताले सतायो । दुबई बसेको आठ वर्षपछि घर फर्कने निर्णय गरेँ ।

घरपरिवारसँग भेट्ने कुराले म फुरुङ थिएँ । परिवारका सबै सदस्यका लागि कपडा, घरका लागि अत्यावश्यक पर्ने केही सामग्री, गाउँघरमा बाँड्न मिठाई किनेँ । श्रीमतीका लागि बहुमूल्य पर्ने वस्तु किन्न नसके पनि साडी र मेकअपका सामान किनिदिएँ ।

तर, नियतिलाई यो सब मञ्जुर थिएन ।

घरमा अब नेपाल फर्कन्छु भनेको भोलिपल्ट बिहान धर्तीमा उज्यालो छाउन नपाउँदै मेरो जिन्दगीमा अन्धकार छायो । घर आउने तयारीमा लाग्दा बुबाको फोन आयो । बुबाले दिनुभएको खबरले नै म अवाक् भएँ । म नेपाल आउँछु भनेपछि तीन छोरी छोडेर श्रीमती सबै पैसा लिएर अर्कैसँग भागिछन् ।

त्यतिबेला जेठी छोरी १५ वर्षकी, माइली १४ र कान्छी छोरी १३ वर्षका थिए । छोरीहरुको बिचल्ली हुने पिरले सतायो । त्यति मात्र कहाँ हो र ? १२ वर्ष खाडीमा गरेको दुःख छिनभरमै गायब भएको थियो । भाग्यले लात हानेको समय थियो त्यो ।

कति दिन त रोएरै बिते । साथीहरूले सम्झाउन खोज्थे । तर, जति नै सम्झाए पनि मान्छेलाई आफ्नै दुःख ठूलो लाग्ने रहेछ । साथमा तीन छोरीलाई हुर्काउनुपर्ने जिम्मेवारीले धेरै समय दुःख मानेर बस्न सकिनँ । केही सीप नलाग्ने भएपछि कानुनको सहारा लिएँ । श्रीमतीलाई मुद्दा हालेँ । यो कानुनी लफडामा पर्दा उल्टो चार लाख रुपैयाँ खेर गयो । हातमा भने केही लागेन ।

पैसासहित मलाई घर न घाटको बनाएर जाने श्रीमती कहाँ हो भनेर अहिलेसम्म पनि पत्ता लागिसकेको छैन । व्यर्थको झमेलामा फसेँ । उता पुर्ख्यौली घर सदरमुकाममै पर्छ । घरमा वृद्ध बाबुसँग माइली छोरी बस्दै आएकी छिन् । जेठी र कान्छी छोरी मूलपानीको एक सरकारी विद्यालयमा पढ्छन् ।

छोरीकै लागि भनेर त्यत्रो दुःख गरेर पैसा जुटाएको थिएँ । अहिले सरकारी विद्यालय पठाउनु पर्दा बित्यास लागेर आउँछ । फेरि पुराना दिन सम्झिएर पनि हुने केही रहेनछ भन्ने लाग्छ । तर, घाउको खोट त मनमा गढेकै छ नि । त्यही पीडाको कुण्डबाट बाहिर निस्कन नसकेर हो उता घर (ओखलढुंगा) जान मन लाग्दैन । त्यता भएको जायजेथा पनि सबै आफन्त पर्ने भाइलाई जिम्मा लगाएको छु । आफू उतै गएँ भने उही पुराना कुराले सताउँछ, गाउँलेको बिचराको पात्र बन्छु । त्योभन्दा त बरु नजानु नै बेस ठानेको छु ।

जेठी श्रीमतीले छोडेपछि मैले तीन वर्षअघि दोस्रो विवाह गरेँ । कान्छी श्रीमतीबाट अर्की छोरीको जन्म भयो । अहिले नानी दुई वर्ष पुग्न लागिन् । दोस्रो विवाह पनि श्रीमतीलाई पुरानो विवाह र बालबच्चाबारे केही सुइँको नदिइ ढाँटेर गरेँ । सत्य कुरा भनेको भए कहाँ बिहे हुन्थ्यो र ? गाह्रो छ नि । विवाह त नगरी नहुने थ्यो । अहिले तीन छोरी र श्रीमतीसहित मूलपानीमा बस्दै आएको छु । महिनाको तीन हजार कोठा भाडा तिर्छु । कान्छी श्रीमतीबाट पनि छोरी नै भयो । तर, छोराको इच्छा अझै छ । मरेपछि दागबत्ती दिने छोरोले हो ।

विदेशबाट आएपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा काम गर्न थालेको थिएँ । सामानमा ट्याग लगाउने काम थियो । महिनाको २० हजार तलब बुझ्थेँ ।

काम गर्न थालेको पनि वर्ष दिन जति भएको थियो, कोरोना भाइरसको महामारी सुरु भयो । हावाबाट पनि यो भाइरस सर्छ भन्ने सुनेँ । भाइरसबारे धेरै थरी हल्ला फैलिएको थियो । कसको कुरा पत्याउने भन्नेमै दोधार थियो मनमा । त्यत्तिकैमा यातायात पनि ठप्प भयो । त्यत्ति भएपछि काममा जान सकिनँ । हिँड्दै जान टाढा हुने । नियमित जान नसकेपछि काम छोडेँ । निकालिए नै भनुम् न । त्यसपछि त गर्जो टार्नै गाह्रो हुन थाल्यो । पानीसमेत किनेर खानुपर्ने काठमाडौंमा पैसाबिना एक मिनेट पनि कसरी टिक्न सक्नु ? उता घरबेटीको किचकिच उस्तै ।

श्रीमतीको पनि काम-धन्दा केही छैन । घरमा जहान परिवार मेरै आम्दानीमा टिक्दै आएको थियो । लकडाउन खुल्ने टुंगो थिएन । एक महिना पनि धान्न नसकिने स्थिति आएपछि काम नगरी नहुने बाध्यता भयो । घर नजिकैका एक जना दाजु घर बनाउने ठेकेदारको काम गर्नुहुन्थ्यो । उहाँको पनि घर ओखलढुंगा । मैले आफ्नो समस्या बताएपछि घर बनाउने काममा लगाउने कुरा गर्नुभयो ।

काम गर्न जान थालेपछि भने घरबेटी शान्त भएका थिए । अहिले घर बनाउन बालुवा चाल्ने, गिट्टी बालुवा बोक्ने काम गर्छु । दिनमा ज्याला गरेबापत हजार रुपैयाँ कमाइ हुन्छ । लकडाउनको यो खडेरीमा यत्ति कामले घरखर्च चलिरहेको छ । जागिर भएको भए ढुक्क हुने थियो । यो ज्याला मजदुरीको काम कति दिनसम्म पाउने हो थाहा छैन । अझै स्थिति पुरानै होला भन्ने पनि आश छैन ।

पहिलो श्रीमतीले त्यसरी धोका नदिएको भए पनि अहिले जीवनले अर्कै मोड लिन्थ्यो होला । यो महामारीमा जोगाएर राखेको पैसाले केही त काम दिन्थ्यो सायद । अलिअलि बिर्सिसकको ती दिनलाई यो महामारीले फेरि एक पटक बिउँताइदिएको छ । सम्झँदा पनि छाती भत्भती पोलेर आउँछ । परिस्थितिले कहाँबाट कहाँ पुर्‍याउने रहेछ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।