ह्विलचेयर ठेलिदिने पनि कोही भएन

२०५९ साल कात्तिक २८ गते बिहान ७ बजे दोलखाबाट काठमाडौं जाँदै थिएँ। द्वन्द्वकालमा म चढेको सार्वजनिक बसमा माओवादीहरुले बम विष्फोट गराउँदा घाइते भई अपाङ्ग भएको हुँ। उक्त घटनापछि चरिकोटमा नै कम्प्युटर इन्ष्टिच्युट चलाएर आमासँग बस्थें। मेरी श्रीमती र १ जना छोरा भने काठमाडौंमा बस्छन् अर्को छोरो भने विदेशमा छ। उक्त घटनापछि मेरो शरीरको कम्मरमुनिको भाग चल्दैन। त्यसैले म ह्विलचेयरको सहयोगले हिँडडुल गर्छु।

हामी अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्य अवस्थामा त गाह्रो हुन्थ्यो। कोरोनापछि सरकारले गरेको लडाउनका बेलामा झनै गाह्रो भयो। यो कोरोनाले कसैसँग भेट्न नहुने। आफ्नै साथीहरूसँग पनि डराउनुपर्ने अवस्थाको सिर्जना गर्यो। हाम्रोमा धेरै संरचना अपाङ्गगता सुहाउँदा छैनन्। उनीहरुको पाटोबाट सोच्ने परिपाटी पनि छैन। त्यसैले पनि हामी अपाङ्गगता भएका व्यक्तिहरूलाई केही कुरामा अन्य मानिसहरूको सहयोग लिनुपर्ने हुन्छ। तर बेला यस्तो आइदियो कि मान्छेसँग मान्छे डराएर बस्नुपर्ने भयो। यो कोरोनाको र लकडाउनको चपेटामा अपाङ्गता भएकाहरु त झन् धेरै परे होलान् भन्ने लाग्छ।

अपाङ्गता भएको मानिसको जीवन यसै खर्चिलो र कष्टकर हुन्छ। औषधीका भरमा बाँच्नुपरेको हुन्छ। बेलाबेलामा अरूको सहायताको आवश्यकता हुन्छ। त्यही माथि म त झन् अपाङ्ग भएर पनि बूढी आमा पालेर बसेको मान्छे। मलाई झन् गार्हो थियो।

म चरिकोटमा साइबर चलाउँथें। त्यहाँ आउने विद्यार्थीहरु र मसँग हुनुभएको आमाको सहायतमा म यताउता गर्ने गर्थें। असारको अन्तिममा आमाको मृत्यु भयो। लकडाउनमा साइबर पनि बन्द गर्नपर्‍यो। त्यसैले कुनै दिन त पानी पनि खान पाइन। किनभने दिने मान्छे नै भएन।

कोठामा रहेको अन्न सकिएको अवस्था थियो। मैले खानको लागि मेयरसँग कराउँदा कराउँदा एक बोरा चामल र नुन तेल लगायतका सामग्री पाएँ। त्योभन्दा अघि मैले धेरै पटक प्रहरीको मेसबाट खाना मगाएर खाएँ। एक जना आफन्त हुनुहुन्थ्यो। उहाँले मेसबाट खाना ल्याइदिनुभयो।

दैनिक जीवनमा आवश्यक खानेकुराको त अभाव थियो नै। हामीले प्रयोग गर्ने युरिन ब्यागहरू समेत पनि पाएनौं। साथीहरूको पनि यस्तै गुनासो थियो। क्याथेटर, सीआईसी पाइपहरु मलाई लगातार चाहिने सामान हुन्। क्लिनिकमा किन्न जाँदा पनि छैन भनेर पठाए। सर्टेज छ, ल्याइदिन्छु भन्थे। निराश भएर फर्कनुबाहेक हामीसँग विकल्प पनि थिएन। त्यसपछि मैले मैले काठमाडौंबाट एम्बुलेन्समा भनसुन गरेर ती सामग्री झिकाएँ।

हामीलाई लगातार रुपमा चाहिने सामग्री सामान्य औषधी पसलमा पाइन्न। लकडाउनका बेला म यहींको प्राथमिक स्वास्थ्य केन्द्रमा पनि जाँदा कुनै सेवा सुविधा पाइन।

दाँत एकदमै दुखेर अस्पताल जानुपर्ने थियो। बाहिर हिँड्दा मास्क लाऊ भन्थे आफूसँग मास्क थिएन। बजारमा किन्न पनि पाएको थिइन। त्यसैले म गलफनले मुख छोपेर हस्पिटल गएँ। अस्पतालमा मानिसहरुले ह्विलचेयरमा जानेलाई बिरामी सोच्दा रहेछन् अनि सेवा त के रामोसँग कुरा समेत नगर्ने। पहिला त अस्पतालले राम्रो गरेर हेरेन। पछि ब्रुसेट दिएर पठाए।

अहिले हामी अपाङ्गता भएकालाई समाजको हेर्ने दृष्टिकोण झन् फरक छ। हामीलाई त सबैले बिरामी हो भन्ने सोच्छन्। यसलाई कोरोना छ कि भन्ने शंका गरिहाल्छन्। यो बेला कति मानिस त सहयोग माग्दा पनि सहयोग दिँदैनन्। मानिसले त यसमा कोरोना होला भन्ने डरले पनि सहयोग गर्न हिचकिचाउँछन्। मलाई नै अस्पताल जाँदा ह्विलचेयर ठेलिदिने पनि कोही भएन।

म अपाङ्गता भएका मानिसहरूका क्षेत्रमा काम गर्ने संस्थाहरूमा आबद्ध भएका कारण पनि मलाई धेरै साथीहरुले पाएको दुःखका बारेमा जानकारी छ। अपाङ्गता भएका धेरैले क्वारेन्टाइनमा बस्न पनि समस्या र विभेदका कुराहर सुनाउनुभएको थियो। त्यो सुन्दा नरमाइलो लाग्थ्यो। तर मैले गर्न सक्ने केही थिएन। त्यहाँकै मानिसहरूसँग सम्पर्क र समन्वय गर्न कुरा गरिदिने भन्दा बाहेक केही गर्न सकिएन। यसमा केही साथीहरुले त सहयोग पाउनुभयो। धेरैले त केही पाउनु भएन।

सरकार अपाङ्गमैत्री भइदिने हो भने यस्ता विपदका बेलामा पनि सहयोग लिन सकिन्थ्यो। अपाङ्गमैत्री भनेर भवन मात्रै बुझ्ने गरिएको छ। त्यो मात्रै हैन सरकारले दिने सेवा पनि अपाङ्गमैत्री हुनुपर्यो। अपाङ्ग एक्लै गएर सेवा लिन सक्ने अवस्था हुनुपर्यो।

यो कथाकृष्ण बहादुर घिसिङसंग गरिएको कुराकानीमा रहेर हाम्रो साथी अर्जुन दाहालले लेख्नुभएको हो ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।