lockdown stories लकडाउनले सिकाएको पाठ

लकडाउनले सिकाएको पाठ

साँच्चै भन्नुपर्दा यस अघिसम्म ‘लकडाउन’ भन्ने शब्द मैले सुनेकी पनि थिइनँ । पढाइमा पनि यो शब्द कुनै पाठ्यक्रममा आए जस्तो मलाई लागेको छैन । हुन त मैले ध्यान नदिएकोले पनि हुन सक्छ । शब्द नै नभएको त होइन होला ।

आज आएर लकडाउनले सबै मानिसलाई धेरै कुरा सोच्न र अनुभव गर्न बाध्य बनाएको छ । एउटा सानो भाइरसले गर्दा घरभित्रै बन्धक जस्तै बनेर बस्नुपरेको बाध्यता मेरो पनि तपाईंको जस्तै हो । अझ भन्नुपर्दा हामी सबैको भोगाइ फरक होला तर अनुभव समान छ । आफ्नै घरभित्र बन्धक !

२०७६ साल चैत ११ गते सुरु भएको लकडाउनले मलाई पढ्न गएको ठाँउबाट फेरि घरमै ल्याएर थन्क्याएको छ । परीक्षा आउन लागिसक्यो भनेर मन लगाएर पढेका बेला एक्कासि लकडाउन भयो । अब कहिले खुल्छ थाहा छैन । परीक्षा नहुन पनि सक्छ रे भन्ने हल्ला चलेकाले अलिकति भएको पढ्ने जाँगर पनि हराएर गएको छ । खुरुखुरु पढेर परीक्षा दिन पाएको भए राम्रो हुन्थ्यो होला । अहिले फुर्सद भए पनि मन लगाएर पढ्न बसेकी छैन म ।

म अहिले पोखरा बसेर ब्याचलर्स तेस्रो वर्षमा पढ्दैछु । मेरो घर स्याङ्जा हो ।

मलाई मात्र यस्तो भएको हो कि अरू विद्यार्थीलाई पनि, मलाई थाहा छैन । लकडाउनले पढ्नुपर्छ भन्नेहरूलाई एकदमै असर पारेको छ । यता लकडाउनमा म घर बस्दा उता बजारमा भएको मेरो खाली कोठाले आफ्नो भाडा पकाइराखेको छ । यो कुरा बिना तयारी लकडाउन गराउनेहरूलाई थाहा होला कि नहोला ? कताकता मन खिन्न भएको छ । बस्दै नबसी पनि कति महिनाको भाडा तिर्नुपर्ने हो मैले ? एक महिना त यसै कटिसक्यो । न परीक्षा कहिले हुने भन्ने अत्तोपत्तो छ न लकडाउन खुल्ने ।

मेरो घरमा भएको होटल पनि लकडाउन सुरु भए लगत्तै बन्द भएको छ । एकाबिहानै गाउँका धेरै मान्छे जम्मा भएर चिया पिउँदै गफ गर्ने मेरो घरमा लकडाउनले अहिले शून्यता ल्याइदिएको छ । आँगनभरि क्यारम खेल्ने मान्छेहरू कति हुन्थे ? ती सबै अहिले मजस्तै आफ्नै घरको कुनै कोठामा बन्धक भएर बसेका छन् । एकातिर आफ्नो सुरक्षाका लागि अनुशासित भएर घरभित्रै बस्नु राम्रो कुरा हो । अर्कातिर आम्दानी नभएर यसरी घरभित्रै मात्र बसिरहनु कति उचित हो ?

यो मेरो दिमागको मात्र आवेग होइन । लम्बिदो लकडाउनले गर्दा धेरैका दिमागमा यस्ता धेरै आवेग आएका हुन सक्छन् । यो भोगाइ पक्कै पनि म एक्लैको अथवा हाम्रो घरको मात्र होइन । लकडाउनले गर्दा घरबन्दी भएका सबैको अनुभव यस्तै होला । सबैको दिनचर्या उस्तै पट्यारलाग्दो र दिक्कलाग्दो होला । 

लकडाउनकै बेला पनि मेरो गाउँमा एक-दुईवटा किराना पसल भने दिनको तीन-चार घण्टा खुलेकै हुन्छन् । त्यसैले अलिअलि सामान किन्न चाहिँ खासै झन्झट भएको छैन अहिलेसम्म । तर लकडाउनको समय बढेसँगै सामानको मूल्य पनि बढिरहेकाले घरीघरी मेरो पारो तात्छ । पसलेहरू पनि यही हो मौका ‘लुट्न सके लुट कान्छा’ भन्ने गीतबाट प्रेरित भए जस्तो लागेको छ । तैपनि किनेर खान सक्नेहरूले खाएकै छन् । यस्तो देखादेखी लुट मच्चाइरहेका बेला अहँ कोही बोल्दैनन् । हुन त बोले पनि कसले सुन्ने हो र यो देशमा ? यस्तो कुरा सुन्ने जनताको सरकार नै सङ्कटका बेला पनि ‘लुट्न सके लुट बेला यही हो’ भन्दै जनताले तिरेको कर लुट्न तम्सिएको छ भन्ने सुनेकी छु । त्यसैले अब किन बोल्नुपर्‍यो र पैसा होउन्जेल जति तिरेर भए पनि खाने नेपालीको बानी नै छ ।

लकडाउनले गर्दा काम गर्न नपाएर खानकै लागि समस्या भएकाहरूलाई गाउँपालिकाले राहत वितरण गरेकै छ । महँगीले हामी जस्तालाई खान गाह्रो हुने देखेर रिस उठे पनि यस्तो समस्याका बेलामा आवश्यक परेकाहरूले समयमै राहत पाएको देख्दा भने एकदमै खुसी लागेको छ । मान्छेको मन न होः एउटा कुराले रिस उठाए पनि अर्को कुराले आनन्दित बनाइहाल्ने । यसरी सन्तुलित भएन भने त मान्छे निरास भइहाल्छ नि ! मान्छे मात्र होइन समाज पनि !

लकडाउनले गर्दा सुरुदेखि नै देशभर शून्य शून्य नै छ तर लकडाउनको मिति जतिजति थपिँदै गएको छ मेरो गाउँका मान्छेहरू पनि त्यति नै घरबाट बाहिर निस्कन थालेको देख्दैछु म । मान्छे नै त हुन् । पशुपन्छी जस्तो आफूलाई धेरै दिन बन्धक बनाएर राख्न कसरी सक्छन् र ? तीमध्ये कति आफ्नै खेत बारीमा काम गर्न निस्केका छन । कति चाहिँ घरमा बस्दा-बस्दा वाक्क भएर गाउँमा गफ गर्ने मान्छे भेटिन्छन् कि भनेर निस्केका रे ! तर अहिले एउटा के कुरा देखेर दङ्ग छु भने मेरो गाउँबाट अन्त गएर जागिर-पेशा-व्यवसाय गर्नेहरू सबै गाउँमै आएर खेतीपातीमा लाग्नुभएको छ । लकडाउनले यो कुरा चाहिँ राम्रो गरेको हो कि के हो ? विपत्‍मा सबैले गाउँ नै सम्झिँदा रहेछन् । गाउँलेलाई जति पाखे भनेर गाली गरे पनि विपत्‍मा शरण दिने त त्यही पाखेले नै त रहेछ । शहरले धेरैलाई यसपालि आफ्नो ठालुपन देखाइहाल्यो नि । यो गाह्रो समयभरि तिम्रो भोको पेट र रातको निन्द्रा मेरो जिम्मा, तिमी ढुक्क भएर सुरक्षित भएर यहीं बस भनेर एक वचन पनि भन्न सकेन रे भन्ने सुन्छु शहरले ।

कोरोना भाइरसले गर्दा भएको लकडाउनले इतिहासै कायम गर्‍यो । यस्तो मलाई मात्र लाग्या हो कि अरूलाई नि लाग्यो कुन्नि ! घरबाट बाहिर निस्कन नपाउनु, निस्किहाले पनि मान्छेसँग तर्सनुपर्ने । बाफ रे यस्तो त जीवनकालमा शायद मेरो कति पुस्ताले नि भोग्या थिएन होला ! यस कुरामा चाहिँ मलाई रमाइलो र फरक लागेको छ है । तैपनि लामो समयसम्म लकडाउन चल्यो भने देशमा आर्थिक सङ्कट र खाद्य सङ्कट हुने पीरले भने यदाकदा पिरोलिरहन्छ । हेर्दाहेर्दै यो कस्तो समय आयो !

मेरो घरबन्दीको कुरा गरौँ । लकडाउनको सुरुदेखि नै परिवारका सबै जना घरमै बसेका छौं । कहिले सबै जना भएर फिल्म हेर्छौँ । कहिले स्पिकरमा गीत घन्काएर नाच्छौँ । कहिले नयाँ-नयाँ खानेकुरा बनाएर खाने गर्छौं । यसो गर्दा घरमा बन्धक भए पनि आफ्नो समयलाई बन्धक बनाउन दिएका छैनौँ । जे नहुनु भई त सक्यो, निराश र दु:खी भएर किन बस्ने ? यस कोरोनालाई रमाई रमाईकन हराउनुपर्छ । त्यसैले, दिन कटाउन खासै गाह्रो भएको महसुस गरेकी छैन तर घरीघरी सोच्दा लकडाउन लामो समयसम्म जारी रह्यो भने त यस्तो गरेर मात्र पुग्दैन होला भन्ने चिन्ता पनि लाग्छ कताकता । मलाई त के भयो र आफ्नै घरपरिवारसँग छु । खान दु:ख छैन । लकडाउन भए पनि परिवारसँग भएर खुसी छु । तर घरमा बसेर आफ्ना वरपर नियाल्दा, उनीहरूका तीतामीठा अनुभव सुन्दा लकडाउनको असर धेरै परे जस्तो लाग्छ । जो कामका सिलसिलामा आफ्नो घरभन्दा टाढा बसेका छन्, जसले अहिले काम गर्न पाएका छैनन्, खान पाएका छैनन्, अनि ती मानिस जसका लागि घर जाने कुरा सपना मात्र भएको छ, जसले दिनभरि काम गर्दा मात्र बेलुका हातमुख जोड्न पाउँछ उनीहरूलाई त लकडाउनले धेरै नै असर गरेको छ । मानव अधिकार उल्लङ्घन भएको जस्तो पनि लाग्छ घरीघरी ।

सम्झँदा पनि दिक्क लागेर आउँछ यस्तो देख्दा । लकडाउन नगर्दा पनि सबै जना रोग लागेर मर्ने हुन् कि भन्ने पीर लाग्छ । अर्कोतिर लकडाउन भइरहोस् भनौँ भने पनि सबै जना भोकले मर्ने हुन् कि भन्ने पीर । उफ् ! स्वार्थी भएको भन्ने कि के भन्ने ? सारै दोधार बनायो यो कोरोनाको त्रासले ।

मलाई लाग्छ लकडाउनले जनजीवन अप्ठ्यारो बनाए पनि कहीँ कतै अलिकति सकारात्मक कुरा पनि सिकाएको छ कि जस्तो लाग्छ । धेरै पैसा कमाएर धन सम्पत्ति जोड्नुभन्दा पनि खान नपाएर मर्न नपरोस् भनेर कृषिलाई माया र इज्जत गर्न सिकाएको छ लकडाउनले । बजारमा बनाएका खानेकुराभन्दा घरमै बनाएका मीठा हुँदा रहेछन् भनेर सिकाएको छ । जीवनयापनका लागि मात्र त कहाँ धेरै खर्च हुँदो रहेछ र देखावटी कुरामा पो धेरै खर्च हुने रहेछ भन्ने कुरा बुझाएको छ ।

मसँग लकडाउन सुरु हुँदा जति पैसा थियो अहिलेसम्म पनि त्यति नै छ । न मलाई केही कुरा चाहिएको छ न मेरो पैसा केही कुरामा खर्च भएको छ । अनि अर्को कुरा घरबाट जेजस्तो काम (वर्क फर्म होम) गर्न सिकाएको छ यो लकडाउनले । सबैभन्दा महत्त्वपूर्ण कुरा स्वास्थ्य नै ठूलो धन हो भनेर सुरक्षित रहन सिकाएको छ । अझ अर्को राम्रो कुरा के हो भने यो लकडाउनले गाडी, हवाईजहाज र कलकारखाना बन्द हुँदा धूवाँ, धूलो कम भएर वायुमण्डल सफा हुँदै गएको महसुस गराएको छ । मन बुझाउनका लागि सकारात्मक कुरामा ध्यान दिँदादिँदै पनि यसले दिएको दु:ख र पीडालाई भने बेवास्ता गर्न सक्दिनँ म । अघि भने जस्तै मनलाई मनाउन मात्र यस्तो कुरा गर्न खोजेको हो ।

हिजोआज सबैलाई एकदमै फुर्सदिलो देख्छु । आफ्नो पढाइ कहिले हुने हो थाहा छैन । म जस्ता भर्खर सपना सजाउन थालेका धेरैका लागि एक सेकेन्ड पनि महत्वपूर्ण हुन्छ भन्छन् । यहाँ डेढ महिना हुन लागिसक्यो । त्यसलाई सेकेन्डमा रूपान्तरण गर्दा कति सेकेन्ड होला भन्ने सोच्यो भने त मेरो पारो फेरि तात्न थाल्छ । मैले भनेर हुने त होइन तर कोरोनाको कहर छिटोभन्दा छिटो सकिएर यो लकडाउन खुलेर सबै आफ्नो-आफ्नो काममा व्यस्त भएको अनुभव गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्छ ।

 मैले लकडाउनमा महसुस गरेका कुरा यिनै हुन् । तपाईं पनि घरै बस्नुस्, आफू र आफ्नो परिवारको ख्याल गर्नुस् । बाँकी कुरा समयसँगै सबै ठीक हुन्छ । यी सङकटका काला बादलहरू छिट्टै नै हट्नेछन् यो संसारबाट ।

यो अनिश्चित कालको लकडाउन खुलेसँगै मानिसमा सकारात्मक परिवर्तन आओस् र सबैको जिन्दगीले सोचे जस्तै गति लेओस् ।

लकडाउनमा परेको केरियाको सपना

परदेशीको को छ र

परदेशीको को छ र ?

कोरोनाले खोसेको घर फर्कने खुसी लकडाउन कथा

कोरोनाले खोसेको घर फर्कने खुसी

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।