कोठामा बस्दाबस्दै दीर्घरोग लिएर गाउँ फर्किनुपर्ने हो कि!

काठमाडौं आएको पाँच वर्ष भयो। घर चाहिँ रामेछाप, यहाँ गोठाटारमा बस्छु। काम भने कोटेश्वर महादेवस्थान मन्दिरमा फूलप्रसाद बेच्ने गर्छु। व्यापार थालेको करिब चार वर्ष भयो। गाउँमा कमाइ थिएन, श्रीमानसँगै काठमाडौं आएँ। यहाँ आएपछि सुरुमा त के गर्ने पत्तो पनि थिएन। पछि साथीहरूसँगै यता व्यवसाय थालेँ।

फूल व्यापार गर्दा लगानी धेरै लगाउन पर्दैन, काम पनि सजिलो। गाउँबाट आएका मानिससँग धेरै लगानी हुँदैन त्यही त हो सबैको। अर्को कुरा ठूलो व्यापार गर्न पढाइलेखाइ पनि हुनुपर्‍यो। हिसाबकिताब पनि बुझ्नुपर्‍यो। मसँग त्यो पनि थिएन । पढ्ने बेला मेलापात र गाईगोठ गर्नैमा व्यस्त भइयो।

गुजारा चलाउनकै लागि सरसापट गरेर फूल व्यापार सुरु गरियो। सुरुमा त व्यापार कसरी गर्ने, सामान कहाँबाट सस्तोमा ल्याउने अत्तोपत्तो थिएन। अरूको भरमा सुरु गरेको व्यापारलाई आफ्नै आधारमा सञ्चालन गर्न धेरै कठिन भयो। कति पटक फूल नबिकेर नोक्सानी खेप्नुपर्यो । घाटा हुन थालेपछि श्रीमान् पनि रिसाउने। बीचमा छोड्न मन पनि लागेको थियो।

तर, रातपछि दिन भनेझैं मैले पनि व्यापारका तौरतरिका सिक्दै गएँ। व्यापारी र ग्राहकसँग हार्दिकतापूर्ण सम्बन्ध गाँसिदै गयो। व्यापार राम्रो चल्न थाल्यो। आफू र परिवारलाई पाल्ने, बालबच्चा पढाउन श्रीमानको कमाइमा थपथाप गर्ने पैसा जम्मा हुन थाल्यो। त्यसपछि ममा पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो ।

०००००

विश्वमा नयाँ रोग फैलियो। चाइनाबाट सुरु भएको यो रोग विश्वभर फैलिँदै छ र धेरैको ज्यान पनि लिएको छ। यत्रतत्र सर्वत्र यस्तै कुरा। सबै त्रसित। त्यसले नेपालमा पनि प्रभाव थालेको रेडियो, टिभी र साथीभाइ तथा छरछिमेकमा सुनिन्थ्यो। यस्तो अवस्था यसअघि नभोगेकाले हामी के गर्ने, के नगर्ने द्विविधामा थियौं।

पसल त खोलेकै थियौँ, तर व्यापार घट्दै थियो। मन्दिरमा आउने मानिस कम हुँदै थिए। नयाँनयाँ शब्द सुनिदै थिए, (क्वारेन्टाइन, आइसोलेसन, सेनिटाइजर, लकडाउन) जानीनजानी बोल्न खोज्थ्यौँ। यताउता गफ नै यसैको, चाइनाले लकडाउन गर्‍यो, अरू देशले यस्तो गरे, बूढापाकालाई खतरा आदि इत्यादि। वनको बाघले भन्दा पनि मनको बाघले खाँदै थियो। बेलाबेलामा साबुनपानीले हात धुन, मास्क लगाउन गरेका आग्रह सुनिन्थे।

नभन्दै नेपालमा पनि यसले असर पार्ने भन्दै सरकारले लकडाउन लगाउने खबर सुनियो। व्यापार व्यवसाय पनि ठप्प। शहरदेखि सडकसम्म सबैतिर सुनसान। अहो यस्तो पनि हुन सक्छ र?

सुरुका दिनमा त रमाइलै पनि लागेको थियो । तर, लकडाउनको समय लामो हुँदै गएपछि भने तनाव सुरु भयो। कमाइ गरेको पैसा पनि खानपान कोठाभाडा आदि इत्यादिमा रित्तियो। कमाइ गर्ने अर्को स्रोत पनि थिएन। हामी जस्ता फूल बेच्नेले बचत गरेकोले कति दिन चल्छ र ?

अर्को कुरा कामै नगरी कोठामा बस्दा झनै अझै तनाव। बाहिर निस्कौँ कोरोनाको डर, भित्र बसौँ मन भकभकी पाक्छ, छटपटी भइरहन्छ। कहाँ जाउँ र कसो गरौँ भन्ने भइरहने। टिभी हेर्दाहेर्दै टाउको दुख्ने, मोबाइल कति चलाउने। सुत्दा पनि शरीर दुखेर हैरान। त्रास र दबाबका बीच घरमै बस्दा झनै टेनसन हुने रहेछ। वर्षैंसम्म जेलमा मानिसहरू कसरी बस्दा हुन्?

लकडाउनअघि मेरो परिवारका एक जना सदस्यको मिर्गौला खराब भएर चेक गराउन गाउँबाट आउनुभएको थियो। उहाँहरू पनि लकडाउनले गर्दा यतै अड्किनुभयो । मिर्गौलाको बिरामी यस्तो बेला अस्पताल गयो झनै खतरा हुने गाउँ गयो अर्को समस्या। उता, उपचार गर्न नसकेर यता ल्याएको उपचारै नगरी लैजाने कुरा पनि भएन। चार महिना त यतै अड्किनुभयो। अहिले दुःखसुख कोठामा बसिरहेका छौँ।

अब त अति भयो भन्ने लाग्यो र मैले पनि फूल व्यापार गर्न थालेँ। अलिअलि लकडाउन खुकुलो भएकाले फेरि व्यापार सुरु गरेको थिएँ। घरबेटीले नजाऊ खतरा छ भन्दा पनि नटेर आएँ व्यापार गर्न । कति बस्नु त्यसै कोठामा, हामी जस्ता मान्छेलाई दुःख नगरी खान पुग्दैन क्यारे।

तर, मन्दिर खुले पो फूलको व्यापार हुनु ! बिहान मर्निङ वाक हिड्नेले किनेको फूलले के हुन्थ्यो। फेरि अर्को लकडाउन भइगो।  त्यसपछि त झन् ब्यापार चौपट भयो।

फूलको व्यापार गरेबापत भाडा महिनाको १५ सय तिर्नुपर्छ। अरूको १ हजार रुपैयाँ मात्रै हो तर मेरो र अर्को एक जना बहिनीको भने १५ सय रुपैयाँ लिने गरेका छन्। हामी अलि पछि आएर त्यस्तो भएको होला। अरू सबै जना पहिलेदेखि नै यहाँ व्यापार गर्दै आउनुभएको थियो। अब लकडाउन अवधिको भाडा लिने/नलिने मन्दिर व्यवस्थापकले के गर्छ थाहा छैन। फूल राख्नका लागि छुटै कोठा लिएकी छु त्यसको भने महिनाको चार हजार दिनुपर्छ। घरबेटीले छोड्दैन। साह्रै कञ्जुस छन्।

लकडाउनपछि त्यति राम्रो व्यापार व्यवसाय चलेन। सायद सबै जना महामारीको डरले पनि बाहिर निस्किनु भएन होला। मेरो मात्रै होइन सबैको उस्तै छ। फेरि, सकारले काठमाडौंमा कोरोना बढेको भन्दै कडाइ गरेपछि घरमै थन्किनुपरेको छ। अब तीनतिरको भाडा कसरी तिर्ने खानापिना कसरी जोहो गर्ने चिन्ता लागेको छ। कोठामा बस्दाबस्दै झनै अरू नै रोग लिएर गाउँ फर्किनुपर्ने हो कि डर लागेको छ।

पेट पाल्ने अरू विकल्प सोच्नुपर्छ कि जस्तै लागेको छ। मेरो छिमेकी एक जना भाइले टिसर्टहरूको व्यापार गर्छन्। ६ सयकै दुईजोड बेच्दा पनि राम्रो आम्दानी हुन्छ भन्नुभएको छ। बाहिर किन्दा त्यही टिसर्टलाई चार/पाँच सय रुपैयाँ पर्छ। तर, उनले ६ सयमै दुई जोड बेचेर पनि आम्दानी गरिरहेका रहेछन्। कहाँबाट सामान ल्याएर त्यति सस्तो बेच्दा रहेछन् सोधखोज गर्ने विचार गर्दैछु। त्यसो गर्दा राम्रो हुन्छ कि भन्ने पनि लाग्छ। अब यही स्थिति भइरह्यो भने विकल्प सोच्नुपर्ने हुन्छ।

Leave a reply:

Your email address will not be published.

Site Footer

Sliding Sidebar

“तन्नेरी चासो” युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मञ्च हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरूको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरूमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।