यो घृणा हैन माया र हौसला बाँड्ने बेला हो

म वैदेशिक रोजगारको सिलसिलामा ओमनमा छु। कोरोना विश्वको धेरै ठाउँमा पुगिसक्दा पनि ओमनमा भने देखिएको थिएन।

यहाँ फेब्रुअरी, २०२० सम्म अवस्था सामान्य नै थियो। हिँडडुलमा पनि खासै समस्या थिएन। त्यसैले ३८ औँ मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ ओमनले भव्य कार्यक्रमको आयोजनामा गरेको थियो। म पनि उक्त कार्यक्रममा सहभागी भएको थिएँ। कार्यक्रममा हामी सबै नेपालीहरू जम्मा भएर खुब रमाइलो गर्यौ, नाच्यौं, गायौं दुःख सुखका गफगाफ पनि गर्‍यौं। हामी जस्तो विदेशमा भएकाहरूका लागि यस्तै कार्यक्रमहरूले नै त हो नि हाँस्ने र खुसी हुने बहाना दिने ठाउँ। नत्र अन्य बेला हामी नेपालीहरू भेट हुन पनि मुस्किल पर्छ। उक्त कार्यक्रम सकिएपछि हामी आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं।

हामी बस्ने क्यामको मूल गेटमा सधैँ चेक जाँच हुन्छ। त्यो दिन पनि भइरहेको थियो। तर त्यो दिन भने अन्य दिनभन्दा अलि धेरै नै चेक जाँच हुँदै थियो। हामी खासखुस गर्दै लाइनमा बस्यौं। मभन्दा अगाडि सबै इण्डियनहरू थिए। उनीहरूलाई निकै केरकार गरिरहेको थियो। हामी तीन जना नेपालीहरू सँगै थियौं। चेक गर्ने पालो हाम्रो आयो। ‘कहाँदेखि आएको ? ’ भनेर चेक गर्न बसेको मान्छेले मलाई सोध्यो। ‘साथीहरूसँग भेटघाट गरेर आ को’ मैले छोटकरीमा जबाफ दिएँ। उसले हाम्रो रेसिडेन्ट कार्ड माग्यो। मैले दिएँ। चेकजाँच गर्ने क्रममा नै उसले देशको नाम सोधेपछि मैले नेपाल भने। त्यतिकैमा उसले फेरि सोध्यो नेपाल कहाँ पर्छ, मैले उत्तर दिन नभ्याउँदै मभन्दा पछाडि लाइनमा बसेको साथीले चीन हाम्रो नजिकको छिमेकी हो भन्यो। उसको जबाफ सुनेर उनीहरू तर्सिए र केरकार नगरी हामी तीनै जनालाई सिधै क्याम्पभित्र पठायो। मलाई अचम्म लाग्यो। उनीहरूले किन चीनको नाम सुनेर यति अतालिएका होला।

त्यसको केही दिनपछि ९ मार्चबाट नै ओमनमा पनि कोराना संक्रमित देखिएको खबरहरू आए। कोरोनाको संक्रमण देखिएपछि हाम्रो क्याम्पको बाहिर जाने गेट बन्द भयो। तर काम भने बन्द भएको थिएन। कम्पनीको गाडीमा काममा जाने-आउने गर्थ्यौं।

क्याम्पभित्रै बसेरै दिनहरू बित्दै थिए। बिस्तारै बिस्तारै ओमनमा नेपालीहरू पनि संक्रमित भएको खबर आयो। मेरो चिनजानका धेरै साथीहरूमा केरोना संक्रमण देखिसकेको थियो। सबै साथीहरू आत्तिनुभएको थियो। मैले भ्याएसम्म संक्रमित साथीलाई सहयोग र हौसला दिने काम गरें। हामी क्याम्पबाट बाहिर निस्कन त पाइँदैन थियो।

क्याम्पभित्र हामी २ सय ५० जना बस्छौं। हामी एकदमै सचेत भएर बसिरहेका नै थियौँ। तर यहाँ बस्ने साथीहरूमा पनि कोरोना देखियो। उनीहरूमा कोरोना देखिएको हप्ता दिनभित्र नै यहाँ क्याम्पमा बस्ने धेरै साथीहरू बिरामी पर्नुभयो। हामी सबैले सुरक्षाका सबै सामग्री मास्क, स्यानिटाइजर , मेडिकल पन्जा, निकै ध्यान दिएर प्रयोग गरि नै रहेका थियौँ। तैपनि कोरोना हाम्रो क्याममा भुसको आगोझैँ सल्किसकेको थियो। त्यति बेला मन साह्रै अत्तालिएको थियो। धेरैपल्ट घर सम्झिएँ।

केही दिनपछि ममा पनि लक्षणहरू देखिन थाल्यो। अत्यधिक ज्वरो आउने, शरीर दुख्ने हुन थाल्यो। घाँटीमा केही अड्किएको जस्तो महसुस हुन्थ्यो, स्वाद र बास्ना हराउन थाल्यो भने खानामा पनि रुचि लाग्न छोड्यो। त्यसपछि आत्तिएँ। परदेशको ठाउँ अप्ठेरो थियो तैपनि अस्पताल गएर चेक गराएँ। ३- ४ दिनपछि फोन मार्फत मलाई कोरोना पोजेटिभ भएको जानकारी अस्पतालले दियो।

कोरोना पोजेटिभ भएको सुन्दा, के गर्ने कसो गर्ने केही सोच्नै सकिन। मन आतियो। त्यति बेला साथीहरूले ठूलो साथ र हौसला दिनुभयो। रिपोर्ट आएपछि कम्पनीको आइसोलेसनमा बसें।

कोरोनापछि आइसोलेसनमा बस्दा कम्पनीले राम्रो व्यवहार गरेकोले खासै समस्या भएन। तर पनि परदेशमा सुन्दर भविष्यको सपना देखेर आएको म रोगले गर्दा थलिएर बस्नुपर्दा मन धेरै रुन्थ्यो। अर्काको ठाउँमा छु, आँखा यसै भरिएर आउँथ्यो। कहिलेकाहीं अत्यधिक ज्वरो आउँदा मन निकै आतिन्थ्यो। तर के गर्नु रोगसँग लड्नु नै थियो।

मलाई एक हप्तासम्म लगातार ज्वरो आइरह्यो। सबै औषधी प्रयोग गरें। त्यस क्रममा घरेलु विभिन्न उपाय पनि अपनाएँ। औषधीको रुपमा चिराइतो खाएँ। चिराइतो मलाई इन्डियन साथीले ल्याएर दिनुभयो। त्यो खाएपछि ज्वरो कम भयो।

पहिले मैले यहाँ कोरोना संक्रमण भएका साथीहरूलाई सहयोग र हौसला दिने काम गरेको थिएँ। कोरोना संक्रमणबाट मुक्त भएको उनीहरूले नै अहिले मलाई सहयोग र हौसला दिने काम गरे। अप्ठेरो परेको बेला नै रहेछ साथ र सहयोगको आवश्यकता पर्ने पनि।

कोराना भएको कुरा घरमा परिवारलाई भनेको थिइनँ। घरमा आत्तिन्छन् भन्ने डर लाग्थ्यो। श्रीमतीले फोन गरिन्। मेरो स्वर अरू दिनभन्दा फरक भएको थाहा पाइन्। त्यसको आधारमा शंका गर्दै सोधिन् मैले आफूलाई रोक्नै सकिन् र भने। हामी दुवै दुःख सुखका कुरा गर्दै धेरै बेर रोयौं। उनले मलाई बुझिन्। उनि यत्ति धेरै बुझकी छिन् भन्ने मैले कहिले महसुस गरेको थिइनँ। त्यति बेला उनी मेरो सहायक डाक्टर बनिन्। घरमा बा आमालाई नभन्ने सर्तमा उनले मेरो दाजुभाइलाई भनिन्। दाइभाइले पनि निकै हौसला दिए।

मलाई मेरो परिवारका सदस्यहरूले सधैं फोन गरेर हौसला दिने काम गरिरहे। यहाँ पनि मैले साथीहरूको साथ र माया पाइरहेकै थिएँ। जसले गर्दा मेरो आत्मबल बढ्थ्यो। बिरानो ठाउँमा भए पनि बिरानो महसुस गरिन। यहाँ भएका साथीहरू र कम्पनीले आइसोलेसनमा रहँदा आवश्यक पर्ने हरेक सामानहरू तत्काल उपलब्ध गराइरहनु भयो। उहाँहरूप्रति म सधैं ऋणी नै हुनेछु।

जीवनमा माया र साथ पाएपछि जस्तोसुकै परिस्थितिसँग जुध्न सकिने रहेछ। नत्र परदेशको ठाउँमा परिवारसँग बिछोडिनुको पीडा एकातिर त छँदै छ। त्यो माथि झन् कमाउन आएको मान्छे। यसरी औषधी नै नभएको रोग लागेर कोठामा बस्दा के के कुरा खेले होला तपाईं नै कल्पना गर्नुहोस्। म त त्यो समय शब्दमा पनि व्यक्त गर्न सक्दिन।

मैले डाक्टरको सल्लाह अनुसारको औषधी पनि निरन्तर लिइराखेको थिएँ। औषधी, साथी र आफन्तहरूको हौसला र मायाले म कोरोना निको बनाउन सफल भएँ। अहिले मलाई त आत्मबल नै कोरोना विरुद्धको मुख्य ओखती रैछकि के हो भन्ने पनि लाग्छ।

कोरोना निको भएपछि अहिले काममा फर्केको छु। आफ्नो र परिवारको सुन्दर भविष्यको कामना गर्दै काममा नै व्यस्त छु। आशा गरौं कोरोना छिटै निर्मूल होस्।

मैले अहिले खबरहरूमा बेला बेला नेपालमा कोरोना लागेकालाई घृणा गरेको भनेर देखेको छु। अहिले घृणा हैन माया र हौसला बाँड्ने बेला हो। जसले संक्रमितको आत्मबल बढाउँछ। त्यसैले कोरोना लागेकालाई घृणा होइन माया गरौं। उनीहरूको आत्मबल बढाउन सहयोग गरौं।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।